अमेरिकाको राष्ट्रपतिमा पदभार ग्रहण गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्प जलवायुसम्बन्धी पेरिस सम्झौता २०१५ को विरुद्धमा खनिए । अमेरिका उक्त सम्झौताबाट अलग्गिएको घोषणा गर्दै अगामी दिनमा अमेरिकाले पेट्रोलियम पदार्थको उत्खनन् व्यापक रुपमा बढाउने पनि घोषणा गरे । बाइडेन प्रशासनकालमा भएको विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति उल्टाउँदै अमेरिका पेरिस जलवायु सम्झौताबाट दोस्रो पटक बाहिरियो ।
जलवायु परिवर्तनको प्रभाव अमेरिकाबाहेकका राष्ट्रलाई मात्र परेको भने होइन । यतिबेला एरिजोना राज्यमा विगत १ सय ५४ दिन देखि लगातारको खडेरी पर्यो, जुन एरिजोनाको इतिहासमा दोस्रो लामो खडेरी हो । पछिल्लो पटक २२ अगस्टमा मापन योग्य वर्ष भएपश्चात शनिबारसम्म वर्षा नभएको हो । एरिजोनामा आइतबार वर्षा हुने सम्भावना रहेको र वर्षा नभएमा सन् १९७२ मा कायम भएको १ सय ६० दिने खडेरीको रेकर्ड तोडिने छ ।
जलवायु संकटले एरिजोनालाई सुख्खा र तातो बनाउँदै लगेको छ । लामो समयसम्मको खडेरीले डढेलोलगायतका जोखिमको सम्भावना बढाउँछ ।
एरिजोनामा पछिल्लो समय दर्जनौँ रेकर्डहरु तोडिएका छन् । १ सय १३ दिनसम्म लगातार ३७ डिग्री सेल्सियसको तापक्रम र गर्मीका कारण एरिजोनाको फिनिक्समा मृत्युदर पनि बढेको छ । जीवाश्म इन्धनको दहनले पनि गर्मीका कारण हुने मृत्युदर विगतका दशकमा तिव्र रुपमा बढेको छ । गत वर्ष मारिकोपा काउन्टिको मेडिकल परीक्षक कार्यालयले ६ सय ५७ शंकास्पद गर्मीजन्य मृत्युलाई अनुसन्धान गर्दा सन् २०१४ को तुलनामा दश गुणा बढेको पाइएको छ ।
मौसमविद् क्याथरिन बेरिसलाभिचले एरिजोनाको फिनिक्स मरुभूमि क्षेत्र भएकाले छिटो वर्षा नहुनु स्वभाविक भएपनि यस समयको खडेरी अस्वभाविक भएको बताइन् ।
अमेरिकाको सबैभन्दा गर्मी शहर फिनिक्सको अवस्था अझ विकराल भइरहेकाे छ । ह्वाइटहाउसमा फर्किएको पहिलो हप्तामा राष्ट्रपति ट्रम्पले जलवायु संकटलाई थप टेवा पुग्ने गरी कदमहरु चालेका छन् । जीवाश्म इन्धन उद्योगलाई प्रवद्र्न गर्न हौसिएका राष्ट्रपति ट्रम्पले एरिजोनाले भोगेको जलवायु परिवर्तनको सुरुवाती अवस्थालाई झन् विकराल बनाउन सक्ने निश्चित छ ।
सन्दर्भ सामाग्री : द गार्जियन
साैगात मिश्र, सञ्चार र जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान तथा पत्रकारितामा संलग्न छन् ।