बेलेमबाट विश्वलाई सन्देश : 'अब ढिलाइ होइन, जलवायु कदम चाहियो'

‘बेलेम आह्वान’ शीर्षकको घोषणापत्रमार्फत ब्राजिलले विश्व समुदायलाई जलवायु परिवर्तनविरुद्ध तत्काल र ठोस कदम चाल्न आग्रह गरेको छ ।
२३ कात्तिक २०८२ (५ घण्टा अघि)

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३०) को पूर्वसन्ध्यामा ब्राजिलको अमेजन क्षेत्रको मुटु बेलेम शहरमा विश्व नेताहरू पुनः भेला भएका छन् । सन् १९९२ मा रियो डी जेनेरियोमा भएको ऐतिहासिक अर्थ–समिटको तीन दशकपछि ब्राजिलमै भएको यो जमघटले जलवायु संकटविरुद्धको विश्व प्रतिबद्धतालाई नयाँ ऊर्जा दिएको छ । ‘बेलेम आह्वान’ शीर्षकको घोषणापत्रमार्फत ब्राजिलले विश्व समुदायलाई जलवायु परिवर्तनविरुद्ध तत्काल र ठोस कदम चाल्न आग्रह गरेको छ ।

घोषणा पत्रमा भनिएको छ कि जलवायु परिवर्तन अब भविष्यको खतरा होइन, यो वर्तमानको त्रासदी हो । साना द्वीप राष्ट्रदेखि एसिया, अफ्रिका र अमेरिकासम्म बाढी, खडेरी, आगलागी र आँधीबेहरीले मानवीय संकट निम्त्याइरहेको र यसको सबैभन्दा ठूलो मार गरीब र संवेदनशील जनतामाथि परेको उल्लेख गरिएको छ । घोषणा पत्रले जलवायु संकटका कारण बढ्दै गएको असमानता, गरिबी र अन्यायलाई सम्बोधन नगरी कुनै पनि समाधान सम्भव नहुने चेतावनी दिएको छ ।

ब्राजिलले प्रस्तुत गरेको ‘बेलेम आह्वान’ले विश्वलाई जलवायु कार्यान्वयनका तीन प्रमुख खाडल - महत्त्वाकांक्षा, कार्यान्वयन र सहयोग, पूरा गर्न आह्वान गरेको छ । घोषणाले सबै राष्ट्रहरूलाई १.५ डिग्री सेल्सियसको लक्ष्यअनुसार उत्सर्जन घटाउने नयाँ र महत्त्वाकांक्षी राष्ट्रिय प्रतिबद्धता (एनडीसी) पेश गर्न आग्रह गरेको छ । साथै, विकासशील देशहरूलाई सहयोगका लागि वार्षिक कम्तीमा १.३ ट्रिलियन अमेरिकी डलरको जलवायु वित्त उपलब्ध गराउने ‘बाकु–बेलेम रोडम्याप २०३५’ लागू गर्न, ऋण–विनिमय संयन्त्रमार्फत जलवायु कार्यलाई सहज बनाउने र अनुकूलन कोष तीनगुणा बढाउने प्रस्ताव गरिएको छ ।

घोषणाले जीवाश्म इन्धनबाट क्रमशः निर्कृय संक्रमण गरी सन् २०५० सम्म शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको छ । यससँगै २०३० सम्म नवीकरणीय ऊर्जाको उत्पादन दोब्बर, ऊर्जा दक्षता तेब्बर र २०३५ सम्म सस्टेनेबल इन्धनको प्रयोग चौगुणा बनाउने प्रतिबद्धता जनाइएको छ । अमेजन क्षेत्रको संरक्षण, वन पुनस्र्थापना, समुद्री स्रोत व्यवस्थापन र दिगो ऊर्जा विस्तारका लागि पनि ठोस कार्य योजना अघि सारिएको छ ।

बेलेम आह्वानले जलवायु न्याय र मानव–केन्द्रित दृष्टिकोणमा जोड दिएको छ । घोषणा पत्रमा भनिएको छ, “गरिबी, भोकमरी र असमानता अन्त्यबिना जलवायु परिवर्तनविरुद्धको लडाइँ जित्न सकिँदैन ।” आदिवासी, स्थानीय समुदाय र अफ्रिकी मूलका जनसमुदायलाई जलवायु नीति निर्माणको केन्द्रमा राख्नुपर्नेमा जोड दिइएको छ ।

तीन दशकअघि रियोले सुरु गरेको सहकार्य र मानवताको भावना पुनः जागृत गर्दै बेलेम घोषणाले नयाँ दशकलाई कार्यान्वयन र परिणामको दशकका रूपमा अघि बढाउने आह्वान गरेको छ। “हामी सबैले अब ढिलाइको अभ्यास गर्न सक्दैनौं,” घोषणामा भनिएको छ, “सहकार्य र साझा जिम्मेवारीमै पृथ्वीको भविष्य सुरक्षित छ ।”

अन्तिम अध्यावधिक: २३ कात्तिक २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस