दान बहादुर बुढा, मुगु । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका मुगुको छाँयानाथ रारा नगरपालिका १३ थर्प गाउँका अक्कलबहादुर बोहोरालाई जिल्लामा भब्य स्वागत गरिएको छ ।
४६ वर्षीय बोहोरालाई मुगुबाटै पहिलो पटक सगरमाथाको आरोहण गरेका हुन् । आरोहणपछि जिल्ला पुग्दा शुभेच्छुकहरुले नाचगानसहित स्वागत गरेका हुन् । उनलाई नाचगान, बजागाजा, दोसल्ला खादा, अबिर, फुलमालालगायत देउडा मागल, झोजा गीतमार्फत भब्य स्वागत गरिएको हो ।
अक्कल बोहोरा चैत्र २३ गते गृह जिल्लाबाट रारा र मुगु कर्णाली नदीको पानी लिएर आरोहण यात्रामा हिडेका उनले २०२५ मे २०, बिहान ८ः५८ बजे सगरमाथाको चुचुरोमा पाइला राखेका थिए ।
पछिल्ला बर्ष स्पेनको कोष्टा ब्लाङ्कास्थित आल्भिर शहरमा बस्दै आएका बोहोराले रारा र कर्णाली नदीको प्रचारका लागि सगरमाथा आरोहण गरेको बताए । ४२ दिन लगाएर उनले सफल आरोहण गराएका हुन् ।
बिगत लामो समयदेखि लिएको लक्ष्य अनुसार पहिलो पटक सगरमाथाको शिखरमा पुगेर सपना पूरा गरेको प्रतिक्रिया दिए । जिल्ला पुगेका बेला एमालेका तर्फबाट जिल्ला अध्यक्ष पूर्ण बहादुर रोकायाले सम्मान पत्र प्रदान समेत गरेका थिए ।
बोहोरा सशस्त्र प्रहरीका हल्दार तथा नेपालका पूर्वधावक पनि हुन् । उनले मुगुलगायत देश बिदेशमा रहेका गरिब, असाहय, अशक्त, प्राकृतिक प्रकोप पीडितहरुलाई राहत उपलब्ध गराउँदै आएका छन् । साथै शैक्षिक र खेलकुद क्षेत्रमा पनि उनले सहयोग उपलब्ध गराउँदै आएका छन् ।