पोखरा । पोखरा महानगरपालिकाले कोटिहोमका लागि भन्दै अवैध तरीकाले महानगर क्षेत्रमा काटिएको बरपिपलका दाउरा जफत गरेको छ । लेकसाइडस्थित रत्नमन्दिर परिसरमा थुपारिएको दाउरा बुधबार महानगरले जफत गरेको हो ।
मेयर धनराज आचार्यका अनुसार ५० ट्रकभन्दा बढी दाउरा महानगरे जफत गरेको छ । मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न ठाउँबाट चौतारा र रुख ढालेर र दाउरा जम्मा पारेको हो ।
यता मानव सेवा फाउन्डेशनले आगामी चैत १७ गते देखि ४५ दिन लामो कोटिहोम लगाउने भन्दै पोखरा महानगर क्षेत्रभित्रका ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण ठानिएका बरपिपलका अवैध तरीकाले काटे पछि पोखरामा तरंग उत्पन्न भएको छ।
पोखराका स्थानीय बासिन्दा, सामाजिक अभियन्ता एबम वातावरणविद, र धार्मिक व्यक्तित्वहरु सबै पोखरा महानगरपालिकाको क्षेत्र भित्र पर्ने ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण बरपिपल काट्ने जो कोहि भए पनि कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्नेमा एक मत देखिएका छन्। तर धार्मिक संघ–संस्थामा आवद्ध व्यक्तिहरुले कोटिहोम लगाउदा पोखरामा धार्मिक पर्यटक बढ्ने र यहाँको पर्यटनका बारेमा ब्यापक प्रचार – प्रसार हुने भएकाले प्रक्रिया पुर्याएर भए पनि मानव सेवा फाउन्डेशन वा अन्य जो कोही संघ – संस्थालाई पोखरामा कोटीहोम गर्न दिनुपर्नेमा उभिएका छन्।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा कोटीहोम गर्न कोहि कसैले महानगरबाट स्वीकृति नलिएको जानकारी दिंदै स्वीकृत नलेइको अवस्थामा कोटीहोम गर्न नदिने स्पस्ट पारेका छन्। उनले अनधिकृत रुप्मना बरपिपलका रुख काट्नेलाई कानूनको दायरामा ल्याइने बताए।
पोखरा महानगरपालिकाको महानगरीय प्रहरी बलका प्रमुख प्रहरी निरिक्षक पुरुषोत्तम थापाले मानव सेवा फाउन्डेशनले महानगरसंग स्वीकृति नलिई पोखरा १४, १३ र ६ मा बरपिपलका रुख काटेर थुपारेकाले जफत गरिएको जानकारी दिए।