मुगु । माघ, फाल्गुनको सुख्खा समयमा मुगुमा आगलागी लगायत विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि विशेष कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ ।
सुख्खा मौसममा आगलागीका घटना बढ्ने र पूर्वतयारी कमजोर हुँदा ठूलो जनधन र पशुचौपायको क्षति हुने जोखिमलाई ध्यानमा राखी यस्तो अभ्यास गरिएको हो ।
कार्यक्रममा घरभित्र आगलागी भएमा नियन्त्रण गर्ने विधि, वनजंगलमा फैलिएको आगो निभाउने उपाय, खाना पकाउने ग्याँस चुहावट हुँदा सम्भावित दुर्घटनाबाट बच्न सकिने उपायका बारेमा जानकारी गराइएको थियो ।
त्यस्तै कुनै व्यक्तिको शरीरमा आगो सल्किएमा तत्काल अपनाउनुपर्ने उपायका साथै अग्नि नियन्त्रण उपकरणहरूको सही प्रयोग सम्बन्धीको जानकारी र अभ्याससमेत गरीएको हनुमानध्यज गुल्मका गुल्मपति बसन्त नाथ योगीले बताए ।
जिल्ला विपद् प्रतिकार्य समितिको समन्वय, नेपाली सेनाको नेतृत्व, नेपाल प्रहरीको सहकार्य, सशस्त्र प्रहरी, नगर प्रहरी, नेपाल रेडक्रस, नेपाल पत्रकार महासंघको सहभागिता रहेको थियो । यस अभ्यास मार्फत विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा आवश्यक चेतना फैलाउने प्रयास गरिएको थियो ।
समिक्षा कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रसाद पाण्डेका अनुसार आगलागी नियन्त्रण तथा यसबाट हुने मानविय, जनधन ,पशुचौपाय, वनजंगल आगलागीबाट जोगाउनको लागि निकै सन्देश मुलक अभ्यास रहेको छ ।
आगलागीका घटनाहरूको उच्च जोखिम रहेको मुुगुको सदरमुकाम गमगढी बजार र जिल्लामा रहेका सबै क्षेत्रमा यस्ता अभ्यास गरी जनचेतना दिँदा दीर्घकालीन प्रभाव हुने विश्वास लिइएको छ । यस अभ्यासमा पाएको शिक्षामा सहभागीहरुले सिकेका कुराहरु यस्ता आगलागीका घटना भएको क्षेत्रमा प्रयोग र शिक्षा दिन समेत अनुरोध गरेका छन् ।
बिगतदेखी गमगढी बजारमा र अन्य गाँउ बस्तीहरुमा रहेका साँघुरो बाक्लो बस्तीका कारण आगलागीका बढी घटना हुने भएकोले आगलागी सम्बन्धि जनचेतना टोल टोलमा दिन आवश्यक रहेको छ ।