जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु, लतारिएको अवस्थामा शव फेला

बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने आशंका
१० माघ २०८१ (५ महिना अघि)

बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामूदायिक वनमा जंगली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । राप्तीसोनारी गाउँपालिका ८ की ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।

बुधबार सोही वडामा रहेको भवती सामूदायिक वनमा दाउरा काट्न गएकी चेतीलाई बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने आशंका गरिएको भगवती सामूदायिक वनका अध्यक्ष टिकाराम वलीले जानकारी दिए । उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गरिएको छ ।

वलीका अनुसार जंगलमा बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायोहरु भने देखिने गरेको थियो । उनले भने,‘स्थानीयबासीहरु निकुन्जमा भएका जनावरहरुले दुःख दिने गरेको गुनासो आइरहेको थियो । जनावरहरु निकुन्जमा मात्र बस्छन भन्ने छैन् , हाम्रो बनमा पनि आएको हुनसक्छ । बाघ वा चितुवाले उहाँलाई आक्रमण गरेको हुनसक्छ ।’

यसअघि पनि गाउँलेका १० वटाजति बाख्रा मारेको र मानवीय क्षति नभएको उनले बताए । उनले वन क्षेत्रमा हाल क्यामेरा जडान गरिएको जानकारी दिए । ‘वन क्षेत्रमा बाघ त देखिएको थाहा भएन तर निकुन्जमा बाघको संख्या बढेको पाइन्छ, उनले भने । महेन्द्र राजमार्ग देखि एक किलोमिटर पुर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो ।

अध्यक्ष ओलीका अनुसार वन्यजन्तुका लागि पानी पोखरी निर्माण गरिएको छ । उक्त पोखरीमा नजिकै रहेको निकुञ्ज र सामूदायिक वनका वन्यजन्तुहरु पानी पिउन आउन गर्दछन् ।

पोखरी निर्माण गरेदेखि चितुवा, चित्तल, जरायो लगाएत विभिन्न प्रजातिका वन्यजन्तुहरु सामूदायिक वनमा देखिन थालेको उनले बताए । उक्त वन नजिकै बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्दछ ।

घटना स्थलमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा तैनाथ नेपाली सेना, शम्शेर डिभिजन वन कार्यालय बाँके, ईलाका प्रहरी कोहलपुर बाँके र स्थानीयहरुको सामूहिक उपस्थितिमा घट्नाको अध्ययन गर्ने र मुचुल्का तयार गर्ने काम गरिएको छ । साथै फरेन्सिक जाँचको तयारी पनि भइरहेको छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस