काठमाडाैँ । बाघ संरक्षणमा निरन्तर जुटिरहेको वर्ल्ड वाइल्डलाइफ फण्ड (डब्लुडब्लुएफ) का नेपाल प्रमुख डा. घनश्याम गुरुङले अन्तर्राष्ट्रिय समुदायलाई बाघ उपहार दिएर ‘बाघ डिप्लोमेसी’ कायम गर्न सकिने बताएका छन्। एबीसी न्यूज अष्ट्रेलियासँगको कुराकानीमा उनले उक्त विचारको समर्थन गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि दिएको अभिव्यक्तिको समर्थन गर्दै डा. गुरुङले नेपालले चीनलाई गैँडा उपहार दिएको कूटनीतिको स्मरण गरे। बाघको संख्या दोब्बरभन्दा बढीले बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्धका रूपमा बाघ उपहार दिएर ‘बाघ डिप्लोमेसी’ गर्न सकिने विचार व्यक्त गरेका थिए।
पछिल्लो समय बाघको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ, जसको प्रमुख कारण जलवायु परिवर्तन रहेको डा. गुरुङको भनाइ छ। पानीका मुहानहरू सुक्नु र घाँसे मैदानको कमीका कारण बाघको मानवीय आक्रमण बढेको उनले बताए। घाँसे मैदानको कमीका कारण बाघको आहारा मानव बस्ती नजिक पुग्दा मानवमाथि बाघको आक्रमण बढ्ने गरेको उनले उल्लेख गरे।
नेपाल प्रहरी र नेपाली सेनाको प्रयासले वन्यजन्तुसम्बन्धी अपराध पछिल्लो समय नियन्त्रणमा रहेको बताउँदै उनले उक्त प्रयासको तारिफ गरे। वन्यजन्तु तस्करीका लागि ट्रान्जिटका रूपमा प्रयोग हुँदै आएको नेपाल, सो गतिविधि नियन्त्रणमा आएको उनको भनाइ छ। वन्यजन्तु संरक्षणमा सरकार, समुदाय, गैरसरकारी संस्थालगायतको भूमिका उल्लेखनीय रहेको भन्दै उनले प्रशंसा गरे।