नेपालमै अब वातावरणमैत्री 'शारजाह स्काइपोड'

|प्रस्तावित मोडल

३० बैशाख २०८२ (३ दिन अघि)

काठमाडौँ । नेपालले आफ्ना भीडभाडयुक्त सहरहरूमा सार्वजनिक यातायातको विकल्प स्वरूप अत्याधुनिक स्काइपोड प्रणाली ल्याउने भएको छ । करिव ४ अर्व ७० करोड रुपैयाँ लागतमा दुबईस्थित यु–स्कभरी कम्पनीलाई ७ किलोमिटर लामो विद्युतीय ट्रयाक निर्माणका लागि छनोट गरिएको छ ।

यो प्रविधि परम्परागत केवलकार जस्तै देखिए पनि स्वचालित पेडल बिना चल्ने स्मार्ट क्याबिनहरूको प्रयोग गरिन्छ, जसले अधिकतम ५० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । नेपाल सरकारले यु–स्कभरीसँग आधिकारिक सम्झौता गरिसकेको छ । यो कम्पनी युनिट्स्की स्ट्रिङ ट्रान्सपोर्ट नामक बेलारुसको कम्पनीको शाखा हो, जसले २०२१ देखि शारजाह अनुसन्धान, प्रविधि तथा नवप्रवर्तन पार्कमा ४०० मिटर लामो परीक्षण ट्रयाक सञ्चालन गर्दै आएको छ ।

कोशी प्रदेशको बिराटनगरमा हाल सार्वजनिक बसबाहेक अन्य कुनै सार्वजनिक यातायात प्रणाली छैन । भारत–नेपाल सिमाना नजिकको चेकपोइन्टदेखि बिराटनगरको मुख्य बसपार्क जोड्नेगरी निर्माण हुने हावामा चल्ने विद्युतीय स्काइपोड प्रणालीले त्यहाँको यातायात जाम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।

तीन वर्षभित्र सञ्चालनमा ल्याइने

परियोजना तीन वर्षभित्र सञ्चालनमा ल्याउने योजना बनाइएको छ । यसबाट दैनिक हजारौं यात्रु लाभान्वित हुने अपेक्षा गरिएको छ, विशेषतः भारत–नेपालबीच उपचारका लागि यात्रा गर्नेहरूका लागि सहज पहुँच हुने विश्वास लिइएको छ ।

यु–स्कभरीका प्रमुख कार्यकारी अधिकृत ओलेग जारेत्स्कीका अनुसार, यो प्रणालीबाट वार्षिक १ करोड यात्रुलाई सेवा पु‍र्याउन सकिनेछ । “नेपालले यो प्रविधि आर्थिक हिसाबले सस्तो र व्यवहारिक भएकाले रोजेको हो । रेल वा मेट्रोजस्ता महंगा परियोजनाहरू यहाँ सम्भव छैनन्,” उनले भने ।

परियोजनाको लगानी निजी क्षेत्रले गर्ने भए पनि सरकारले जग्गा उपलब्ध गराउने र न्यूनतम यात्रु संख्याको ग्यारेन्टी दिने छ । बिराटनगर निकै भीडभाडयुक्त क्षेत्र भएकाले सीमा पार गरेर आउने यात्रुहरूलाई केन्द्रसम्म पु‍र्याउन यो परियोजना उपयोगी हुने बताइएको छ ।

प्रविधिमा नविनता, मूल्यमा सहजता

स्काइपोड प्रणाली परम्परागत केवलकारभन्दा पृथक रूपमा उच्च क्षमताका स्टिल रिलेहरूमा स्वतन्त्र रूपमा चल्ने प्रविधिमा आधारित छ । कम्पनीका अनुसार यसमा प्रतिमिटर केवल २ सय अमेरिकी डलर लागत लाग्छ ।

नेपालमा क्याबिनको आकार अनुसार कुल ४ अर्वदेखि ४ अर्व ७० करोड रुपैयासम्म लागत लाग्ने अनुमान गरिएको छ । हाल यात्रुहरूले तिर्नुपर्ने भाडा तय भइसकेको छैन ।

बेलारुसमा कम्पनीले सानो व्यावसायिक ट्रयाक सञ्चालनमा ल्याइसकेको छ भने भारतको कर्नाटक राज्यको गोकाक झरनामा अर्को ४ सय मिटर लामो ट्रयाक निर्माणको तयारी भइरहेको छ ।

“नेपाल सरकारले यातायातलाई प्राथमिकतामा राखेकाले यो प्रविधिप्रति ठूलो चासो देखाएको छ,” जारेत्स्कीले बताए। “शारजाहमा जस्तै क्याबिनको आकार र गति हुनेछ । ट्रयाक, पावर स्टेशन, ब्याकअप ब्याट्री सबै पूर्ण विद्युतीय प्रणालीमा आधारित हुनेछ ।”

सार्वजनिक–निजी साझेदारीमा परियोजना

कोशी लगानी सम्मेलनमा नेपाल र यु–स्कभरीबीच भएको सम्झौताअनुसार यो परियोजना तीन वर्षभित्र सम्पन्न गरिनेछ । सफल परीक्षणपछि यो प्रणालीलाई विस्तार गरी ४५ किलोमिटरसम्म फैलाउने योजना पनि रहेको छ ।

परियोजना सञ्चालनका लागि २०२० मा स्थापना भएर नेपालमा हरित शहरी यातायात प्रणाली विकास गर्ने लक्ष्य राखेको काठमाडौँ पड्वे कम्पनी जिम्मेवार हुनेछ ।

नेपालको बिग्रदो वायु प्रदूषण, औद्योगिक भट्टि, फोहोर जलाउने प्रवृत्ति र भीडभाडयुक्त सवारी प्रणालीका कारण पर्यावरणीय संकट थपिँदो छ । यस्तो अवस्थामा स्काइपोडले हरित यातायातको समाधान दिन सक्छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख कार्यकारी अधिकृत आशिष गजुरेलका अनुसार, स्काइपोड प्रणालीले नेपालमा हरित यातायात प्रवद्र्धनमा ठूलो टेवा पु‍र्याउनेछ । “सरकारले निजी क्षेत्रसँगको साझेदारीमा अध्ययनपछि विकास गर्नेगरी सम्झौता गरेको हो । यसले नेपालमा पड्रेल विकासतर्फको बाटो खोल्नेछ,” गजुरेलले भने ।

“नेपालले मेट्रो रेल धान्न सक्दैन, त्यसैले तुलनात्मक रूपमा सस्तो र चाँडो निर्माण गर्न मिल्ने प्रविधिको खोजीमा यो उत्तम विकल्प देखिएको छ । प्रत्येक नेपालीले यसबाट लाभ पाउनेछन् , किनभने दैनिक यात्रामा सबैले समस्या भोगिरहेका छन् ।” , गजुरेलले भने ।

यस परियोजनाले नेपालमा सस्तो, वातावरणमैत्री र भविष्यमुखी सार्वजनिक यातायातको सुरुआत गर्दै आधुनिक हरित शहरी विकासतर्फको यात्रामा नयाँ युगको थालनी गर्ने अपेक्षा गरिएको छ ।

 

द नेशनल

 

अन्तिम अध्यावधिक: ३० बैशाख २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस