पोखरा । पर्यटकीय राजधानी पोखरालाई पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न तीन दिन मात्र बाँकी छ । तर महानगरका जनप्रतिनिधिहरुको अदुरदर्शी नेतृत्वकाकारण यति बेला पोखराका घर, चोक, गल्लीहरुमा फोहोरको थुप्रो देखिएका छन् ।
६ महिनाको लागि भन्दै पोखरा बाच्छेबुडुवाबाट लामेआहालमा सारिएको ल्याण्डफिल साइट साढे दुई वर्षदेखि उतै छ । मेयर धनराज आचार्यले ‘टिकट काटेर हेर्न लायक गन्तव्य’ बनाउने भनेका फोहोर प्रशोधन केन्द्र अहिलेसम्म निर्माण भएको छैन ।
लामे आहालमा फोहोर फाल्ने दोस्रो सम्झौता माघ २३ देखि सकिएको छ । दोश्रो पटक गरिएको सम्झौता सकिंदा पनि पोखरा महानगरले ल्याण्डफिल साइट अन्यत्र सार्ने तर्फ ध्यान नदिए पछि लामे आहालमा फोहोर फाल्न स्थानीय बासिन्दाहरुले रोकिदिएका छन् । त्यसैले विगत पांच दिनदेखि पोखराका सडक, गल्ली, घर–चोकमा फोहोरका थुप्रोहरू थुप्रिएका छन् ।
पोखरा ३३ पुँडीटारको झाँक्रीखोलामा प्रशोधन केन्द्र निर्माण गर्ने गरी महानगरले तयारी थालेको थियो । तर स्थानीय जग्गाधनीले मालपोत र चलनचल्तीको भाउ भन्दा बढी मूल्य गरेपछि महानगर पछि हटेको पोखरा महानगर पालिकाका प्रवक्ता कृष्ण प्रसाद तिवारीले जानकारी दिए । त्यहाँका १७ जना जग्गाधनीको ९३ रोपनी जग्गा अधिग्रहणको लागि रोक्का राखिएको छ ।
भाउ नमिलेपछि अधिग्रहण हुन नसकेको हो । २०८० मंसिर १७ गते बसेको सार्वजनिक निजी साझेदारी समितिको बैठकबाट टेरासल्व रिन्यूयवललाई प्रशोधन केन्द्र सञ्चालन गर्ने गरी छनोट गरिएको थियो । २ वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि उद्घाटन अघि बाच्छेबुडुवाको ल्याण्डफिल साइट लामे आहाल सारिएको हो ।
पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उत्सर्जन हुन्छ । ती फोहोर ल्याण्डफिल साइट पुर्याउन ८ वटा कम्पनीलाई जिम्मा दिइएको छ । उनीहरूले दैनिक तालिका बनाएर फोहोर संकलन गर्छन् । उनीहरूलाई ३ वर्षको २ करोड ४८ लाख रुपैयाँ लिने गरी ठेक्का दिइएको हो ।