विनाशको चक्र : विपद्बाट कहिले चेत्ने ?

सम्पादकीय
२४ असोज २०८२ (२ हप्ता अघि)

असोज १७ र १८ गतेको अविरल वर्षाले फेरि एकपटक नेपालको विनाशकारी वास्तविकता उजागर गरेको छ  । लगातारको वर्षा र पहिरोले इलाममा मात्रै ३९ जनाको दुःखद मृत्यु र १ जना बेपत्ता भएको पुष्टि भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार प्रारम्भिक विवरणमा बाढी र पहिरोका कारण करिब एक हजार पाँच सय मिटर तटबन्ध बगाएको र १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ । दुई दिनको भारी वर्षाले देशभरका सडक र राजमार्गमा मात्रै करिब साढे चार अर्ब रुपैयाँको क्षति गरायो । जसको स्थायी मर्मत गर्न २० देखि २५ अर्ब रुपैयाँसम्म लागत लाग्ने अनुमान छ  ।

यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले मनसुन शुरु हुनुपूर्व नै जानकारी गराएको थियो । उसले यसबाट करिब २० लाख मानिस प्रभावित हुने आकलन गरेको थियो । यो मनसुनी विपद् केवल प्रकृतिको देन नभई मानवजन्य गतिविधिको उपज हो । अवैज्ञानिक ग्रामीण सडक निर्माण, पानीको प्राकृतिक निकासका नालाहरू अतिक्रमण गर्ने प्रवृत्ति, र पहाडमा डोजर लगाएर जथाभावी सडक खन्ने चलनका कारण हरेक वर्ष ठूलो क्षति भइरहेको छ । पहाडमा अव्यवस्थित सडक निर्माणले गाउँका गाउँ बगाउने अवस्था सिर्जना गरेको छ ।

क्षति न्यूनीकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२ बनाएपनि त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धी निकायहरुले चासो देखाएको देखिदैन । दीर्घकालीन समाधानका लागि नीतिगत र व्यवहारिक दुवै पक्षमा सुधार आवश्यक छ । रणनीतिक राजमार्गबाहेक पहाडमा सडक निर्माणमा प्रतिबन्ध लगाई सडक मार्गलाई रोपवे र केवलकारले विस्थापन गर्ने जस्ता उपायहरूमा ध्यान दिनु जरुरी छ । यसका साथै, विज्ञहरूको चेतावनीलाई गम्भीरताका साथ लिनु र अत्यावश्यक बाहेक अनावश्यक यात्रा नगर्नु सुरक्षित नागरिक हुनुको पहिचान हो  । दुर्भाग्यवश, धेरै नागरिकहरूले आफूलाई केही हुँदैन भन्ने अति आत्मविश्वासले जोखिमलाई बेवास्ता गरिरहेका छन् ।

हामीले बुझ्नुपर्छ, दुर्घटना आफैँले भोगेर सिक्ने विषय कदापि होइन । राज्यले आफ्नो जिम्मेवारी पूरा गर्दागर्दै नागरिकले पनि चेतना, संयमता र नियमको पालना गर्नुपर्दछ । सरकारले जोखिमयुक्त स्थानहरुको पहिचान गरेर स्थानान्तारण गर्ने योजना बनाउनु आवश्यक छ । अवको केही समयमा आगलागी र वायु प्रदुषणको समस्या बढ्ने हुँदा त्यसतर्फ पनि सरकारको ध्यान जानु आवश्यक छ । 

 

English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस