अध्ययन: नेपालमा सहरी सरसफाइको विकेन्द्रीकरणः वित्तीय स्वायत्तता हुँदाहुँदै पनि अपेक्षित सुधार सुस्त

नेपालको विकेन्द्रीकरण प्रक्रियाले स्थानीय सरकारहरूलाई सशक्त बनाएको भए पनि, सरसफाइ क्षेत्रमा यसको पूर्ण क्षमता उपयोग गर्न अझै स्पष्ट नीति, पर्याप्त स्रोत विनियोजन, र बलियो जवाफदेहिता संयन्त्रको आवश्यकता रहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।
१४ साउन २०८२ (३ महिना अघि)

काठमाडौं । नेपालमा संघीयतासँगै वित्तीय विकेन्द्रीकरणले स्थानीय सरकारहरूलाई पर्याप्त बजेट र खर्चको निर्णयमा बढी स्वायत्तता दिए पनि सहरी सरसफाइ सेवाको सुधारमा भने अपेक्षित नतिजा आउन नसकेको एक अध्ययनले देखाएको छ । “नेपालमा वित्तीय विकेन्द्रीकरण र सहरी सरसफाइ सेवा“ शीर्षकको अध्ययनले लहान नगरपालिकाको एक केस स्टडीसहित नेपालको सहरी सरसफाइको वर्तमान अवस्थाबारे अनुसन्धानमूलक जानकारी दिएको छ ।

नेपालले सन् २०१५ मा नयाँ संविधान जारी गरेपछि एकात्मकबाट संघीय शासन प्रणालीमा रूपान्तरण भएसँगै निर्णय गर्ने अधिकार र सेवा प्रवाहको जिम्मेवारीलाई विकेन्द्रीकरण गरेको छ । हाल, संघीय सरकार, सात प्रदेश सरकार र ७५३ स्थानीय सरकार गरी तीन तहका सरकारहरू छन् । स्थानीय सरकारहरूले आन्तरिक राजस्वका साथै संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानहरू प्राप्त गर्छन् । कुल राष्ट्रिय बजेटको करिब एक तिहाइ रकम अनुदानमार्फत स्थानीय सरकारहरूमा हस्तान्तरण गरिएको छ, जसले उनीहरूलाई खर्च निर्णयमा बढी स्वायत्तता प्रदान गरेको छ । यसले नागरिकको सहभागिता र जवाफदेहिता पनि बढाएको छ ।

यद्यपि, संघीयता र विकेन्द्रीकरण अपेक्षाकृत नयाँ भएकाले सेवा प्रवाहमा यसको प्रभावको मूल्यांकन गर्न अझै चाँडो भए पनि सरसफाइ क्षेत्रमा केही महत्त्वपूर्ण चुनौतीहरू देखिएका छन् अध्ययनले विभिन्न विषयहरू औंल्याएको छ । 

प्रादेशिक सरकारहरूको भूमिका र कार्यहरूमा स्पष्टताको अभाव छ, जसले गर्दा कार्यमा रिक्तता र दोहोरोपन सिर्जना भएको अध्ययनले औंल्याएको छ । यसैगरी स्थानीय र प्रदेश सरकारहरूले आफ्नै कर्मचारी भर्ना गर्न सकेका छैनन् र संघीय सरकारमा निर्भर छन्, जसले मानव संसाधन र क्षमताको सीमितता देखाउँछ । स्थानीय राजस्व संकलन पनि सीमित रहेको अध्ययनले औंल्याएको छ ।

अध्ययनले सरसफाइ सेवाको योजना, बजेट र वितरणका लागि राष्ट्रिय दिशानिर्देश÷नियमहरू सीमित छन्, कार्यादेशहरू स्पष्ट छैनन् र जवाफदेहिता संयन्त्रहरू स्थापित नगरिएको औंल्याएको छ  । धेरैजसो पानी, सरसफाइ तथा स्वच्छताको बजेट संघीय नियन्त्रणमा छ र यसको ठूलो हिस्सा पानीमा केन्द्रित छ । विगत पाँच वर्षमा सरसफाइमा कुल खर्चको ५ प्रतिशतभन्दा कम मात्र खर्च भएको छ । यसले सरसफाइका लागि अत्यन्तै सीमित स्रोत विनियोजन भएको देखाउँछ । सन् २०१८÷१९ देखि २०१९÷२० सम्म, सरकारका सबै तहमा वास बजेटको औसत उपयोग दर ४२.१% भन्दा बढी हुन सकेन । स्थानीय सरकारको बजेट उपयोग दर ५७% थियो ।

लहान नगरपालिका, जहाँ करिब १,०२,००० मानिसहरू बस्छन्, लहानको केस स्टडीले देशभरका सहरी नगरपालिकाहरूको अवस्थाको एक झल्को दिन्छ । लहानमा अधिकांश घरपरिवारले खाडल वा सेप्टिक ट्यांकमा जोडिएका शौचालय प्रयोग गर्छन् । यद्यपि, ४५% घरपरिवारका अन–साइट प्रणालीले मात्र फोहोरलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्छन् । सन् २०१७ मा लहानलाई खुला दिसामुक्त घोषणा गरिए पनि करिब ५% जनसंख्या अझै खुला दिसा गर्ने गर्छन् ।

लहानमा कुनै ढल निकास प्रणाली छैन । फोहोरमैला प्रशोधन केन्द्र (एफएसटीपी) निर्माणको योजना भए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । नगरपालिका र निजी ट्याङ्कर सञ्चालकहरूले ट्याङ्की खाली गर्ने सेवा प्रदान गर्छन्, तर निकालिएको फोहोरलाई असुरक्षित रूपमा खुला स्थान, खेतबारी वा नदीमा फाल्ने गरिन्छ ।

लहानको कुल नगरपालिका बजेट (२०१८÷१९ र २०२१÷२२ बीच) औसत २०८८.९९ मिलियन रुपैयाँ (१५ मिलियन डलर) थियो, तर बजेट उपयोग दर मात्र ४०% थियो । सरसफाइले नगरपालिकाको कुल खर्चको अत्यन्तै सानो अंश ओगटेको छ । सन् २०२१÷२२ मा पानी आपूर्ति र सरसफाइका लागि नगरपालिकाको कुल खर्चको २.२८% मात्र विनियोजन गरिएको थियो । सन् २०१८÷१९ र २०२१÷२२ बीच, सरसफाइमा नगरपालिकाको खर्च जम्मा रू. २,९५८,६१६ (यूएसडी २०,०००) थियो, जसमध्ये अधिकांश ( २.६ मिलियन रूपैयाँ) शौचालय निर्माणमा खर्च भयो ।

सन् २०२१ मा वाटरएडको सहयोगमा लहान नगरपालिकाले एक वास योजना तयार पारेको छ । यस योजनाले सन् २०३० सम्ममा सुधारिएको वातावरणीय सरसफाइ सेवामा पहुँच बढाउने र विद्यालय, स्वास्थ्य सुविधा र सार्वजनिक स्थानहरूमा सरसफाइ तथा स्वच्छता कार्यक्रमहरू लागू गर्ने लक्ष्य राखेको छ । सरसफाइका गतिविधिहरूका लागि कुल रू २.२ बिलियन (१६.६ मिलियन डलर) खर्च लाग्ने अनुमान गरिएको छ, तर यसका लागि रकम जुटाइएको छैन । हाल सरसफाइको योजना, खर्च र कार्यान्वयनका लागि कुनै जवाफदेहिता संयन्त्रहरू छैनन् ।

अध्ययन प्रतिवेदनले सहरी सरसफाइ सेवामा सुधार ल्याउन विभिन्न सुझावहरू सिफारिसहरू गरेको छ । जसलाइ राष्ट्रियस्तरमा स्थानीय सरकारहरूलाई उनीहरूको वैधानिक जिम्मेवारी अनुसार सहरी सरसफाइ सेवाहरू प्रदान गर्नका लागि प्रदान गरिने कोषमा उल्लेखनीय वृद्धि गर्न सुझाव दिइएको छ । स्पष्ट राष्ट्रिय लक्ष्य, मापदण्ड र दृष्टिकोणसहित सहरी सरसफाइ सेवाका लागि प्रभावकारी राष्ट्रिय नीति, नियम र दिशानिर्देशहरू तयार गर्नुपर्ने अध्ययनले सुझाएको छ । वास क्षेत्रमा बजेट र खर्चको उप–क्षेत्र र उद्देश्य अनुसार अझ राम्रो वर्गीकरण गरेर पारदर्शिता सुधार गर्नुपर्ने सुझाव दिएको छ । लहानको वास सुधार योजनालाई देशभर व्यापक बुझाइ बढाउन प्रयोग गर्न सुरकारलाइ सुझाएको छ । उच्च बजेट र खर्चलाई प्रोत्साहन गर्न स्थानीय सरकारहरूको जवाफदेहिता बढाउनका लागि प्रोत्साहन संयन्त्रहरू लागू गर्नपर्ने अध्ययनले औंल्याएको छ । स्थानीय सरकारको कर्मचारी संरचना र संख्याको समीक्षा गरी समर्पित सरसफाइ कर्मचारीको व्यवस्था गर्ने काम संघीय सरकारले गर्नुपर्ने सुझाएको छ  । 

अध्ययनले स्थानीय सरकारले आफ्नो वास योजनाको लागत अनुमान गर्ने, बजेट बनाउने र सहरी सरसफाइ सेवाका लागि विश्वसनीय र प्रभावकारी वित्तिय रणनीतिहरू परिभाषित गर्ने काम गर्नुपर्नेमा औंल्याएको छ । उत्कृष्ट सरसफाइ नतिजाहरू प्राप्त गर्नका लागि सार्वजनिक र निजी सेवा प्रदायकहरूका लागि प्रभावकारी प्रोत्साहन र दण्डका संयन्त्रहरू लागू गर्ने गर्नुपर्ने सुझाएको छ । सरसफाइ सुधार योजनामा बढी स्थानीय सहभागिता जुटाउन र सरसफाइ सुधारका लागि उच्च बजेट विनियोजनको माग बढाउन नागरिक समाज संस्थाहरूसँग मिलेर स्थानीय सरकारले काम गर्नुपर्ने औंल्याएको छ । 

समग्रमा, नेपालको विकेन्द्रीकरण प्रक्रियाले स्थानीय सरकारहरूलाई सशक्त बनाएको भए पनि, सरसफाइ क्षेत्रमा यसको पूर्ण क्षमता उपयोग गर्न अझै स्पष्ट नीति, पर्याप्त स्रोत विनियोजन, र बलियो जवाफदेहिता संयन्त्रको आवश्यकता रहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

अन्तिम अध्यावधिक: १४ साउन २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस