हिन्दुकुश हिमालय क्षेत्र विश्वव्यापी अनुसन्धनको केन्द्र

१७ भदौ २०८२ (६ दिन अघि)

काठमाडौं । हिन्दुकुश–हिमालय क्षेत्रीय रूपमा अत्यन्तै समृद्ध तर जोखिमपूर्ण जैविक विविधताका कारण ग्लोबल माउन्टेन बायोडायभर्सिटी एसेस्मेन्ट (जीएमबीए) को विश्वव्यापी अनुसन्धान सञ्जाल अन्तर्गत तेस्रो क्षेत्रीय केन्द्र बनेको छ ।

जीएमबीइ हिन्दुकुश–हिमालय हब, जसलाई अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले व्यवस्थापन गर्नेछ, यस क्षेत्रमा जैविक विविधताको स्थिति, प्रवृत्ति र ज्ञान–खालीपनबारे मूल्याङ्कन गर्ने, तथा पर्वतीय पारिस्थितिक तन्त्रका लागि महत्वपूर्ण यो घडीमा क्षेत्रीय अनुसन्धान क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले अघि बढ्नेछ । यसले परिवर्तनका कारकहरूको अध्ययन गर्नेछ र मानिसलाई प्रकृतिले दिने योगदानको प्रवाहलाई पनि मूल्याङ्कन गर्नेछ ।

इसीमोडका उपमहानिर्देशक इजाबेला कोजिएलले केन्द्र उद्घाटन समारोहमा इसीमोडका लागि यो प्रतिष्ठित जीएमबीए सञ्जालमा नवीनतम क्षेत्रीय हब बन्नु ठूलो सम्मान र जिम्मेवारी भएको बताइन् । उनले भनिन, ‘हाम्रो क्षेत्रमा र विश्वभरका पर्वतीय पारिस्थितिक तन्त्रहरू पतनको द्वारमा पुगेका छन् । त्यसैले यो प्लेटफर्मले ल्याउने दृश्यता र अतिरिक्त क्षमता अहिलेभन्दा महत्वपूर्ण र समयानुकूल कहिल्यै हुन सक्दैन ।’

यस सम्झौताबारे बोल्दै जीएमबीएका सह–अध्यक्ष मार्कस फिस्चरले भने, ‘हिन्दुकुश हिमालय क्षेत्रमा दिगो विकासका लागि ज्ञान प्रयोग गर्ने इसीमोडको उत्कृष्ट विशेषज्ञता, जीएमबीएको विश्वव्यापी पर्वतीय जैविक विविधता अनुसन्धान क्षमतासँग पूर्ण रूपमा मेल खान्छ। हामी यो सहकार्यका लागि निकै उत्साहित छौं, जसको लाभ जैविक विविधता र मानिस दुवैलाई पुग्नेछ ।’
यस सम्झौता अन्तर्गत इसिमोडले सन् २०२५ मा हिन्दुकुश हिमालय जैविक विविधता मूल्याङ्कन सुरु गर्नेछ र यसको कार्यान्वयन तथा क्षेत्रीय समन्वयको नेतृत्व गर्नेछ। यस मूल्याङ्कनले व्यवस्थित ज्ञान–नक्शांकन, सार्वजनिक रूपमा उपलब्ध डाटासेटहरूको विश्लेषण, र विज्ञ परामर्शमार्फत यस क्षेत्रमा पर्वतीय जैविक विविधताबारे बुझाइलाई गहिर्याउनेछ ।

यस सम्झौता इसीमोडको जैविक विविधतामाथिको निरन्तर ध्यानको नवीनतम उदाहरण हो। यसै वर्ष संस्थाले संरक्षण विशेषज्ञ सरला खालिङलाई ‘रेजिलेन्ट ल्याण्डस्केप एन्ड इकोनोमिज’ समूहको नेतृत्वमा नियुक्त गरेको छ, सुनिता चौधरीलाई जैविक विविधता नेतृत्व भूमिकामा पदोन्नति दिएको छ, र २०२४ फेब्रुअरीमा एसियामा पहिलो पटक अइपीबीइएस प्रमुख लेखक कार्यशाला आयोजना गरेको छ ।

जीएमबीए वैज्ञानिकहरू र सरोकारवालाहरूलाई पर्वतीय पारिस्थितिक तन्त्र र प्रजातिहरूबारे ज्ञान सटासट गर्न र जोडिन सहयोग गर्ने प्लेटफर्म हो । सन् २००० मा स्वीस विज्ञान एकेडेमीले सुरु गरेको जीएमबीए, २०१६ देखि ‘फ्यूचर अर्थ’ अन्तर्गत विश्वव्यापी अनुसन्धान सञ्जालका रूपमा विकसित भएको हो । यसलाई अन्तर्राष्ट्रिय वैज्ञानिक स्टीयरिङ समिति मार्फत सञ्चालन गरिन्छ र स्वीस प्राकृतिक विज्ञान एकेडेमी लगायत विभिन्न निकायहरूको सहयोग प्राप्त हुन्छ ।

English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस