२०२७ को विश्व संरक्षित क्षेत्र सम्मेलन पानामामा हुने

२६ असोज २०८२ (१ हप्ता अघि)

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सन् २०२७ मा हुने सातौँ विश्व संरक्षित तथा संरक्षण क्षेत्र सम्मेलन पानामामा आयोजना हुने घोषणा गरेको छ । संयुक्त अरब एमिरेट्सको आबुधावीमा जारी आईयूसीएनको सम्मेलनले उक्त घोषणा गरेको हो । 

विश्व संरक्षणको दिशा तय गर्ने यो सम्मेलनले पानामालाई जैविक विविधता र वातावरण संरक्षणमा विश्वस्तरको नेतृत्व देखाउने अवसर दिलाउनेछ । आईयूसीएनका अनुसार सम्मेलन सन् २०२७ को सेप्टेम्बरमा हुनेछ र यो पहिलो पटक मेसोअमेरिका क्षेत्रमा आयोजना हुन लागेको हो । अघिल्लो सम्मेलन सन् २०१४ मा अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको थियो ।

पानामा वातावरण तथा जलवायु परिवर्तन मन्त्री जुआन कार्लोस नाभारोले सम्मेलनले आफ्नो देशका राष्ट्रिय पार्क र संरक्षण प्रयासहरू विश्वसामु प्रस्तुत गर्ने अवसर दिलाउने बताए । आईयूसीएनका महानिर्देशक डा. ग्रेथेल अग्विलारले पानामालाई विश्वकै जैविक विविधतायुक्त देशमध्ये एक बताउँदै सम्मेलनले जलवायु, जैविक विविधता र मानव कल्याणका लागि ठोस कदम चाल्ने अपेक्षा व्यक्त गरिन् ।

सन् २०२७ को सम्मेलनले विश्व परिवर्तन र जैविक विविधता, संरक्षणको प्रभावकारिता विस्तार, र समुदाय र संरक्षणबीचको सम्बन्ध जस्ता विषयमा छलफल केन्द्रित गर्नेछ । आईयूसीएनका अनुसार यसले विश्वका राष्ट्रहरूलाई जैविक विविधता रणनीति कार्यान्वयन र स्थानीय समुदायको भूमिकालाई सुदृढ बनाउन उत्प्रेरित गर्नेछ ।

 

English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस