कृत्रिम जलाशयका कारण दाङमा आउने चराहरूलाई सजिलो

वरपर मनोरञ्जनस्थल बन्ने क्रमले चरालाई असर
३० माघ २०८१ (४ महिना अघि)

सुशिला ओली, दाङ ।  ३ वर्षअघि गरिएको जलपन्छीहरूको गणनाले पानीमा आश्रित चरा तथा जलपन्छीहरूको सङ्ख्या घटेको देखाएको थियो । 

खासगरी तालतलैया तथा सिमसार क्षेत्र कम हुनु र वरपर मनोरञ्जनस्थल बन्ने क्रमले चरालाई असर गरिरहेको देखाएको थियो ।

तर दाङमा भने सीमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढिरहेको छ ।  

दाङको घोराही उपमहानगरपालिका १७ कर्जाहीमा ७ वर्ष अघिसम्म कुनै जलाशय थिएन । जसले सूख्खापनसमेत बढाइरहेको थियो ।

गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानियको पहलमा जलाशय बन्यो ।

अहिले सोही जलाशय मानिसको मात्र नभई स्वदेशी/विदेशी चराहरुको आकर्षणको केन्द्र बनेको जलाशय उपभोक्ता समिति अध्यक्ष छित्रु चौधरी बताउछन् । 

दाङका जलाशय, नदी तलाउहरुमा चिसो छल्न र खानेकुराको खोजीमा हरेक वर्ष हिउँदे आगन्तुक चरा  आउँछन् ।

दाङमा पाइने चरा र आगन्तुक चराको बारेमा अध्ययन गर्दै आएका लालमणि रेग्मीकाअनुसार, कृत्रिम जलाशय, सीमसारसँगै बबई नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिती लोभ लाग्दो छ ।

नेपालमा चीन, पूर्वी युरोप, मङ्गोलिया, रुस, साइबेरिया तथा कोरियालगायतका ठाउँबाट  चिसो छल्न चराहरु नेपाल आउने गरेका छन् । तीमध्ये धेरै जसो चरा दाङका जलाशयमा भेटिन्छन् ।

चराहरु  असोज कात्तिकमा आईपुग्ने र बढीमा ६ महिनासम्म बस्ने गर्दछन् ।  अर्का चरा विज्ञ चिरन्जिवी खनालले दाङमा कृत्रिम रुपमा बनाइएको जलाशयका कारण स्थानीय र बसाइ सरेर आउने चरालाई सजिलो भएको बताए ।

नेपाल पञ्छीविद् सङ्घकाअनुसार गत वर्ष गरिएको जलपञ्छी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अर्न्तगत ८४ वटा साना क्षेत्रमा ७९ प्रजातीका ६३ हजार ९ सय जलपञ्छी  छन् ।

जानकारहरुका अनुसार संसारमा चराका १० हजार प्रजाति छन् भने त्यसको झण्डै ९ प्रतिशत नेपालमा पाइन्छन् ।

ती चराहरूको संरक्षण गरेर बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भए पनि नेपालमा जलपन्छीहरूको गणनाबाहेक अरु काम हुननसकेको विज्ञहरु बताउछन् ।

 

सामुदायिक सूचना नेटवर्क (सीआईएन)

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस