काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले 'के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ?' भनेर प्रश्न गरेका छन् । ‘सगरमाथा संवाद’ को कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त प्रश्न गरेका हुन् ।
‘सगरमाथा संवाद’ ले सगरमाथाको काखबाट विश्वलाई हिमालको संरक्षण सिंगो मानव जगतको संरक्षण रहेको सन्देश दिएको उनले बताए ।
सगरमाथा संवाद सुन्न, बोल्न र बुझ्नको लागि नेपालको अग्रसर्तामा आयोजना गरिएको विश्व संवाद कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताए ।
यस कार्यक्रमले सगरमाथाको अग्लो चुचुरो जस्तै उचाइ लिने विश्वास लिइएको पनि उनको भनाइ छ ।
नेपालको करिव आधि भू भाग जंगलले ओगटेको तथ्य बताउँदै नेपालले कार्बन उत्सर्जनमा नगन्य भूमिका खेलेको र कार्बन उत्सर्जनमा नेट जिरो कायम गर्न प्रतिबद्ध रहेको बताए ।
जलवायु परिवर्तन अब समान्य नरहेको भन्दै विश्व संकटको रुपमा उदाएको विषय बनेको पनि उनले बताए ।
हिमालको असरले पानीका स्रोत, ग्लेसियर र समुन्द्रसम्मले प्रत्यक्ष असर पर्ने तथ्यको पनि उनले स्मरण गराए ।
'हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो, महासागरहरू जोगाउनु हो, स्वयं मानवता जोगाउनु हो' उनले भने, 'यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक संकल्प होस् ।'
सगरमाथा संवादको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत उद्घाटन मन्तव्य
माननीय मन्त्रीज्यूहरू,
विशिष्ट अतिथिज्यूहरू,
महामहिमज्यूहरू,
प्रतिनिधिहरू, महिला तथा सज्जनबृन्द,
शुभप्रभात तथा नमस्ते!
सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु—
मेरा निम्ति गहिरो सम्मान र हार्दिक अबसर दुवै हो।
नेपालको विश्वसँगको यो संवाद–पहलकदमी—
गहन विचार विमर्शको लागि प्लेटफर्म,
सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर,
र, हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास हो ।
आज, 'लोकल र ग्लोबल' छुट्याउने सीमाहरू लगभग हराइसकेका छन्।
संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ ।
एउटा भूभागमा सल्किएको डँढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ।
टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र विथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ, र फाँटहरू सुख्खा र बाँझो बन्न पुग्छन्।
केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ।
यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—
इमानदार संवादको लागि स्थान,
आपसी ज्ञान साटासाट गर्न,
र सामूहिक कदम चाल्न,
— सगरमाथा संवादको जन्म भएको हो।
हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौं— सगरमाथा, पृथ्वीको सर्वोच्च शिखर!
र आशा गर्छौं— यो संवाद — हाम्रो संवाद— त्यत्तिकै उच्च बनोस्।
उच्च नैतिक स्पष्टतामा,
दृढ बौद्धिक साहसमा,
र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा ।
महिला तथा सज्जनबृन्द,
आज हाम्रो विश्व अग्ला, बहुपक्षीय चुनौतीका पहाड सामु खडा छ।
चुनौतीहरू विशाल छन्— र तीव्र रूपमा नजिकिंदै छन्।
महामारीपछिको पुनःस्थापना अझै नाजुक छ।
जलवायु सङ्कट झन् तीव्र बन्दैछ।
संसारका थुप्रै ठाउँहरूमा शान्ति र सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ।
वैश्विक शासनप्रणालीप्रति विश्वास क्रमशः घट्दै गएको छ।
असमानता— देशभित्र र देशहरुका बीचमा— गहिरिँदो छ।
एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्यौलको आँधीमा रूमलिएको छ।
र अझै—
यस्तो अन्यौलका बीच हामी, सरल तर शक्तिशाली विश्वासमा अडिग छौंः
संवादको शक्ति ।
महिला तथा सज्जनबृन्द,
नेपाल भूगोलको टुक्रा मात्रै होइन ।
यो पवित्र भूमि हो—जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ।
यहीँ, चेतना जागृत भएको थियो।
यो बुद्धको भूमि हो ।
यसै माटोबाट एउटा यस्तो प्रकाश उदायो—जसले मानवतालाई शान्ति, करुणा, र समन्वयको बाटो देखायो।
यो त्यही भूमि हो—जहाँ सन्तहरूले ध्यान गरे।
साधकहरुले सत्य फेला पारे।
र जहाँ ऋषिहरुले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे।
नेपाल सदा—खोजकर्ताहरूको थलो रहँदै आएको छ।
विजेताहरूको होइन—चिन्तकहरूको,
युद्धको होइन—संवादको ।
हाम्रो परम्परा, आदरपूर्वक— आत्मबोध गर्ने सँस्कृतिमा अडेको छ।
सच्चा मनले— बोल्नेमा,
र सँगसँगै— सत्य खोज्नेमा ।
सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो।
हाम्रो प्राचीन परम्पराको एउटा सौम्य पुनरागमन ।
यस्तो 'स्पेश' जहाँ प्रज्ञा नतमस्तक हुन्छ— विनम्रताका साथ ।
जहाँ विविध स्वरहरू एकसाथ गुञ्जिन्छन्— श्रद्धाका साथ ।
र जहाँ जवाफ खोजिन्छन्— अहम् बाट होइन, सहअनुभूतिका साथ ।
हामीलाई एउटा प्राचीन सत्यले सम्झाउँछः
"वादे वादे जायते तत्त्वबोधः"
—अर्थात् संवादबाटै सत्य ।
चर्को विभाजनको घडीमा पनि—
न मौनताले काम गर्छ, न त कर्कस आवाजले।
सत्य संवादले काम गर्छ।
सुन्ने/ गुन्ने क्षमताले— अन्तर्मनको वचनले ।
सगरमाथा संवाद—
यस पवित्र परम्परालाई जीवन्त राख्ने हाम्रो विनम्र प्रयास हो ।
हाम्रो पहिलो थेमले, हाम्रो मनको कुरा भन्छ:
"जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य ।"
हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन—
यो त हाम्रो दैनिक यथार्थ हो,
तर, केवल हाम्रो मात्र होइन—
विश्वकै साझा चिन्ताको विषय हो।
के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ?
के हाम्रो भविष्य हाम्रा यी प्राचीन 'संरक्षक'हरूका संरक्षणबिना बचाउन सकिन्छ?
हिमालहरू टाढाका लाग्न सक्छन्—
तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ।
आर्कटिकदेखि एन्डीजसम्म,आल्प्सदेखि हिमालयसम्म—
तिनीहरू पृथ्वीका जल-भण्डार हुन् ।
तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन्।
र, तिनीहरू अहिले भयङ्कर संकटमा छन्।
तिनीहरूको नाजुकता— हाम्रो साझा असुरक्षित अवस्था हो।
संसारकै सर्वोच्च शिखर, सगरमाथाको काखबाट,
हामी स्पष्ट र दृढताका साथ—सन्देश दिन्छौं:
यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक संकल्प होस् ।