अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट बाहिरिने निर्णय गरेपछि अन्य राष्ट्रका नेता, वरिष्ठ मन्त्रीहरू र जलवायु कूटनीतिका जिम्मेवार व्यक्तित्वहरूले एकपछि अर्को प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।
पेरिस सम्झौताले आह्वान गरेअनुसार तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्न सकिने सम्भावनालाई अमेरिकी राष्ट्रपति ट्रम्पको कदमले धक्का दिएको छ ।तापक्रमलाई लक्षित वर्ष वा दशकहरूमा नापिने भएका कारण कार्बन उत्सर्जनलाई अबको समयमा कडा रूपमा कटौती गर्दा पनि सन्तुलनमा राख्न सकिने विज्ञहरूकाे भनाइ छ ।
विश्वकाे कुल हिस्सा मध्ये १४% कार्बन उत्सर्जन गर्ने अमेरिका पेरिस सम्झौताबाट बाहिरिएकाे मात्र छैन, राष्ट्रपति ट्रम्पद्वारा जीवाश्म इन्धनको प्रयोग कम गर्न लागू गरिएका धेरै प्रयास र प्रोत्साहनहरू खारेज भएका छन् । उनले ठूला तेल उद्योगलाई निरन्तर समर्थन गर्दै पेट्रोलियम पदार्थ उत्खनन् गर्ने आफ्नो उद्देश्य प्रष्ट ब्यक्त गरेका छन् । याे निर्णयसँगै सन् २०३० सम्ममा पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालको कार्बन उत्सर्जन ५० देखि ५२ प्रतिशत घटाउने निर्णयमा प्रत्यक्ष असर परेको छ ।
इनर्जी ट्रान्जिसन्स कमिसन थिंक ट्याङ्कका अध्यक्ष एडायर टर्नरका अनुसार ट्रम्पको कार्यहरूले विश्वको तापक्रममा करिब ३ डिग्री सेल्सियस थप हुन सक्छ र अन्य देशहरूलाई पनि कार्बन कटौती गर्ने सम्झौताबाट अलग्गिने माैका मिल्न सक्छ । ट्रम्पले आफ्नो अघिल्लो राष्ट्रपतिकालमा पनि सम्झौताबाट बाहिरिने प्रक्रिया सुरु गरेका थिए, यद्यपि यस कदम उनको कार्यकालको अन्त्यमा मात्र आएको थियो । त्यसअघि, जर्ज डब्ल्यू बुसको राष्ट्रपतिकालमा पनि अन्तर्राष्ट्रिय जलवायु कार्यान्वयन सम्झौताहरू वर्षौंसम्म रोकिएका थिए ।
२०१५ को पेरिस सम्झौतालाई अस्वीकार गर्ने लिबिया, इरान र यमन जस्ता थोरै राष्ट्रहरूमा अब अमेरिका पनि सामेल भएको छ । त्यसैले, जलवायु कोषमा १०.६ अर्ब डलर (४०% हिस्सा) सहयोग गर्दै आएको अमेरिकाको कदमप्रति विश्वले कसरी प्रतिक्रिया दिएको छ र यसले विश्वव्यापी जलवायु कूटनीतिलाई कस्ताे अर्थ दिन्छ भन्ने धेरैको चासोको विषय बनेको छ ।
युरोपेली संघ
युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लेयनले स्विजरल्याण्डको दावोसमा आयोजित विश्व आर्थिक मञ्चमा दिएको अभिव्यक्तिमा पेरिस सम्झौता सम्पूर्ण मानव जगतको लागि सबैभन्दा ठूलो आशा रहेको बताइन् । युरोप आफ्नो बाटोमा अडिग रहने तथा प्रकृतिको संरक्षण गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न चाहने सबै राष्ट्रहरूसँग सहकार्य गर्ने पनि उनको प्रतिवद्धता रहेको छ ।
युरोपेली संघका जलवायु आयुक्त वोप्के होएक्स्ट्राले सामाजिक सञ्जालमा ट्रम्पको निर्णयलाई वास्तवमै दुर्भाग्यपूर्ण रहेको बताएका छन् । ट्रम्पको प्रतिकृयाले दिएको झट्काको बाबजुद जलवायु परिवर्तनको गम्भीर समस्या विरुद्ध लड्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । पेरिस सम्झौता बलियो आधार भएको र यो सम्झौता कायम रहने पनि उनको भनाइ छ ।
बेलायत
बेलायतका ऊर्जा, सुरक्षा र नेट जीरो सचिव एड मिलिब्यान्डले मंगलबार 'हाउस अफ लर्डस्' काे एक समितिलाई ट्रम्पसँग साझा आधार खोज्ने प्रयास गर्ने र जलवायु संकटलाई सम्बोधन गर्नु अझै पनि अमेरिकाको राष्ट्रिय स्वार्थमा पर्नु पर्ने बताए । बेलायत पेरिस सम्झौताकाे बलियो समर्थक भएको पनि उनको भनाइ छ ।
क्यानडा
क्यानडाका वातावरण तथा जलवायु परिवर्तनमन्त्री स्टेभन गिलबोल्टले अमेरिकी राष्ट्रपतिले पेरिस सम्झौताबाट बाहिरिन लिएको निर्णय निन्दनीय भएको बताएका छन् । दुर्भाग्यवश यो पहिलो पटक नभएको पनि उनले बताए । पेरिस सम्झौता एउटा देशभन्दा ठूलो भएको भन्दै १ सय ४ देशहरूको संयुक्त प्रयास भएको पनि स्मरण गराए । अमेरिकाको अनुपस्थितिमा पनि अन्य राष्ट्रहरुले जलवायु परिवर्तनविरुद्धको लडाइँ जारी राख्ने उनको भनाइ छ । अमेरिकाको संघीय सरकारले जलवायु परिवर्तनसँग लड्न चासो नराखे पनि अन्य अमेरिकी राज्य र निजी क्षेत्रबाट धेरै समर्थन देखिरहेको बताए । क्यालिफोर्निया आफ्नो इतिहासकै सबैभन्दा खराब आगलागीबाट गुज्रिरहेको अवस्थामा राष्ट्रपतिको यस कदम विडम्बनापूर्ण रहेको उनको भनाइ छ ।
अफ्रिकी वार्ताकारहरूको समूह
जलवायु परिवर्तन समूहले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको कदम तापक्रम वृद्धिलाई नियन्त्रण गर्न र जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू रोक्नका लागि गरिएको विश्वव्यापी प्रयासहरूमा प्रत्यक्ष खतरा भएको बताए । विशेष गरी विश्वका सबैभन्दा जोखिममा रहेका देशहरूका लागि यस कदम अझ बढि खतरा भएको उनीहरुको ठहर छ । विश्वका ठूला कार्बन उत्सर्जकमध्ये एक अमेरिका जलवायु परिवर्तन विरुद्धका कार्यमा नेतृत्व गर्ने ऐतिहासिक जिम्मेवारी बोकेको राष्ट्र भएको बताउँदै अमेरिकाले लामो संघर्षबाट प्राप्त प्रगतिलाई कमजोर बनाएको पनि समूहको ठहर छ । अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई जाेखिमयुक्त सन्देश पठाएको पनि विज्ञप्ति उल्लेख गरिको छ ।
कम विकसित देशहरूको समूहका अध्यक्ष इभान्स न्जेवा
मालावीका इभान्स न्जेवाले सामाजिक सञ्जाल एक्समा पेरिस सम्झौताबाट बाहिरिने अमेरिकी कदमप्रति गहिरो खेद व्यक्त गरेका छन् । यस कदमले कार्बन उत्सर्जन घटाउने क्षेत्रमा कठिन रुपमा हासिल भएका सफलता उल्ट्याउने जोखिम पैदा गरेको र जोखिमपूर्ण देशहरूलाई अझ ठूलो खतरा पुर्याउने ठहर गरेका छन् । पेरिस सम्झौता एक महत्त्वपूर्ण जलवायु सम्झौता भएको भन्दै यस सम्झौतालाई हाम्रो ग्रह र भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्ने पनि उनको धारणा छ ।
चीन
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले एक पत्रकार सम्मेलनमा जलवायु परिवर्तन सम्पूर्ण मानवजातिले सामना गरिरहेको साझा चुनौती रहेको बताए । कुनै पनि देश यसबाट अछुतो रहन नसक्ने बताउँदै यो समस्यालाई एक्लै समाधान गर्न नसकिने जिकिर गरे । सबै पक्षसँग सहकार्य गरी जलवायु परिवर्तनका चुनौतीहरूलाई चीनले सक्रिय रूपमा सम्बोधन गर्ने पनि उनको भनाइ छ ।
सन्दर्भ सामाग्री : द गार्जियन
साैगात मिश्र, सञ्चार र जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान तथा पत्रकारितामा संलग्न छन् ।