वस्तिमा पसेको बाघ नियन्त्रणमा, पाँच जना घाइते

१९ फागुन २०८१ (४ महिना अघि)

सप्तरी । सप्तरीमा बस्ती पसेर मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

बस्ती पसेको बाघले सोमबार बिहान पाँच जनालाई आक्रमण गरी घाइते बनाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।

सप्तकोशी नगरपालिका–१ खोरिया टोलस्थित सहिद रंगशाला नजिक जंगली बाघले आक्रमण गर्दा स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री, ६५ वर्षीय रिजन गोसाई, वडा नम्बर –१ फत्तेपुरका ६० वर्षीय गोपाल बिक र ५० वर्षीय कान्छा राई घाइते भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बेस फत्तेपुर सप्तरीको संयुक्त टोलीले कोशी टप्पु वन कार्यालयलाई खबर गरेको थियो ।

दिउँसाे बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुरको टोली, नेपाल प्रहरी, शसस्त्र प्रहरीका साथै नेपाली सेनाको टोली परिचालित भएको थियाे ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट गएको टोली भने फर्किएको थियाे । टोलीमाथि नै स्थानियले आक्रमणको प्रयास गरेकाले त्यहाँबाट फिर्ता भएको कार्यालयका सूचना अधिकारी मिथिलेस महतोले जानकारी दिए ।

कोशी टप्पु वन्यजन्तु आरक्षणबाट खटिएको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लैजाने व्यवस्था गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरूको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

अन्तिम अध्यावधिक: १९ फागुन २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस