काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नीति बनाउने सांसदहरुको ज्ञान आदानप्रदान गर्न ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ को आयोजना गरिएको बताएकी छन् । बैठक भदौ २ र ३ गते हुने भएकाे छ ।
शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले समितिले आयोजना गर्न लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ ले जलवायु परिवर्तनले ल्याएको समस्यालाई नीतिगतरुपमा हल गर्न हिमालय क्षेत्रअन्तर्गत पर्ने मुलुकहरूका सांसदहरूबीच छलफल गर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘अहिले संसारभर जलवायु परिवर्तनको समस्या टड्काराे रूपमा छ । हामी जलवायु परिवर्तनका कारण ठुलो क्षति भोगिरहेका छौ । यो क्षति भोग्दै गर्दा कानुनी र नीतिगत रुपमा पनि कही न कही चुक्यौ कि भन्ने लाग्छ । त्यसैले नीति बनाउने सांसदहरुको ज्ञान आदानप्रदान गर्नको लागि सम्मेलन गर्न लागेका हौ ।’
सभापति थापाले हिमाल जोगाउन मात्र नभई हिउँ पग्लिदै गर्दा समुन्द्री तटीय देश नडुबुन भन्नका लागि नीतिगत रुपमा गर्न सकिने विषयमा छलफल गर्ने बताइन् ।
शनिबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको प्रारम्भिक प्रतिवेदनलाई अध्ययन गर्न समय नपुगेको भन्ने सांसदहरुको माग भएपछि समितिको बैठक स्थगित गरिएको पनि उनले जानकारी दिइन् ।
सातदोबाटो, ललितपुर, बागमती प्रदेश