विश्वकै सबैभन्दा ठूलो हिमशिला अन्टार्टिक टापुबाट करिव ७० किलो मिटर बगेर जमिनमा अड्किएको छ । १ ट्रिलियन वजन भएको हिमशिला ४० वर्ष देखि जर्जियाको टापुतर्फ बगिरहेको थियो । यसले महत्वपूर्ण वन्यजन्तुको आश्रयस्थललाई क्षति हुनबाट जोगाएको एक अनुसन्धान संस्थाले जनाएको छ ।
हिमशिला निरन्तर बगिरहदा टापुसँग ठोक्किन सक्ने वा कम गहिराइको स्थानमा अड्किन सक्ने डर पैदा गरेको थियो । जसका कारण पेन्गुइन र सिलहरुको आश्रयस्थलमा क्षति पुग्न सक्थ्यो । दक्षिण जर्जिया टापु वन्यजन्तुको प्रजननस्थल भएकाले पेन्गुइन र सिलहरुलाई विशाल बरफको अवरोध पार गर्नु पर्ने हुन्थ्यो, जसका कारण आफ्ना बच्चाहरुलाई खाना पुर्याउन कठिन हुन जान्थ्यो ।
तर यो हिमशिला स्थायी रुपमा अडिएको हो वा होइन भन्ने बारे एकिन् भइ नसकेको ब्रिटिश अन्टार्टिक सर्वेक्षणका समुद्र वैज्ञानिक एन्ड्रयू मिजर्सले बताए । सर्वेक्षणको एक वक्तव्य अनुसार १ मार्च देखि यस हिमशिला टापुबाट ७३ किलोमिटर टाढा अड्किएको छ । हिमशिला जमिनमा अडिएर बस्यो भने वन्यजन्तुमा असर नगर्ने पनि वैज्ञानिक मिजर्सले बताए । विगत केही दशकहरुमा दक्षिणी महासागरबाट यात्रा गर्ने अधिकांस हिमशिलाहरु फुटेर टुक्रा पर्ने पनि उनले बताए । हिमशिला जमिनमा पग्लिदा उत्पन्न हुने पोषक तत्वहरुले सम्पूर्ण पारिस्थितिक प्रणलीलाई फाइदा पुर्याउन सक्ने पनि मिजर्सको भनाइ छ ।
विश्वकै सबैभन्दा ठूलो र पुरानो हिमशिला १९८६ मा अन्टार्टिकाबाट छुटिएको थियो । समुद्री धारहरुले यसलाई घुमाइरहदा यसको गति सुस्त बनेको थियो ।
जलवायु परिवर्तनको चपेटामा अन्टनर्टिकाका हिमशिलाहरु
दक्षिण जर्जियामा कुनै पनि स्थायी मानव बसोबास छैन । यस टापु बेलायतको अधीनमा रहेको क्षेत्र हो । जलवायु परिवर्तनका कारण सन् २००० यता अन्टार्टिकाका हिमशिलाहरुले ६ हजार अर्ब टन बरफ गुमाइसकेको पनि वैज्ञानिक मिजर्सले बताए ।
वैज्ञानिकहरुले पृथ्वीको औसत तापमान १.५ देखि २ डिग्री सेल्सियस वृद्घि भएमा समुद्रको सतह करिव १२ मिटरले उठ्न सक्ने चेतावनी दिएका थिए । इतिसाहकै सबैभन्दा गर्मी वर्ष रुपमा कायम भएको गत वर्ष पहिलोपटक १.५ डिग्री सेल्सियसको तापमान सीमा पार गरेको थियो ।
द गार्जियन