नेपालमा हरेक वर्ष वसन्त ऋतु सुरु भएसँगै वन डढेलोको समस्या विकराल रूप लिने गर्छ। सुख्खा मौसम, हावाहुरी, र मानवीय लापरवाहीका कारण देशभरका वन क्षेत्रमा आगलागी हुने क्रम बढिरहेको छ। पछिल्लो एक साताको तथ्यांकलाई नै हेर्ने हो भने पनि ७ चैतमा ९३ स्थानमा वन डढेलो लागेको थियो । यसैगरी ९ चैतमा २० स्थानमा र १२ चैतमा ६३ स्थानमा वन डढेलो लागेको तथ्यांक पाइन्छ । यसरी वन डढेलोको संख्या क्रमशः बढीरहेको देखिन्छ । वन डढेलोले वनस्पति तथा वन्यजन्तु मात्र होइन, मानव बस्ती, कृषि क्षेत्र, र जनस्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको छ । वन डढेलोको मुख्य कारण प्राकृतिक भन्दा बढी मानवीय गतिविधि रहेको देखिन्छ। चरनका लागि घाँस डढाउने, मह काढ्न आगो प्रयोग गर्ने, असावधानीपूर्वक फालिएका जलनशील पदार्थ, तथा खुला क्षेत्रमा बनाइएका आगोका कारण डढेलो फैलिने गरेको पाइन्छ। साथै, जलवायु परिवर्तनको प्रभावका कारण तापक्रम वृद्धिले सुख्खा मौसम लम्बाउँदै डढेलोको जोखिम बढाएको छ।
वन डढेलो नियन्त्रण गर्न समयमै सतर्कता अपनाउनु अत्यावश्यक छ। यसका लागि सरकार, स्थानीय समुदाय, तथा सरोकारवालाबीच समन्वय आवश्यक छ। डढेलो रोकथामका लागि जनचेतना अभिवृद्धि, वन निगरानी र द्रुत प्रतिकार प्रणालीको स्थापना, कानूनी प्रबन्धको प्रभावकारी कार्यान्वयन, स्थानीय समुदायको सहभागिता र व्यवस्थित वन व्यवस्थापन जस्ता उपायहरू अवलम्बन गर्नुपर्छ। स्थानीय समुदायलाई वन डढेलोको असर तथा रोकथामका उपायबारे सचेत पार्न प्रचार-प्रसार, तालिम तथा समुदाय स्तरमा कार्यक्रम सञ्चालन गर्नुपर्छ। जोखिमयुक्त क्षेत्रमा आगलागी पहिचान गर्न आधुनिक प्रविधिको प्रयोग गरी निगरानी गर्नुपर्छ। डढेलो सुरु भए तुरुन्त नियन्त्रण गर्न द्रुत प्रतिकार टोली परिचालन गर्नुपर्छ। वन डढेलो फैलाउनेहरूलाई कारबाही गर्ने कानूनी प्रबन्ध कडाइका साथ लागू गरिनुपर्छ।
वन संरक्षण समितिहरू, सामुदायिक वन उपभोक्ता समूह तथा स्वयंसेवकहरूको संलग्नता बढाएर डढेलो नियन्त्रणका उपायहरू प्रभावकारी बनाउन सकिन्छ। वनभित्र सुख्खा पात, झाडी सफाइ, र आगलागी रोक्ने संरचनाहरू निर्माण गर्न आवश्यक छ। साथै, सरकारको भूमिका पनि महत्त्वपूर्ण रहन्छ। सरकारले प्रभावकारी वन नीति अवलम्बन गर्नुपर्छ, वन निगरानी तथा अनुसन्धानमा प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ, तथा आपत्कालीन उद्धार तथा राहतका लागि आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्छ। स्थानीय तहदेखि संघीय सरकारसम्मको समन्वय र साझेदारी आवश्यक छ ताकि वन डढेलो नियन्त्रण तथा रोकथाम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।
गत वर्षजस्तो यो वर्षपनि देशको धेरै क्षेत्रमा डढेलो लाग्न सक्ने सम्भावना देखिन्छ । गत वर्षको वन डढेलोमध्ये दुई तिहाइभन्दा बढी डढेलोका कारण केवल मानवीय नै हो भनिएको छ। त्यसैले हरेक मानिसले आफ्नो बानीलाई सुधार गरेमा र वन क्षेत्रमा आगोको स्रोत नफालेमा डढेलोबाट हुने ठुलो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। पहिलो त डढेलो लाग्न नै दिनु हुँदैन । यदि डढेलो लागिहालेमा स्थानीयवासी मिलेर निभाउनु पर्छ । डढेलो नियन्त्रणमा पनि निम्न उपाय अपनाउन सकिन्छः
सामान्यतया गर्मीयाममा क्याम्प फायरसहित खुला रूपमा आगो बालेर गरिने मनोरञ्जनलाई सकेसम्म निषेध वा निरुत्साहित गर्नु पर्छ। यदि त्यस्तो गरिएको खण्डमा आगोलाई राम्रोसँग निभाउनु पर्छ। ग्रामीण क्षेत्र तथा वन क्षेत्रको नजिक भण्डारण गरिएका प्रज्वलनशील वस्तुलाई आगोबाट वा आगोको स्रोतबाट सकेसम्म टाढा राख्नु पर्छ । घरआँगनमा आगो बाल्दा न्यूनतम रूपमा आगो वा आगोको स्रोतबाट १० फिट व्यास सर्कलभित्र पात, काठका टुक्रा र घाँस वा तत्काल आगो समात्ने वस्तुलाई हटाउनु पर्छ ।
आगलागी भइहालेमा फायर फाइटिङ उपकरण तथा दमकललाई यथास्थानमा चुस्तदुरुस्त राख्नु पर्छ। कहीँकतै आगलागी वा डढेलो लागेको खण्डमा तत्काल निभाउन जान सक्ने गरी यी उपकरणको व्यवस्था गर्नु पर्छ। वन क्षेत्रमा ठाउँठाउँमा पोखरी निर्माण गर्नु पर्छ। यसले डढेलो लागी हालेमा नियन्त्रण गर्न सहज हुन्छ । त्यसैले सामुदायिक, सरकारी तथा निजी वन क्षेत्रमा पोखरी निर्माण गर्ने अभियान सुरु गरिहाल्नु पर्छ ।
यदि वन क्षेत्र अलिक घना छ र कहीँ कतै डढेलो लागी हालेमा नियन्त्रण गर्न गाह्रो हुने भएमा अनिवार्य रूपमा वन क्षेत्रभित्र अग्निरेखा निर्माण गरी उक्त अग्निरेखालाई सधैँ सफा राख्नु पर्छ। यसले आगोलाई फैलिन रोक्छ। आगोको उपयोगितासँगै जोखिम पनि अत्यधिक छ। त्यसैले आगो र आगोका स्रोतमाथि चनाखो रहनु पर्छ । केटाकेटीको पहुँचभन्दा बाहिर राख्नु पर्छ । घरबाहिर आगो बाल्नु हुँदैन । बाल्नु नै परे हावा नचलेको समयमा मात्रै बाल्नु पर्छ । आगो बालिसकेपछि आगोलाई राम्रोसँग पानी वा माटोले छोपेर मात्र छड्नु पर्छ । कसैले डढेलो लगाउने उद्देश्यले वन क्षेत्रमा आगो बाली छोडेको भेटिएमा तुरुन्त सुरक्षा संयन्त्रलाई खबर गर्नु पर्छ ।
डढेलो एक प्रकारको बिपत्ति हो। त्यसैले आगोलाई सुरक्षित तरिकाले प्रयोग गर्नाले मात्र डढेलोबाट हुने क्षतिबाट बच्न सकिन्छ। अन्यथा डढेलोले धेरै क्षति पुर्याउँछ। वनलाई डढेलोबाट बचाउन के कस्तो योजना चाहिन्छ, निर्माण गरी सबैले कार्यान्वयन गर्नु पर्छ। यो एकल पहलबाट नियन्त्रणमा आउने विषय होइन । सहकार्यबाट मात्र यसबाट हुने क्षतिलाई रोक्न सकिन्छ । डढेलो लगाउनु सामाजिक अपराध हो भने निभाउनु सामाजिक दायित्व हो ।
वन डढेलो नियन्त्रणको लागि तत्काल कदम चाल्नु आवश्यक छ। हामी सबैले मिलेर सचेतना, नीति, प्रविधि, र सहभागितामूलक पहलमार्फत यस समस्यालाई न्यून गर्ने दिशामा लाग्नुपर्छ। वन हाम्रो अमूल्य सम्पत्ति हो, यसको रक्षा हाम्रो दायित्व हो। वन डढेलो नियन्त्रण हुन सकेन भने मनसुनको समयमा पहिरोको जोखिम बढी हुने भएकाले सरकारले मनसुनमा हुने सक्ने बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि कार्ययोजना बनाएर काम गर्नुपर्ने देखिन्छ । वढेलो रोकथाममा सरकारका गतिविधिहरु पर्याप्त हुन नसक्नुले पनि जोखिम बढ्दो छ । जोखिम नियन्त्रणका लागि कार्ययोजना बनाएर सरकारले तयारी अवस्थामा बसी वन डढेलो रोकथाम गरौं ।