चौथो प्रदूषित सहरबाट दोस्रोमा उक्लियो काठमाडौँ, सबैभन्दा प्रदूषित ललितपुरको भैँसेपाटी

मंगलबार देखि बिहिबारसम्म आइपुग्दा वायु प्रदूषण ६२ एक्यूआईले वृद्धि
७ फागुन २०८१ (४ महिना अघि)

काठमाडौँ । काठमाडौँ विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको यूएस आईक्यूएअरका अनुसार बिहिबार बिहान ११ बजेसम्म काठमाडौँको वायु प्रदूषण २३२ एक्यूआई मापन गरिएको छ ।

मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहरमा रहेको थियो । मंगलबार बिहानको काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको थियो । मंगलबार देखि बिहिबारसम्म आइपुग्दा वायु प्रदूषण ६२ एक्यूआईले वृद्धि भएको छ । 

बङ्गलादेशको ढाका प्रदूषित शहरको शीर्ष स्थानमा छ । त्यहाँँको वायु प्रदूषण २४५ एक्यूआई मापन गरिएको छ । युगान्डाको कम्पला तेस्रो स्थानमा छ । छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली चौथो स्थानमा छ ।

५० एक्यूआई भन्दामाथि प्रदूषण सूचकाङ्क कटेमा वायु अस्वस्थ मानिन्छ । यसैबीच काठमाडौँ उपत्यकासहित देशका मुख्य शहरहरूमा वायु प्रदूषण उच्च रहेको छ ।

वातावरण विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै वायु प्रदूषण ललितपुरको भैँसीपाटीमा रहेको छ । भैँसेपाटीमा रहेको मापन केन्द्रले वायु प्रदूषण मापन सूचक (एक्यूआई) ३२६ सम्म देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई ३०० भन्दामाथि हुनु भनेको घातक अवस्था हो । केही दिनदेखि मौसम धुम्म भएको र पानी नपरेका कारण पनि वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।

यस्तै पोखरा, धनगढी, हेटाैँडालगायतका शहरमा पनि वायु प्रदूषण उच्च छ । विभिन्न ठाउँमा भइरहेको डढेलो र किसानहरूले खेतबारीमा बालेको आगोले पनि वायु प्रदूषण बढाइरहेको छ ।

पानी नपरुञ्जेल प्रदूषण घट्ने सम्भावना पनि कम रहेको छ । तत्काल काठमाडौँलगायत शहरमा पानी पर्ने सम्भावना नरहेको मौसमविद्हरूले बताएका छन् ।

नेपालमा वर्षभरि नै वायु प्रदूषण भइरहनेमा चिसोयाम अर्थात् पुस माघ र अत्यधिक सुक्खा अर्थाते चैत,वैशाखमा वायु प्रदूषण बढ्ने गरेको छ ।

अन्तिम अध्यावधिक: ७ फागुन २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस