शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर

२ चैत २०८१ (३ महिना अघि)

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ ।

शुक्रबार बिहानदेखि जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् । डढेलो नियन्त्रण बाहिर गएको स्थानीय राजुराम पाठकले जानकारी दिए ।

शुक्रबार टोकरपुरको छाङ खोला जङ्गल नजिकैबाट लागेको आगो अहिले शैलुङ तर्फ प्रवेश गरेको छ  आगोले स्थानीय लालीगुराँस, छहारेछाप पाखा, बुढापानी सामुदायिक वनको जङ्गलमा क्षति पुर्याएको छ ।

डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयलगायत स्थानीय परिचालित भएपनि डढेलो नियन्त्रणमा आउन नसकेको छैन ।

शनिबार बिहान डढेलो केही नियन्त्रण भएको भए पनि दिउँसोबाट हावा चल्न लागेपछि आगो पुनः सल्किएको पाठकले बताए । ‘धुवाँको मुस्लो सहित ठुलो वनमा आगो लागेको छ, सहजै नियन्त्रण गर्न सकिने अवस्था छैन’, उनले भने ।

सो डढेलो कसले लगायो भन्नेबारे अझै यकिन हुन सकेको छैन । स्थानीय वन उपभोक्ता समितिको शनिबार बिहान बसेको बैठकले घटनामा संलग्नको खोजीगरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउन प्रहरीमा निवेदन गर्ने निर्णय गरेको छ ।

शैलुङको जङ्गल जैविक हिसाबले निक्कै महत्वको जङ्गल मानिन्छ । विभिन्न जातका गुराँस, सल्लो लगायतका रुख, जडीबुटी र जङ्गली जनावर पाइने सो जङ्गलमा आगलागीले ठुलो क्षति हुने भएको छ ।

अन्तिम अध्यावधिक: २ चैत २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस