आज पनि देशका केही ठाउँमा हावाहुरीको सम्भावना, सावधानी अप्नाउन आग्रह

आज पनि देशका केही ठाउँमा हावाहुरीको सम्भावना, सावधानी अप्नाउन आग्रह
२०८२ चैत्र ३, मंगलबार (१४ घण्टा अघि)

आज देशका केही ठाउँमा दिउँसोपछि हावाहुरीको सम्भावना रहेको छ । प्रि–मनसुनको योबेला दिउँसोपछि हावाहुरी तथा मेघगर्जन र चट्याङ्ग पर्ने भएकाले चनाखो हुन मौसमविद्को आग्रह छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीको क्षतिबाट बच्न घरको संरचना बलियो बनाउनुपर्छ । हावाहुरी चलेको बेला घरबाहिर निस्कन हुँदैन । झ्यालढोका बन्द गरेर घरभित्रै सुरक्षित बस्नुपर्छ । यात्रा गर्दा, गाडी, मोटरसाइकल, साइकल चलाइरहेको बेला हावाहुरी चलेमा सुरक्षित ठाउँमा बस्नुपर्छ । हावाहुरी चल्दा रुख वरपर र कमजोर भौतिक संरचना भएको ठाउँमा नबस्न पनि विज्ञले आग्रह गर्दै आएका छन् ।

हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोपछि हुरीबतास, चट्याङ्ग र असिनासहितको वर्षा भएको थियो । हुरीबतासले केही ठाउँमा घरका छाना उडाउनुका साथै रुखहरु ढलेर जनधनको क्षति समेत भएको छ । उदयपुरको कटारीमा हावाहुरीका कारण हिजो २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

अहिलेको सिजनमा बिहानपख मौसम सफा भए पनि दिउँसो र बेलुकीपख हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।

यसैबीच आज कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्ग, असिनासहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ ।

अन्तिम अध्यावधिक: March 17, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस