दसैँ विशेष मौसम बुलेटिन : असोज १७ देखि लगातार तीन दिन अति भारी वर्षा हुने

१४ असोज २०८२ (३ हप्ता अघि)

काठमाडौं । दसैँको माहोलसँगै मौसममा फेरि मनसुनी प्रभाव बलियो बन्ने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागले असोज १७ गते (एकादशी)देखि देशका धेरैजसो भूभागमा वर्षा सुरु हुने प्रक्षेपण गरेको छ। मंगलबार राति ८ बजे सार्वजनिक गरिएको ‘दसैँ विशेष मौसम बुलेटिन’ मा विभागले कोसीदेखि लुम्बिनीसम्मका प्रदेशहरूमा भारीदेखि अति भारी वर्षा हुने चेतावनीसमेत दिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीमा बनेको न्यून चापीय प्रणाली भारतको ओरिसाबाट मध्य भारततर्फ सरिरहेको छ। यही प्रणालीका कारण जलवाष्पयुक्त मनसुनी वायु नेपालतर्फ प्रवेश गर्ने भएकाले असोज १७ गतेदेखि मनसुनी गतिविधि फेरि सक्रिय हुने अपेक्षा गरिएको हो।

असोज १७ गते (अक्टोबर ३) मा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने विभागले जनाएको छ।

असोज १८ गते (अक्टोबर ४) मा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा हुनेछ। यीमध्ये केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

असोज १९ गते (अक्टोबर ५) मा वर्षाको प्रभाव अझ प्रबल हुनेछ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षा हुने अनुमान गरिएको छ। बाँकी प्रदेशहरूमा समेत हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

विभागले दसैँ अवधिभरै मनसुनी क्रियाकलाप रहने भएकाले भूक्षय, बाढी र पहिरोको जोखिम बढ्ने चेतावनी दिएको छ। साथै, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा गर्ने वा अन्य योजना बनाउनेहरूले मौसमसम्बन्धी अध्यावधिक जानकारी लिएर सतर्कता अपनाउन आग्रह गरिएको छ।

अन्तिम अध्यावधिक: १४ असोज २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस