काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँलाई लक्षित गर्दै शनिबार विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन वायु कमजोर अवस्थामा रहे पनि अझै नेपालबाट पूर्ण रूपमा बहिर्गमन भइसकेको छैन।
सामान्यतया नेपालमा अक्टोबर २ तारिखतिर मनसुनको अन्त्य हुने गरे पनि प्रत्येक वर्ष बहिर्गमनको मिति फरक पर्न सक्ने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । उनका अनुसार यस वर्षको दसैँ अवधिभर पनि मनसुनी वायुको प्रभाव कायम रहने अनुमान गरिएको छ।
विशेष बुलेटिनका अनुसार असोज १४ (अष्टमी) का दिन बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका पहाड र तराईका केही भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, असोज १५ (नवमी) मा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा यस्तै प्रकृतिको वर्षा हुने अनुमान गरिएको छ।
यसैगरी, असोज १६ (विजयादशमी) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रसँगै कोशी प्रदेशका पहाड र तराई, साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
सूचना अधिकारी कायस्थले यस दसैँ अवधिभर पनि मनसुनको प्रभाव रहने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना लिन र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे । साथै विभागले सार्वजनिक गर्ने सूचना र बुलेटिनलाई नियमित रूपमा अवलोकन गरी आवश्यक तयारी गर्न उनले अनुरोध गरे ।
सातदोबाटो, ललितपुर, बागमती प्रदेश