सगरमाथा केवल नेपालको शिखर नभएर सम्पूर्ण पृथ्वीको सर्वोच्च बिन्दु हो, हाम्रो गौरवको प्रतीक हो । सगरमाथालगायतका हिमाल यस्ता मौन साक्षी हुन् जसले समय, सभ्यता र संस्कृतिका अनगिन्ती आरोह–अवरोहको दृश्य गमन गरेका छन् । यिनै हिमशृङ्खलाहरू केवल हिउँको थुप्रो मात्र होइनन्, जीवनका आधारहरू हुन्, मौसमका सूत्रधार हुन् र मानव अस्तित्वका मौन संरक्षक हुन् । तर आज, ती शाश्वत मानिएका हिमालहरू खतरामा छन् : पग्लिँदै, थाक्दै र शून्यतामा हराउने अवस्थामा ।
जलवायु परिवर्तनको तीव्र असरले हाम्रो हिमाली क्षेत्रलाई जोगाउन सक्ने समय अब धेरै बाँकी छैन । मौसम प्रणालीमा आएको अनियमितता, हिउँ पग्लिने गति र बढ्दो प्राकृतिक सङ्कटका सङ्केतहरूले हामीलाई एक गम्भीर प्रश्नतर्फ हेर्न बाध्य पारिरहेका छः के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ ?
गत जेठ २ देखि ४ गतेसम्म नेपाल सरकारले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव भविष्य सम्बन्धी बहसको अन्तर्राष्ट्रिय मञ्च बन्यो । यस लेखको शिर्षक सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नु भएको एक गम्भीर प्रश्न थियो । उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले भन्नुभयो – “हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो, महासागर जोगाउनु हो, स्वयं मानवता जोगाउनु हो ।”
उहाँको यो भनाइ केवल कूटनीतिक वक्तव्य थिएन, त्यो एक विश्वजगतलाई गम्भीर चेतावनी थियो, एक मानवीय आग्रह थियो र भविष्यको पीडादायी सम्भावनातर्फको इशारा पनि । किनभने हिमाल पग्लिनु केवल वैज्ञानिक तथ्य होइन, त्यो मालदिभ्सजस्ता टापु राष्ट्रको अस्तित्वको भय हो । नदी छेउका बासिन्दाका लागि त्यो बाढीको त्रास हो । त्यो आगामी दशकमा कृषकहरूको सिँचाइ सङ्कट हो, अनि पानीका मुहान सुकेर घर छोड्न बाध्य हुनु पर्नेहरुको पीडा हो ।
हिमाल सम्पूर्ण मानव सभ्यताको मेरुदण्ड
नेपालका हिमशृङ्खलाहरू पर्यटकीय आकर्षण, धार्मिक आस्थाका केन्द्र या भौगोलिक सम्पदा मात्रै होइनन्, ती सम्पूर्ण दक्षिण एसियाका जीवनका मूल स्रोत हुन् । विश्वका दश प्रमुख नदी प्रणालीमध्ये तीनः गङ्गा, ब्रह्मपुत्र र इन्द्रावती, नेपालकै हिमशृंखलाबाट अस्तित्व पाउँछन् । यस अर्थमा, नेपालका हिमाल करिब २ अर्ब मानिसहरूको जीवनधारा हुन् ।
तर आज, ती जीवनधारा नदीहरूको मुहान सुक्दैछ । हिमनदीहरू साँघुरिँदै छन्, हिमतालहरू विस्फोटको जोखिममा छन् । जलवायु परिवर्तनको असरले भूक्षय, बाढी, हिमपहिरो र तापमानको चरम उतारचढावको सामना गर्नु पर्ने अवस्थाको सृजना भएको छ । हाम्रो भविष्यको झ्याल उघारेर हेर्दा सुनौलो उज्यालो हैन, धुम्म अन्धकारको बिम्ब झल्किन थालेको छ ।
नेपालको जलवायु सङ्कट – आँखैअघि देखिएको यथार्थ
नेपालका गाउँ बस्तीहरूमा जलवायु परिवर्तन अब अनुसन्धानको विषय मात्रै रहेन, त्यो दैनिक जीवनको यथार्थ बनिसकेको छ । सुदूरपश्चिमका पहाडी गाउँहरूमा वर्षाको अनियमितता, खडेरीका कारण बाली नष्ट, पानीको अभाव, अनि एक गाउँबाट अर्को गाउँ बसाई सर्नुपर्ने बाध्यता बढेको छ । अहिलेका लागि यो स्थानीय पलायनको रूपमा देखिए पनि भविष्यमा यो राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय पलायनको रूप लिन सक्ने गम्भीर सङ्केत पनि हो ।
खुम्बु क्षेत्रको इम्जा ताल जस्तै अन्य हिमतालहरू तीव्र गतिमा फैलिरहेका छन् । वैज्ञानिकहरूले हिमताल विस्फोटनको जोखिम अत्यन्त उच्च रहेको चेतावनी दिँदै आएका छन् । यदि त्यस्तो विस्फोट भयो भने, मानव जीवन, आधारभूत संरचना र जैविक विविधता सबै तहसनहस हुनसक्छ ।
गाउँ गाउँमा पानीका मुहान सुक्न थालेपछि सामाजिक कठिनाइ, सिँचाइ अभाव, खाद्य असुरक्षा अनि शिक्षा, स्वास्थ्यजस्ता सेवा प्रणालीहरूमा समेत असर देखिन थालेको छ । यो समस्या अब केवल पहाडी भूभागको सीमामा सीमित छैन, सहरहरूमा समेत पानीको समस्या र गर्मीका समस्या तीव्र भएका छन् ।
स्थानीय सङ्कट की विश्वव्यापी चुनौती ?
नेपालको जलवायु सङ्कट नेपालमै सीमित छैन । यसका कारक औद्योगिक राष्ट्रहरूद्वारा उत्सर्जित हरित गृह ग्यासहरूमा छन्, जसले समग्र पृथ्वीको तापक्रम बढाइरहेका छ । हिमालय क्षेत्र विश्वको औसतभन्दा झन्डै दुई गुणा बढी गतिमा तातिरहेको वैज्ञानिकहरूले औँल्याएका छन् । यसको प्रभाव भारत, तिब्बत, बङ्गलादेश, पाकिस्तान र चीनमा समेत देखिन थालेको छ । यसैले यो क्षेत्रीय मात्रै होइन, मानव सभ्यताको साझा सङ्कट हो ।
त्यसैले अब हामीले जलवायु परिवर्तनलाई केवल प्राकृतिक विषय भनेर हेर्न सक्दैनौँ । यो आर्थिक, सामाजिक र राजनीतिक विषय पनि हो ।
जलवायु न्यायको खोजी
नेपाल जस्ता मुलुकहरूको कार्बन उत्सर्जनमा विश्वभरको जम्मा ०.०२५ प्रतिशत मात्रै भूमिका छ, तर असरमा हामी अग्रपङ्क्तिमा छौँ । यो जलवायु अन्याय हो । सन् २०२२ मा इजिप्टमा सम्पन्न कोप २७ सम्मेलनमा हानी नोक्सानी कोष स्थापना गर्ने सहमति भयो । तर कार्यान्वयनको गति भने सुस्त बन्यो । हामीलाई नारा होइन न्यायपूर्ण नीति परिमार्जनको आवश्यकता रहेको छ । जलवायु क्षतिपूर्ति, कार्बन बजेट र कार्बन करजस्ता मुद्दामा विकासशील राष्ट्रहरूको आवाज सुन्नु अब आवश्यक मात्र होइन, अनिवार्य बनेको छ ।
नेपालजस्ता मुलुकहरूको आवाज कमजोर जस्ता लाग्न सक्छन्, तर यी आवाजहरू एकताबद्ध हुँदै गएमा वैश्विक बहसमा सहजै बुलन्द प्रभाव पार्न सक्छन् । हिमाली राष्ट्रहरूको साझा मोर्चा गठन, विज्ञानमा आधारित कूटनीति र जनस्तरको सृजनशील दबाबमार्फत हामीले न्यायपूर्ण परिवर्तन ल्याउन सक्छौँ ।
हिमाल बचाउने लडाइँ – जीवन र भविष्यको लडाइँ
हिमाल जोगाउनु केवल हिउँ जोगाउनु मात्र नभएर त्यो जल स्रोत, जैविक विविधता, सभ्यता–संस्कृति र अर्थतन्त्र जोगाउनु हो । नेपालले आफ्नो प्रयास स्वरूप जलविद्युत, वन संरक्षण, नवीकरणीय ऊर्जा र अन्तर्राष्ट्रिय बहसमा सक्रियता देखाइरहेको छ । तर यी कदमहरू मात्र पर्याप्त होइनन् । यदि विश्व तापक्रम १.५ डिग्री सेल्सियस माथि पुग्यो भने हाम्रो हिमाली क्षेत्रले अपूरणीय क्षति भोग्नुपर्नेछ, जसको असर पुस्तौँ–पुस्ताले भोग्नेछन् ।
हामीले स्थानीय समुदायहरूलाई जलवायु अनुकूलनमा सक्षम बनाउनु जरुरी छ । परम्परागत ज्ञान, स्थानीय नवप्रवर्तन र शिक्षालाई एकीकृत गर्दै दिगो समाधान निर्माण गर्न सकिन्छ । पर्यटन, कृषिमा हरित प्रविधिको प्रयोग र वातावरणीय शिक्षा अब केवल परियोजनाको भाषामा होइन जनजीवनको अङ्ग बन्नुपर्छ ।
अन्त्यमा – के मानवता हिमालविना सम्भव छ ?
सोधौँ – के हामी हिमालविहीन संसार कल्पना गर्न सक्छौँ ? जब हिमशृङ्खलाहरू हराउँछन्, पृथ्वीको जल चक्रमा असन्तुलन आउँछ, पानीको अभाव तीव्र हुन्छ, खाद्य सङ्कट उत्पन्न हुन्छ र एक देशबाट अर्को देशतिर पलायन सुरु हुन्छ, त्यो बेला मानव अस्तित्व स्वयं सङ्कटमा पर्छ ।
त्यसैले, अब यो प्रश्न केवल भावनात्मक रहँदैन । यो वैज्ञानिक, नैतिक र राजनीतिक प्रश्न होः के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ ? उत्तर छ – सक्दैन ।
अबको बाटो भनेको साझा उत्तरदायित्वको हो, जहाँ नेपाल जस्ता हिमाली राष्ट्रहरूले आवाज उठाउँछन् र विश्वले त्यो अवाज गम्भीर रुपमा सुन्छ । यो समय विकासको नयाँ परिभाषा लेख्ने हो, जहाँ समृद्धि प्राकृतिक सन्तुलनसँग जोडिन्छ र भविष्य जलवायु न्यायसँग ।
हाम्रा हिमालका लागिसँगै सिङ्गो पृथ्वीका लागि लड्नु पर्ने समय आएको छ । यदि हामीले आज हिमाल जोगाउन सकेनौँ भने, भावि पुष्ता र सिंगो भविष्यलाई वृहत् अन्याय हुनेछ । तर यदि जोगायौँ भने – हाम्रो सन्ततिले सधैँ सगरमाथाबाट शान्त, शुद्ध, अनि सम्भावनाले भरिएको, उदाउँदै गरेको सूर्यको दृश्य हेर्न पाउनेछन् ।
साैगात मिश्र, सञ्चार र जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान तथा पत्रकारितामा संलग्न छन् ।