ब्राजिलले वन विनाशको संकट समाधान गर्न अत्याधुनिक प्रविधिको प्रयोग गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित वृक्षरोपण रोबोट संचालन गरेको छ । प्लानटियो–१०० नामक यस्ता प्रविधीयुक्त रोबोटहरूले एक घण्टामा सयभन्दा बढी विरुवा रोप्न सक्ने क्षमता राख्छन् ।
परम्परागत विधिबाट फरक यी रोबोटहरूले माटोको बनावट, घामको मात्रा, भौगोलिक बनावटजस्ता तत्वहरूको विश्लेषण गरेर उपयुक्त मौसम अनुकुल प्रजातिका बिरुवा छान्छन् । यसरी रोपिएका रूखहरूले प्रकृतिक वनको जैविक विविधता र संरचना झल्काउने हुँदा मोनोकल्चर (एकै प्रकारको रूख मात्र रोप्ने अभ्यास) को सट्टामा स्थायी र सन्तुलित वातावरणीय प्रणाली निर्माण हुन्छ ।
यी रोबोटहरूको सबैभन्दा नवीन पक्ष भनेको सुई प्रविधिबाट बिरुवा रोप्ने बेलामै माइकोराइजल फङ्गस माटोमा हाल्नु हो, जसले बिरुवाको जराको वृद्धि र टिकाउमा उल्लेखनीय सुधार ल्याउँछ । यो प्रविधिको प्रयोगबाट वृक्षरोपण गर्दा परम्परागत तरिकामा भन्दा बिरुवा बाँच्ने दर ८७ प्रतिशतसम्म बढी हुन्छ ।
साथै, यी रोबोटहरूले प्रत्येक बिरुवाको जीपीएस लोकेसन रेकर्ड गर्छन् र समयअनुसार तिनको अवस्थाको पनि निगरानी गर्छन् । सौर्य ऊर्जाबाट चल्ने यी रोबोटहरू दुर्गम भू–भाग, विशेषगरी अमेजन जस्ता क्षेत्रमा पनि कार्य गर्न सक्ने गरी डिजाइन गरिएको छ ।
ब्राजिलको यो पहलले विश्वभर पर्यावरण पुनस्र्थापनामा स्वचालन र प्रविधिको प्रयोग बढ्दो क्रममा रहेको देखाउँछ । यस्तै प्रयासहरू क्यानडा, अमेरिका लगायत देशहरूमा पनि भइरहेका छन् । अहिलेको चरणमा यो प्रविधि प्रारम्भिक अवस्थामा भए पनि यसको प्रयोगले जैविक विविधताको संरक्षण, बन विनाश न्यूनीकरण र जलवायु परिवर्तनको असर कम गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।