हावाहुरीले सर्लाहीमा मकै र गहुँबालीमा ठुलो क्षति, किसान चिन्तित

हावाहुरीले सर्लाहीमा मकै र गहुँबालीमा ठुलो क्षति, किसान चिन्तित
२०८२ चैत्र ३, मंगलबार (१ मिनेट अघि)

सर्लाही । सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ । जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष्ट हुँदा किसानहरू मारमा परेका हुन् ।

जिल्लाको चन्द्रनगर गाउँपालिकाका किसान राम ध्यान ठाकुरले आफ्नो करिब दुई कठ्ठा जमिनमा लगाएको मकै पूर्ण रूपमा नष्ट भएको बताए । हावाहुरीले बोटै ढालिदिएपछि उत्पादनको सबै आशा समाप्त भएको उनको भनाइ छ ।

त्यस्तै, अर्का किसान रामपुकार महतोको करिब सात कठ्ठामा लगाइएको मकैमध्ये अधिकांश बालीमा क्षति पुगेको छ । ‘हावाहुरीले बाली नै ढालिदियो, अब अपेक्षित उत्पादन नहुने देखिन्छ,’ उनले दुःख व्यक्त गरे ।

चन्द्रनगर मात्र नभई जिल्लाका गोडैता, ईश्वरपुर, ब्रह्मपुरी, हरिपुरलगायत विभिन्न क्षेत्रमा सयौं बिघा जमिनमा लगाइएको मकै र गहुँ बालीमा क्षति पुगेको स्थानीयले जनाएका छन् । राम्रोसँग हुर्किरहेको बाली एक्कासि ढलेपछि किसानहरू चिन्तित बनेका छन् ।

अन्तिम अध्यावधिक: March 17, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस