काठमाडौं । ‘जन्मदिनलाई सतकर्ममा जोडौं’ अभियान अन्तर्गत पशुपतिनाथ क्षेत्रअन्तर्गतको भण्डारखालमा सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कथा वाचिका देवी प्रतिभालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
मुख्यसचिव अर्यालले वृक्षारोपण कार्यक्रमको महत्वबारे बोल्दै वातावरण र मानव जीवनबीचको सम्बन्धलाई गहिरोसँग जोडिएको बताए ।
उनले भने, ‘वातावरणीय विनाशको असर मानव जातिमा परिरहेको छ । वृक्षारोपणजस्ता अभियानहरूले यस असरलाई न्यूनिकरण गर्न मद्दत गर्छन् । सरकारको तर्फबाट म सबैलाई यस्ता अभियानमा सहभागी हुन आग्रह गर्न चाहन्छु ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले वृक्षारोपण केवल देखावटी कार्यक्रम मात्र नभई जिम्मेवारीका साथ वृक्षको संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘विरुवा रोपेर फोटो खिच्दा रमाइलो हुन्छ, तर त्यसलाई हुर्काउन सक्नुपर्छ,’ उनले भने ।
त्यस्तै, कथा वाचिका देवी प्रतिभाले वृक्षारोपणलाई जलवायु सुधार र वातावरण शुद्धीकरणसँग प्रत्यक्ष रूपमा जोडिन् ।
‘वृक्षारोपण पर्यावरणको लागि, जलवायु र वातावरण शुद्द गर्नको लागि वृक्षारोपण सबैले गर्नुपर्छ । हामी गमलामा फूल लगाएर रमाउँछौं, तर बाहिरी जंगलमा गएर वृक्षारोपण गर्नु हाम्रो दायित्व हो,’ उनले भनिन्, ‘पशुपतिनाथ क्षेत्रको यो वन क्षेत्र मानव जीवनका लागि अति उपयोगी छ ।’