घुससहित पक्राउ परेका वरिष्ठ वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२ भदौ २०८२ (२ महिना अघि)

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धानले आयोगले एकजना वरिष्ठ वन अधिकृतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार डिभिजन वन कार्यालय कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध ७ लाख ३१ हजार विगो कायम गरी विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले वन अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए। उनका अनुसार वन अधिकृत यादवले कैलाली चुरे गाउँपालिका वडा नम्बर-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा वन अधिकृत यादवले सेवाग्राहीसँग ७ लाख ३१ हजार घुस लिएको पुष्टि भएपछि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

केही समयअघि यादवलाई सेवाग्राहीबाट ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीमाथि ७ लाख ३१ हजार विगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र सजायको माग गरिएको आरोप -पत्रमा उल्लेख छ।

English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस