अध्ययन: जलवायु सङ्कटले बढाउँदै चट्याङजन्य वनडढेलोको जोखिम

मानवीय गतिविधिले लाग्ने डढेलोभन्दा चट्याङका कारण लाग्ने डढेलो बढी ठूलो र नियन्त्रण गर्न गाह्रो
२१ भदौ २०८२ (१ दिन अघि)

काठमाडौँ । जलवायु सङ्कटका कारण चट्याङले प्रज्वलित हुने वनडढेलोहरू अझै बढ्ने सम्भावनाको वृद्घि भएको एक अध्ययनले बताएको छ । यसले सार्वजनिक स्वास्थ्य र सुरक्षामासमेत गम्भीर असर पार्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

विज्ञहरूको भनाइ अनुसार, मानवीय कारणले लाग्ने डढेलोभन्दा चट्याङले लाग्ने डढेलोहरू प्रायः दुर्गम क्षेत्रमा हुन्छन् । त्यसैले ती डढेलोहरू धेरै फैलिन्छन् र धुवाँ बढी हुन्छ, जसले हावाको गुणस्तर झन् बिगार्छ । पछिल्ला वर्षहरूमा अमेरिकाभर वायुगुणस्तरमा देखिएको गिरावट यसको उदाहरण हो ।

पछिल्ला ४० वर्षमा अमेरिकाको पश्चिमी भाग वाशिङ्टन, ओरेगन, क्यालिफोर्नियाको सेन्ट्रल भ्यालीदेखि रकी पर्वतसम्म चट्याङ पर्ने हावापानी बढी देखिएको छ । यो प्रवृत्ति युरोप र क्यानडामा पनि देखिएको छ । स्पेनमा यस वर्षका धेरै डढेलोहरू बिजुलीका कारण लागेका थिए भने क्यानडामा सामान्यभन्दा २ प्रतिशत बढी वन क्षेत्र जलिसकेको छ, जसको धेरैजसो कारण चट्याङ नै हो ।

यस अघिका जलवायु मोडलहरूले चट्याङ र डढेलोबीचको सम्बन्धलाई पर्याप्त प्रस्ट्याउन सकेका थिएनन् । तर, क्यालिफोर्निया विश्वविद्यालय–मर्सेडका डिमिट्री कलाश्निकोभ नेतृत्वको टोलीले मशीन लर्निङ प्रयोग गरेर भविष्यमा चट्याङ र जलवायुबीचको सम्बन्ध विस्तृत रुपमा अध्ययन गरेको छ । कलाश्निकोभ भन्छन्, “समग्र संकेत के छ भने, भविष्यमा चट्याङका कारण लाग्ने डढेलो अझ बढ्नेछन् ।”

यसैबेला अमेरिकामा यस वर्षको डढेलोको मौसम तीव्र भइरहेको छ । क्यालिफोर्नियामा केही दिनअघि परेका हजारौं चट्याङका कारण हजारौं एकड जमिन जलिसकेका छन् जसमा कम्तीमा २० नयाँ डढेलो लागेका छन् ।

अध्ययन अनुसार, केही ठाउँ जस्तै प्यासिफिक नर्थ–वेस्टमा जोखिम कम हुनेछ भने मरुभूमि क्षेत्रहरू जस्तै दक्षिण–पश्चिममा चट्याङहरू खासै नबढे पनि खडेरीका कारण डढेलोको जोखिम बढ्नेछ । समग्रमा, पश्चिमी अमेरिकाको ९८% क्षेत्रमा भविष्यमा हजारौं चट्याङजन्य डढेलो बढ्ने देखिएको छ ।

यसले स्वास्थ्य क्षेत्रमा ठुलो असर पार्ने पनि अनुसन्धानकर्ताको भनाइ छ । हालैका १५ वर्षमा मात्र अमेरिकामा हरेक वर्ष डढेलोको धुवाँका कारण करिब १ हजार मानिसको मृत्यु भएको छ । अध्ययन अनुसर यदि बिजुलीका कारण डढेलो अझ बढे, सन् २०५० सम्म धुवाँकै कारण वर्षेनी २० हजार भन्दा बढी मानिसको मृत्यु हुन सक्नेछ ।

साथै, विशेषगरी हालसालै डढेलो लागेका क्षेत्रमा आकस्मिक बाढी र पहिरोको जोखिम पनि बढाउनेछ । धुवाँ र धुलोले क्यानडा, ग्रिनल्यान्ड र युरोपका हिमनदीहरू अझ छिटो पगाल्ने खतरा हुन्छ ।

डढेलो नियन्त्रणका स्रोतहरू पहिले नै कमजोर अवस्थामा छन् । अमेरिकामा संघीय निकायहरूमा जनशक्ति कटौती हुँदा वन विभागमा चौथाइभन्दा बढी पद खाली छन् । यसले आपतकालीन विपद् जोखिम न्यूनीकरण प्रकृयामा थप चुनौती ल्याएको छ ।

विशेषज्ञ म्याक्स मोरिट्जका अनुसार, यस किसिमका विपद्को समाधानका लागि बसोबास क्षेत्र निर्माणको शैली परिवर्तन गर्नुपर्ने हुन्छ । आगलागी सम्भावना भएका क्षेत्रमा कृषिजन्य बफर क्षेत्र बनाउँदा शहर र गाउँलाई आगोबाट बचाउन सकिन्छ ।

मोरिट्ज भन्छन्, “जसरी हरियो बोटबिरुवामा रहेको पानीको मात्रा आगलागी नियन्त्रणमा महत्त्वपूर्ण हुन्छ, त्यस्तै कृषिजन्य बफरले पनि डढेलो भित्रिन नदिने काम गर्छ ।”

 

विस्तृत अध्ययन पढ्न : https://doi.org/10.1029/2025EF006108

 

अन्तिम अध्यावधिक: २१ भदौ २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस