काठमाडौं । जलवायु परिवर्तन, आक्रामक विदेशी प्रजाति र नयाँ रोगजन्य जोखिमका कारण विश्वका प्राकृतिक सम्पदाहरू गम्भीर संकटमा परेका छन् । संयुक्त अरब एमिरेट्सको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) को सम्मेलनले हालै सार्वजनिक गरेको प्रतिवेदनले विश्वका करिब ४३ प्रतिशत प्राकृतिक विश्व सम्पदा स्थलहरू अहिले उच्च वा अत्याधिक जोखिममा रहेको जनाएको छ ।
प्रतिवेदनअनुसार जलवायु परिवर्तन अहिले पनि सबैभन्दा ठूलो खतरा बनेको छ । तापक्रम वृद्धिका कारण हिमनदीहरू पग्लनु, वनमा आगलागीको जोखिम बढ्नु र जैविक विविधता घट्नु जस्ता प्रभावहरू विश्वव्यापी रूपमा तीव्र भइरहेका छन् । त्यसपछि दोस्रो ठूलो खतरा भनेको मिचाहा प्रजाति हुन्, जसले करिब ३० प्रतिशत प्राकृतिक सम्पदामा प्रत्यक्ष असर पुर्याइरहेका छन् । यी प्रजातिहरूले स्थानीय वनस्पति र जनावरहरूको आवास प्रणालीमा अवरोध पुर्याउने, जैविक विविधता नष्ट गर्ने र पारिस्थितिक सन्तुलन बिगार्ने काम गरिरहेका छन् ।
त्यसैगरी, वनस्पति र जनावरमा फैलिने रोगहरूको जोखिम पनि तीव्र गतिमा बढ्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०२० मा केवल दुई प्रतिशत विश्व सम्पदा स्थलहरूमा यस्तो रोगको उच्च खतरा देखिएको थियो भने अहिले त्यो दर ९ प्रतिशतमा पुगेको छ ।
आईयूसीएनको प्रतिवेदनले विश्व सम्पदाको संरक्षण र व्यवस्थापनमा समेत चुनौतीहरू रहेको बताएको छ । हाल ५० प्रतिशत स्थलहरूमा मात्र प्रभावकारी संरक्षण प्रणाली कार्यान्वयनमा रहेको उल्लेख गरिएको छ, जबकि बाँकी स्थलहरूमा वित्तीय अभाव, मानव अतिक्रमण र संस्थागत कमजोरीका कारण जोखिम बढेको देखिन्छ । करिब १५ प्रतिशत स्थलहरू वित्तीय सहयोगको गम्भीर अभावमा रहेका छन् ।
तर प्रतिवेदनले केही सकारात्मक संकेतहरू पनि देखाएको छ । सन् २०२० देखि २०२५ बीच १३ वटा विश्व सम्पदा स्थलहरूमा संरक्षण सुधार भएको बताइएको छ । विशेष गरी पश्चिम र मध्य अफ्रिकाका क्षेत्रमा स्थानीय समुदायको सहभागिता, सहकार्य र वैज्ञानिक व्यवस्थापनका कारण संरक्षणमा सुधार आएको छ ।
आईयूसीएनले आगामी वर्षहरूका लागि विश्व सम्पदा रणनीति २०२६–२०२९ तयार पार्दैछ, जसको उद्देश्य वित्तीय खाडल कम गर्ने, संरक्षण साझेदारी सुदृढ गर्ने र नवीन रणनीतिहरूमार्फत प्राकृतिक सम्पदाको दिगो व्यवस्थापन सुनिश्चित गर्नु रहेको छ । प्रतिवेदनले सरकार, पृथ्वीका साझा सम्पदाहरूलाई भावी पुस्ताका लागि सुरक्षित राख्न सकियोस भन्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय संस्था र दातृ निकायहरूबीच सहकार्य र लगानी बढाउन आग्रह पनि गरेको छ ।
आईयूसीएनको सम्मेलन संयुक्त अरब एमिरेट्सको अबुधाबीमा अक्टोबर ९ देखि सुरु भएर अक्टोबर १५ तारिखमा सम्पन्न हुँदैछ । सम्मेलनले जलवायु परिवर्तनका अन्य विषयमा पनि महत्वपूर्ण निर्णयहरु गर्ने अपेक्षा गरिएको छ ।
सातदोबाटो, ललितपुर, बागमती प्रदेश