तापक्रमका रेकर्ड तोड्दै युरोप : जलवायु संकटको चेतावनी घण्टी

हालका वर्षहरूमा युरोप अन्य कुनै पनि महाद्वीपभन्दा छिटो तातिरहेको छ।
२८ साउन २०८२ (४ हप्ता अघि)

केही समयदेखि नर्वे बस्दैगर्दा, मैले प्रायः हल्का र सुखद गर्मीको अनुभव गरेको छु। तर सन् २०२४ को गर्मी स्पष्ट रूपमा फरक लाग्यो। गर्मी यति तीव्र थियो कि मेरी श्रीमतीले पंखा किन्ने जिद्दी गरिन्। प्रायः चिसो रहने यो उत्तर युरोपेली देशमा पंखा आवश्यक पर्‍ला भनेर मैले सोचेको थिइनँ । तर यो असामान्य गर्मी एक धेरै ठूलो ढाँचाको हिस्सा थियो। युरोपभरि, २०२४ लाई आधिकारिक रूपमा अहिलेसम्मको सबैभन्दा तातो वर्षका रूपमा दर्ता गरिएको छ। नर्वे पनि अपवाद थिएन। यस देशको दक्षिणी भागमा प्रारम्भिक गर्मीको तापक्रम औसतभन्दा ४°C सम्म बढी थियो, जबकि दक्षिण नर्वेको पश्चिमी र उत्तरी भागमा यो असमान्यता ७°C सम्म पुगेको थियो। नर्वे र छिमेकी स्विडेनमा, चरम गर्मीका प्रभावहरू प्रकृतिमा स्पष्ट देखिन्थे। पछिल्ला दशकहरूमा क्रमशः सुक्दै गएका हिमनदहरू २०२४ को गर्मीमा अभूतपूर्व दरमा पग्लिए, जसले वैज्ञानिक र स्थानीय समुदायहरूलाई चिन्तित बनायो।

यो लेख्दै गर्दा (जुलाई २०२५) मध्य नर्वे को शहर ट्रोनहाइम (Trondheim) मा तापक्रम ३०°C भन्दा माथि पुगेको छ, जुन देशको यो भागका लागि निकै दुर्लभ हो। यो गर्मी जुलाईको मध्यतिर करिब एक हप्ता भन्दा बढी समयसम्म रह्यो। यस वर्ष, हामी अन्ततः घरमा कुलिङ फ्यान प्रयोग गर्न बाध्य भयौँ, गत गर्मीमा वास्तवमै आवश्यक छ कि छैन भन्नेमा म निश्चित थिइनँ।

चित्र: सन् २०२५ को जुलाई महिनाको औसत दैनिक तापक्रम (स्रोत: EU C3S)

चित्र: सन् २०२५ को जुलाई महिनाको औसत दैनिक तापक्रम (स्रोत: EU C3S)

युरोपमा बढ्दो गर्मी

हालका वर्षहरूमा युरोप अन्य कुनै पनि महाद्वीपभन्दा छिटो तातिरहेको छ। कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (C3S) का अनुसार, युरोपमा तापक्रम दशकमा करिब ०.५३°C को दरले बढिरहेको छ, जुन विश्व औसत ०.२६°C भन्दा दोब्बर बढी हो। आर्कटिक क्षेत्र अझै छिटो तातिरहेको छ, दशकमा करिब ०.६९°C को दरले। यदि यो प्रवृत्ति यस्तै रह्यो भने, विश्वको तापक्रम सन् २०३० सम्ममै महत्वपूर्ण १.५°C को सीमा पुग्न सक्छ। युरोप पहिले नै औद्योगिक क्रान्ति (Industrial revolution) पूर्वको स्तरभन्दा करिब २.४°C बढी तातिसकेको छ, जबकि आर्कटिक (Arctic) क्षेत्रमा यो वृद्धि करिब ३.३°C पुगेको छ। यी आँकडाहरू चिन्ताजनक छन्। यी पेरिस सम्झौता (Paris Agreement) मा तोकिएको लक्ष्यभन्दा धेरै छन्, जसले विश्वको तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिपूर्वको स्तरभन्दा २°C भन्दा तल, र सम्भव भएसम्म १.५°C सम्म सीमित राख्ने लक्ष्य राखेको छ।

अत्यधिक गर्मी वा चरम तापक्रम प्रायः "हीट डोम" (Heat dome) भनिने उच्च-दबाव प्रणालीका कारण हुन्छ, जसले तातो हावालाई आफ्नो भित्र ओगटेर राख्छ र लामो समयसम्म तीव्र गर्मीको अवस्था सिर्जना गर्छ। यस प्रणालीले बादल बन्ने सम्भावनालाई पनि रोक्छ, जसले वर्षा हुने सम्भावना घटाउँछ। यस्तो अवस्थालाई ‘हीटवेभ’ (Heat wave) भनिन्छ। युरोपमा, पछिल्ला वर्षहरूमा भएका हीटवेभहरूले गर्मीजन्य थकान (heat exhaustion) र गर्मीजन्य घातक अवस्था (heatstroke) को घटना बढाएका छन्। गत वर्ष विश्वव्यापी र युरोप दुवैमा अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा दर्ता भएको थियो। गत वर्ष प्रकाशित ल्यान्सेट पब्लिक हेल्थ को एक अध्ययनले चेतावनी दिएको थियो कि शताब्दीको अन्त्यसम्म गर्मी-सम्बन्धी मृत्यु दर तीन गुणा बढ्न सक्छ, जसमा इटाली, ग्रिस र स्पेन जस्ता दक्षिणी मुलुकहरू सबैभन्दा बढी प्रभावित हुने सम्भावना छ।

शहरी हीटवेभहरू हालका वर्षहरूमा बढ्दो ध्यानको विषय बनेका छन्, किनकि शहरहरूमा नजिकैका ग्रामीण क्षेत्रहरूभन्दा उल्लेखनीय रूपमा उच्च तापक्रम नापिएको छ। यस्ता स्थानलाई ‘अर्बन हीट आइल्यान्ड’ (Uraban Heat Island) भनिन्छ। सतहमा उच्च मानव बस्ती घनत्व, पुराना र अब्यवस्थित भवनहरू, साँघुरा सडकहरू, र मानव क्रियाकलापको कारण शहरी वातावरणमा तापक्रम बढ्ने प्रवृत्ति हुन्छ। यसको परिणामस्वरूप, ठूलो शहरहरूमा तापक्रम नजिकैका ग्रामीण क्षेत्रहरूभन्दा विशेषगरी रातको समयमा ४°C सम्म बढी हुन सक्छ।

हीटवेभ, आगलागी, खडेरी

म सन् २०२३ को अगस्टको सुरुवातमा एथेन्स पुगेको थिए, र त्यहाँको गर्मी झेल्नै नसक्ने जस्तो थियो। लाग्थ्यो, मानौँ सूर्यले मेरो शरीरको हरेक थोपा ओसलाई सोसिरहेको छ। म लगातार पानी पिउँदै मात्र शहर वरिपरि घुम्न सक्षम भएँ, र मैले देखेँ कि वरिपरिको प्रायः सबैजना पनि यही गर्दै थिए, यो दृश्य मैले एक तस्वीरमा समेत कैद गरेको रहेछु, जुन एथेन्सको एकदमै प्रसिद्ध पर्यटक स्थल एक्रोपोलिस (Acropolis) मा खिचिएको हो।, जहाँ प्रायः हरेक पर्यटकको हातमा पानीको बोतल देखिन्छ।

यस गर्मीमा पनि ग्रीसमा चरम मौसमका अवस्था जारी छन्। तापक्रम ४०°C नजिक पुगेसँगै एथेन्सको दक्षिणतर्फ ठूलो वनाग्नि लागेको थियो। जुलाईको अन्त्यसम्म गर्मी अझै बढ्दै गयो र ४०°C पार गर्दै, मौसम पूर्वानुमानले अधिकतम ४५°C सम्म पुग्ने सम्भावना देखायो। यस्तो चरम गर्मीबाट उत्पन्न स्वास्थ्य जोखिमबाट जनतालाई बचाउन, जुलाईको अन्त्यतिर अधिकारीहरूले शहरको सबैभन्दा प्रसिद्ध पर्यटक स्थलमध्ये एक, एक्रोपोलिस, बन्द गरे।

यस वर्ष, जुन महिनादेखि नै धेरै युरोपेली देशहरूले तीव्र हीटवेभको सामना गरे। जुलाईको सुरुवातमै दोस्रो हीटवेभ आयो, जसमा धेरै देशहरूमा तापक्रम ४०°C भन्दा माथि पुग्यो। स्पेन र पोर्चुगलका केही भागहरूमा त गर्मी ४६°C भन्दा बढी पुग्यो, जसले दैनिक जीवनलाई झन् कठिन बनायो। विशेषगरी स्पेन चरम गर्मीको चपेटामा रह्यो, जहाँ धेरै क्षेत्रमा तापक्रम ४०°C भन्दा माथि पुग्यो। जून महिनामै, रातको समयमा पनि बार्सिलोनाजस्ता शहरहरूमा असामान्य रूपमा उच्च तापक्रम—२५°C भन्दा बढी—रेकर्ड भयो। फ्रान्समा २००३ पछि अहिलेसम्मकै सबैभन्दा तातो जून महिना भयो, जसका कारण विद्यालयहरू बन्द गर्नुपर्‍यो, र पर्यटकहरूको सुरक्षाका लागि केही समयका लागि एफिल टावरसमेत बन्द गरियो।

गर्मी केवल दक्षिण युरोपमै सीमित रहेन। उत्तरमा, फिनल्यान्ड र नर्वेजस्ता देशहरूले पनि गर्मीको अनुभव गरे। जुलाईको अन्त्यतिर, फिनल्यान्डमा ३०°C तापक्रम रेकर्ड भयो—यो १९६१ देखि सुरु गरिएको रेकर्डमा सबैभन्दा उच्च हो। नर्वेमा पनि जुलाईमा त्यस्तै गर्मी आयो, तापक्रम करिब ३०°C सम्म पुग्यो। यस गर्मीको चरम तापक्रमका कारण स्पेन, फ्रान्स, जर्मनी, अष्ट्रिया, र सर्बियासहितका धेरै युरोपेली देशहरूमा वन आगलागी र खडेरीको जोखिम बढ्यो।

चरम गर्मीको स्वास्थ्यमा प्रभाव

चरम गर्मीले हीट एक्सहस्सन (heat exhaustion) हुन सक्छ, जसमा शरीर अत्यधिक तात्छ। यसको सामान्य लक्षणहरूमा टाउको दुखाइ, मांसपेशी तन्किने, अत्यधिक पसिना आउनु, अनुहार रातो हुनु, थकान, वाकवाकी, र बेहोस हुने सम्मका अवस्था पर्न सक्छन्। रोचक कुरा के हो भने, यस अवस्थामा छालाले तातो होइन, चिसो वा चिसो-जस्तो महसुस गराउन सक्छ।

यदि तपाईंलाई हीट एक्सहस्सन भएको छ भने, तुरुन्तै गर्मीबाट टाढा जानुहोस् र चिसो वा छायाँ भएको स्थान खोज्नुहोस्। सकेसम्म चाँडो पानी पिउनुहोस् र शरीरको तापक्रम घटाउन चिसो कपडाको प्रयोग गर्नुहोस्। अल्कोहल र क्याफिनयुक्त पदार्थबाट टाढा रहनुहोस्, किनकि यसले शरीरमा पानीको कमी झन् बढाउन सक्छ। हीट एक्सहस्सन को समयमै उपचार नगरेमा यो हीट स्ट्रोक मा परिणत हुन सक्छ। हीट स्ट्रोक तब हुन्छ जब शरीरको तापक्रम नियन्त्रण गर्ने प्रणालीले सही रूपमा काम गर्न बन्द गर्छ। चरम गर्मीमा पसिना आउन रोकिएपछि शरीरको तापक्रम छिट्टै बढ्न सक्छ। हीट स्ट्रोक १ देखि ६ घण्टा भित्र विकसित हुन सक्छ र समयमै उपचार नगरे २४ घण्टाभित्र घातक हुन सक्छ। यस वर्षको सुरुवाती गर्मीमै युरोपमा यस्ता चरम गर्मीका कारण अनुमानित २,३०० मानिसको मृत्यु भइसकेको छ।

युरोपभरि हीटवेभको असर कम गर्न विभिन्न पहलहरू भइरहेका छन्। धेरै देशहरूले जनतालाई सचेत राख्नका लागि चेतावनी र सतर्कता प्रणाली स्थापना गरेका छन्। सुरुवाती गर्मीमै, स्पेनको स्वास्थ्य मन्त्रालयले प्रत्यक्ष घाममा लामो समय नबस्न, पर्याप्त पानी पिउन, र वृद्धवृद्धा, गर्भवती महिला, तथा दीर्घ रोगीहरू जस्ता संवेदनशील समूहमा विशेष ध्यान दिन आग्रह गर्‍यो। फ्रान्सका केही गर्मी भागहरूमा अधिकारीहरूले स्थानीय बासिन्दालाई चिसो हुन सहयोग पुर्‍याउन सार्वजनिक स्विमिङ पूल निःशुल्क खोल्ने आदेश दिएका छन्। यसैबीच, इटालीका केही शहरहरू—जसमध्ये नेपल्स र सिसिलीको पालेर्मो पनि पर्छन्—ले कामदारलाई चरम गर्मीबाट जोगाउन दिनको सबैभन्दा तातो समयमा बाहिरी काम गर्न प्रतिबन्ध लगाएका छन्।

चरम गर्मीका आर्थिक प्रभाव

हीटवेभका धेरै आर्थिक प्रभावहरू हुन्छन्, जसमा कामदारहरूको उत्पादकता घटेकाले कृषि उत्पादनमा कमी आउनु प्रमुख हो। यसले खाद्यबस्तुको मूल्य बढाउन सक्छ र मुद्रास्फीति सम्बन्धी अनिश्चितता बढाउँछ। युरोपेली केन्द्रीय बैंकका अनुसार, सन् २०२२ को गर्मीमा भएको चरम गर्मीले युरोपमा खाद्य मूल्य करिब ०.७ प्रतिशतले बढायो। तर मुद्रास्फीति माथिको कुल प्रभाव भने स्पष्ट छैन, किनकि हीटवेभले खाद्यबस्तुको माग घटाउन पनि सक्छ।

यसका अतिरिक्त, चरम गर्मीले व्यवसायिक गतिविधिमा अवरोध ल्याउँछ—पर्यटन घटाउने, र केही व्यवसायलाई अस्थायी रूपमा बन्द गर्न बाध्य पार्ने। केही अध्ययनका अनुसार, हालको अवस्थामा हीटवेभहरूले विश्व अर्थतन्त्रलाई करिब १% GDP बराबरको क्षति पुर्‍याइरहेका छन्, र यदि यो प्रवृत्ति यस्तै रह्यो भने सन् २०५० सम्म यो लागत GDP को ३% सम्म पुग्न सक्छ।

युरोप किन छिटो तातिरहेको छ?

कोपर्निकसका अनुसार, युरोपका देशहरूमा छिटो तात्नुको मुख्य कारण जैविक ईन्धनबाट निस्कने हरितगृह ग्यासहरू (कोइला, पेट्रोलियम, र प्राकृतिक ग्यास जैविक ईन्धनका उदाहरण हुन्), वन विनाश, र औद्योगिक क्रियाकलापहरू हुन्। तर देशहरूबीच तापक्रम बढ्ने दरमा फरक हुनुका कारण जटिल स्थानीय प्रतिक्रिया, वायुमण्डलीय गतिशीलता, र हावाको गुणस्तरले पनि प्रभाव पार्छ। उदाहरणका लागि, युरोपेली देशहरूले आफ्नो भौगोलिक अवस्थाका कारण फरक-फरक कारक अनुभव गर्छन्—जस्तै उत्तरतिर आर्कटिकसँगको सम्बन्ध र दक्षिणतिर उत्तर अफ्रिकासँगको सम्बन्ध। आर्कटिक क्षेत्र विश्वमा जलवायु परिवर्तनबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र हो, भने उत्तर अफ्रिकाबाट सुक्खा हावा युरोपमा आएर सतही तापक्रमलाई झन् तीव्र बनाउँछ। थप रूपमा, युरोपमा वायु प्रदूषण घटेपछि अधिक सूर्यको विकिरण सतहसम्म पुग्न सक्ने हुँदा गर्मी बढ्ने गर्दछ। यी स्थानीय भिन्नतालाई बुझ्नु प्रभावकारी स्थानीय रणनीति विकासका लागि महत्त्वपूर्ण छ।

युरोप चरम गर्मीसँग कसरी जुध्दैछ?

जलवायु परिवर्तन रणनीतिहरू मुख्य रूपमा दुई भागमा विभाजित छन्: अनुकूलन (adaptation) र न्यूनीकरण (mitigation)। अनुकूलनले जलवायु परिवर्तनका प्रभावहरूसँग सामना गर्ने उपायहरूमा केन्द्रित हुन्छ, जसमा प्रारम्भिक चेतावनी प्रणाली सुधार, प्रभाव परिदृश्य (impact scenerio) विकास, तालिम प्रदान, समुदायलाई संलग्न गराउने, र गर्मी तथा ऊर्जा-प्रतिरोधी पूर्वाधार र भवन मापदण्डहरू लागू गर्ने जस्ता कदमहरू पर्दछन्।

न्यूनीकरणले भविष्यमा हुने जलवायु प्रभावहरू घटाउने लक्ष्य राख्छ, जसका लागि वृक्षारोपण, शहरी हरियो क्षेत्र र दलदली क्षेत्र विस्तार, वातावरणमैत्री यातायात प्रवर्द्धन, र हरितनिर्माण वित्तीय सहयोग (Green construction financing) जस्ता कार्यहरू गरिन्छन्।

विश्व बैंकको सर्वेक्षण अनुसार, २३ देशका ६४ शहरहरूले — जुन युरोपेली संघको “२०३० सम्म १०० जलवायु तटस्थ र स्मार्ट शहरहरू”  (100 Climate Neutral and Smart Cities by 2030) मिशनका लागि आवेदन दिएका छन् — आफ्नो योजना मार्फत प्रमुख जलवायु प्रतिक्रिया कदमहरू अवलम्बन गरेको बताएका छन्। तथ्याङ्कअनुसार, करिब २३.४% शहरहरूले निलो-हरियोआधारित पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् भने १७.२% ले ऊर्जा दक्षता नीति वा पहलमा जोड दिएका छन्। अन्य उपायहरूमा कार्बन उत्सर्जन घटाउने, सर्कुलर अर्थतन्त्र अभ्यास, दिगो यातायात, सरोकारवालासँग संलग्नता, नवीकरणीय ऊर्जा, जल व्यवस्थापन आदि समावेश छन्।

चित्र: युरोपेली शहरहरूले बनाएका रणनीति/योजनाहरूमा जलवायु परिवर्तनको प्रतिक्रियाका कदमहरू (स्रोत: विश्व बैंक)

 

उत्तरदाता शहरहरूले शहरी हीट आइल्यान्डका प्रभावहरूलाई समाधान गर्न तत्काल आवश्यक कदमहरू पनि पहिचान गरेका छन्, जसमा वृक्षारोपण, शहरी हरितक्षेत्रको योजना बनाउने, ऊर्जा र तापक्रम प्रभावकारी पूर्वाधार, हरियो छाना, र समुदायको सहभागिता आदि समावेश छन्।

चित्र: युरोपेली शहरहरूले शहरी हीट आइल्यान्डको प्रभावसँग जुध्न सबैभन्दा तत्काल आवश्यक ठानेका कदमहरू (स्रोत: विश्व बैंक)

निष्कर्ष

गएको वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्ष रह्यो, जसले विश्वभर विविध विपद् निम्त्यायो र आर्थिक घाटा ३०० अर्ब डलर (£२१९ अर्ब) भन्दा बढी पुगेको छ। चरम गर्मीबाट हुने क्षति कम गर्नका लागि देशहरूले बढी गर्मी मौसमसँग अनुकूलन गर्न सक्रिय रणनीतिहरू अपनाउन आवश्यक छ। जलवायु तटस्थता र स्मार्ट शहरी योजना तर्फ लागेका युरोपेली शहरहरूले उच्च तापक्रमका मानवीय र आर्थिक प्रभावसँग जुध्न स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन्, जुन विकासोन्मुख वा तयारीविहीन रहेका देशहरूका लागि एक मार्गचित्र बन्न सक्छ। तर ती योजनाहरूलाई व्यवहारमा लागू गर्नु अझै चुनौतीपूर्ण नै छ। यसमा देशको स्थानीय अवस्थाले (भू-मण्डल) पनि भूमिका खेल्छ।अर्को धेरै महत्वपूर्ण कुरा भनेको सरोकारवालाहरू संलग्नता र साझेदारी हो। विश्व बैंकको भर्खरको सर्वेक्षणले देखाएको छ कि करिब एक तिहाइ मात्र शहरहरूले सरोकारवालासँग बलियो संलग्नता र साझेदारी बनाएका छन्, जुन सफल कार्यान्वयनका लागि आवश्यक कुरा समन्वयमा ठूलो खाडल देखाउँछ।

अन्ततः, यो स्पष्ट छ कि हामीले तत्काल कदम चाल्नुपर्छ—हरियालीयुक्त शहरी क्षेत्रहरूबाट सुरु गर्दै, छोटो र मध्यमकालीन जलवायु समाधानहरू, व्यक्तिगत र व्यवसाय दुवैलाई सशक्त बनाउने कार्यक्रमहरू, र संस्थाहरूबीच बलियो समन्वय अपरिहार्य यी कदमहरू विकल्प होइनन्; यदि हामीले हाम्रो समुदायलाई बढ्दो जलवायु खतराहरूबाट जोगाउन चाहन्छौं भने यो अत्यावश्यक छन्।

(लेखक नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा अनुसन्धानकर्ता हुनुहुन्छ।)

 

स्रोतहरू: द गार्डियन, कोपर्निकस, अलजाजिरा, डोइचे भेल्ले, वर्ल्ड बैंक

अन्तिम अध्यावधिक: १५ भदौ २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस