चक्रवातले क्वीन्सल्यान्डमा भारी असर : हजारौं मानिसहरू विद्युत् बिहिन

२५ फागुन २०८१ (४ महिना अघि)

अष्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यमा आइतबार चक्रवात 'अल्फ्रेड' का कारण भीषण हावाहुरी र भारी वर्षा आएपछि हजारौँ मानिसहरू विद्युत् बिना बस्न बाध्य भएका छन् ।

ऊर्जा आपूर्तिकर्ता एनर्जेक्सका अनुसार, क्वीन्सल्यान्डको दक्षिणपूर्वी क्षेत्रमा करिब ३१ हजार ६ सय ५४ मानिसहरू विद्युत् बिना बसेका थिए । गोल्ड कोस्ट शहर सबैभन्दा प्रभावित क्षेत्र रह्यो, जहाँ १ सय १२ भन्दा बढी मानिसहरू विद्युत् बिना रहे।

चक्रवात शनिबार न्यून दबावको रूपमा क्वीन्सल्यान्डको तटमा पुगेको थियो । १६ दिनसम्म चक्रवातको रूपमा सक्रिय रहेको यो प्रणालीको विरुद्ध लाखौं बासिन्दाहरूले तयारी गरेका थिए । राज्यको राजधानी ब्रिसबेन भने चक्रवातको मुख्य प्रभावबाट जोगिएको थियो, यद्यपि यसको असर छिमेकी न्यू साउथ वेल्स राज्यसम्म फैलिएको थियो ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले आकस्मिक बाढी र भीषण हावा चलिरहेका कारण  आइतबार क्वीन्सल्यान्ड र उत्तर न्यू साउथ वेल्सको अवस्था अझै गम्भीर रहेको बताए ।

भारी वर्षा, हुरी र समुद्री आँधी आउने क्रम केही दिनसम्म जारी रहने अपेक्षा गरिएको पनि अल्बानीजले क्यानबेरामा एबीसी टेलिभिजनमार्फत बताए ।
राष्ट्रिय मौसम विभागका अनुसार, आइतबार भारी वर्षाले आकस्मिक बाढी ल्याउने सम्भावना रहेको थियो, जसले ब्रिसबेन, साथै इप्सविच, सनशाइन कोस्ट र जिम्पी जस्ता क्वीन्सल्यान्डका क्षेत्रीय केन्द्रहरूलाई असर पार्न सक्थ्यो ।

दक्षिणपूर्वी क्वीन्सल्यान्डमा अझै भारी वर्षा भइरहेको मौसमविद् डिन न्यारामोरले जानकारी दिए ।

ब्रिसबेन विमानस्थलले एक्समा पोस्ट गर्दै आइतबार पुनः सञ्चालनमा आएको घोषणा गरेपनि मौसमका कारण उडान तालिका प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

शनिबार न्यू साउथ वेल्सको उत्तरी भागमा बाढीमा परेर एक व्यक्तिको मृत्यु भएको थियो । त्यस्तै, लिसमोर सहरमा उद्धारका लागि जाँदै गरेका दुई अस्ट्रेलियन रक्षा बलका सवारीसाधनहरू दुर्घटनामा परेर केही अधिकारीहरू घाइते भएको अधिकारीहरूले बताएका छन् ।

अन्तिम अध्यावधिक: २५ फागुन २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस