चीनमा पहिरोमा परी कम्तीमा ३० जना बेपत्ता, २ सय विस्थापित

२६ माघ २०८१ (५ महिना अघि)

छेन्दु । चीनको सिचुआन प्रान्तमा शनिबारको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । पहिरोस्थलबाट करिब २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

यिबिन सहरको जुनलियन काउन्टीस्थित जिनपिङ गाउँमा बिहान ११ः५० बजे पहिरो खसेको स्थानीय अधिकारीले बताएका छन् । चिनियाँ समाचार संस्था सीसीटीभीले स्थानीय अधिकारीलाई उद्धृत गरी लेखेको छ, “पहिरोले करिब १० घर पुरेको छ भने ३० जनाभन्दा बढी हराइरहेका छन् । पहिरोको जोखिम रहेको पहिरो वरपरको क्षेत्रबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।”

घटनास्थलमा रहेका उद्धारकर्तालाई उद्धृत गर्दै सरकारी प्रसारकले भनेको छ, “समाचार तयार पार्दासम्म पहिरो अझै नरोकिएकोले पहिरो क्षेत्रमा नजान स्थानीय सर्वसाधारणलाई निर्देशन दिइएको छ ।”

चीनका राष्ट्रपति सी चिनफिङले अधिकारीहरूलाई ‘हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार, हताहत कम र त्यसपछिको स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न’ निर्देशन दिएका छन् ।

राष्ट्रिय आपत्कालीन व्यवस्थापन मन्त्रालयले एक अनलाइन पोस्टमा पहिरोबाट दुईजनाको सकुशल उद्धार गरिएको उल्लेख गरेको छ ।

अधिकारीहरूले उद्धार र राहत प्रयासलाई सहयोग गर्न तीन करोड युआन (४१ लाख अमेरिकी डलर) पनि विनियोजन गरिएको बताएका छन् । रासस /एएफपी

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस