दक्षिण कोरियामा भीषण डढेलो : २४ जनाको मृत्यु, हजारौं विस्थापित

१३ सय वर्ष पुरानो ऐतिहासिक बौद्ध मन्दिर गौन्सा पनि डढेलोमा परेर ध्वस्त
१३ चैत २०८१ (३ महिना अघि)

सोल – दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा २४ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। सरकारी अधिकारीहरूका अनुसार, हालसम्म करिब २७ हजार मानिसलाई आगलागी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।

सुख्खा मौसम र तीव्र हावाहुरीका कारण आगो नियन्त्रण बाहिर गएको छ। अग्निनियन्त्रकहरू विभिन्न स्थानमा डढेलो निभाउने प्रयासमा जुटिरहेका छन्। अन्डोङ, उइसोङ र अन्य दक्षिणपूर्वी क्षेत्रका अधिकारीहरूले मंगलबार स्थानीय बासिन्दालाई घर छोड्न आदेश दिएका थिए। आगलागीले ४३ हजार एकडभन्दा बढी क्षेत्र नष्ट गरेको छ।

उइसोङस्थित १३ सय वर्ष पुरानो ऐतिहासिक बौद्ध मन्दिर गौन्सा पनि डढेलोमा परेर ध्वस्त भएको छ। यद्यपि, आगो मन्दिरका काठका संरचनासम्म पुग्नु अघि नै ढुंगाका बुद्ध मूर्ति तथा केही राष्ट्रिय सम्पदाहरू सुरक्षित स्थानमा सारिएको थियो, जसले सम्भावित ठूलो क्षति रोक्न सहयोग गर्‍यो।

दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयका अनुसार, अन्डोङ, उइसोङ, सान्चेओङ र उल्सानका ५,५०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।अग्निनियन्त्रकहरूले मुख्य आगलागी नियन्त्रणमा ल्याएको बताएका छन्, तर सुख्खा मौसमका कारण आगो पुनः बल्ने सम्भावना कायम रहेको छ।

डढेलो नियन्त्रणका लागि करिब ९ हजार अग्निनियन्त्रक, १ सय ३० भन्दा बढी हेलिकप्टर तथा सयौं उद्धार सवारी साधन परिचालन गरिएको छ। तर, रातभरि चलेको तीव्र हुरीका कारण आगो निभाउने प्रयासमा कठिनाइ उत्पन्न भएको छ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस