पर्यटकीय गन्तव्य बन्दै गएको नेपालगन्ज वाटरपार्कमा वृहत् सरसफाइ, १०४ किलोभन्दा बढी फोहोर संकलन

पर्यटकीय गन्तव्य बन्दै गएको नेपालगन्ज वाटरपार्कमा वृहत् सरसफाइ, १०४ किलोभन्दा बढी फोहोर संकलन
२०८२ फागुन १९, मंगलबार (४ महिना अघि)

रुपशिला थापा, बाँके । नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको नेपालगन्ज वाटरपार्कमा स्थानीय युवाहरूले वृहत् सरसफाइ अभियान सञ्चालन गरेका छन् । लामो समयदेखि उचित सरसफाइको अभावमा रहेको उक्त क्षेत्रमा गरिएको अभियानका क्रममा एक सय चार किलो फोहोर संकलन गरिएको हो ।

बास नेपालको आयोजनामा सम्पन्न उक्त सरसफाइ कार्यक्रम द कोकाकोला फाउण्डेशनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल)द्वारा सञ्चालित ‘हरित नेपालगञ्ज सामुदायिक फोहोर रूपान्तरण आयोजना’ अन्तर्गत शनिबार सम्पन्न गरिएको हो ।

बास नेपालका तालिमप्राप्त २० जना स्वयंसेवक, कार्यसमिति सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं १का सरसफाइकर्मीहरूको संयुक्त सहभागितामा सञ्चालन गरिएको कार्यक्रममा वाटरपार्कको आधा क्षेत्र सरसफाइ गरिएको थियो । अत्यधिक फोहोरका कारण एकैपटक सम्पूर्ण क्षेत्र सफा गर्न कठिन भएको जनाउँदै बाँकी भाग अर्को दिन सरसफाइ गरिने परियोजना संयोजक मन भण्डारीले जानकारी दिए ।

संकलित फोहोरमध्ये ४५ किलो प्लास्टिक, २५ दशमलव ३५ किलो काँच, ६ दशमलव ४७ किलो प्लास्टिकका बोतल तथा २८ दशमलव १६ किलो विविध मिश्रित फोहोर रहेका छन् । संकलन गरिएका फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी पुनःप्रयोग गर्न सकिने र नसकिने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ ।

संकलित फोहोर वडाको समन्वयमा सुरक्षित व्यवस्थापनका लागि फोहोर विसर्जन स्थलमा लगिएको छ । कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले फोहोरको सही वर्गीकरण तथा व्यवस्थापनका उपायबारे जानकारी दिनुभएको थियो। परियोजना संयोजक मन भण्डारीले सहभागीहरूलाई स्वागत गर्दै फोहोर व्यवस्थापनलाई दिगो र निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

पर्यटकीय सम्भावना बोकेको नेपालगन्ज वाटरपार्कलाई स्वच्छ, आकर्षक र व्यवस्थित राख्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको सहभागीहरूले बताएका छन् ।

अन्तिम अध्यावधिक: March 3, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस