इलाममा भेटियो दुर्लभ प्रजातिको कालो चितुवा

नेपालमै काभ्रेमा मात्रै यो चितुवा फेला परेको थियो, त्यसपछि यहीं हो
१८ भदौ २०८२ (५ दिन अघि)

इलाम । इलाममा कालो चितुवा फेला परेको छ । जानकारका अनुसार यो दुर्लभ प्रजातिको हो । तर, यकिन भइसकेको छैन ।  

सूर्योदय नगरपालिका–२, बागबिरेका टंक काफ्लेको बाख्राको गोठभित्र कालो चितुवा फेला परेको हो । राति नै आएर खोरमा रहेका बाख्राका दुई माउ र एउटा पाठी खाएपछि गोठमै बसेको चितुवा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।  

डिभिजन वन कार्यालयका अनुसार बिहान फेला परेको चितुवाको उद्धारका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञको टोली आउँदैछ । डिभिजन प्रमुख वीरेन्द्र साहले बाहिरबाट हेर्दा दुर्लभ प्रजातिको कालो चितुवा देखिएको बताए ।  

‘अहिले नै यकिन गरेर भन्न सकिन्न तर यो दुर्लभ चितुवा हो,’ उनले भने, ‘नेपालमै काभ्रेमा मात्रै यो चितुवा फेला परेको थियो । त्यसपछि यहीं हो ।’

तर, पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ । ‘चितुवा देखिएपछि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागमा खबर गरेका थियौं,’ उनले भने, ‘अहिले कोशीटप्पुको टोली आउँदैछ, अध्ययनपछिमात्र सबैथोक भन्न सकिन्छ ।’

इलामका सूर्योदय, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा वन्यजन्तुले लामो समयदेखि घरपालुवा जनावर खाइरहेपछि स्थानीय पीडित छन् ।

English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस