दिपेश पौडेल, रौतहट । प्रतिनिधि सभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा सुरक्षा निकाय र सरकारी कर्मचारीहरूको ध्यान निर्वाचन तयारीमा केन्द्रित भएको मौका छोपी रौतहटको चन्द्रपुर नगरपालिका–६, बेल्डीस्थित वन क्षेत्र ओगट्ने प्रयासलाई प्रशासनले असफल तुल्याएको छ । वन क्षेत्रभित्र रातारात निर्माण गरिएका सात वटा अवैध घर टहराहरूलाई डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले बिहीबार भत्काएर हटाएको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका अधिकांश सरकारी कर्मचारी, वन रक्षक र सुरक्षाकर्मीहरू निर्वाचन व्यवस्थापन र सुरक्षा कार्यमा खटिएका थिए । यही प्रशासनिक व्यस्तताको फाइदा उठाउँदै केही समूहले बेल्डीस्थित वनको जमिनमा रातारात छाप्राहरू निर्माण गरी बस्ती बसाल्ने प्रयास गरेका हुन् ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहका अनुसार, निर्वाचनको माहोलमा प्रशासनको निगरानी कम हुने ठानेर केही व्यक्तिहरूले वन क्षेत्रमा अनधिकृत रूपमा संरचना खडा गरेका थिए । ‘निर्वाचन कार्यमा कर्मचारीहरू खटिएको मौका छोपेर वन अतिक्रमण गर्ने नियत देखिएकाले तत्कालै एक्सन लिइएको हो,’ प्रमुख साहले बताए ।
वन अतिक्रमणको सूचना प्राप्त हुनासाथ डिभिजन वन कार्यालय रौतहटको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । उक्त टोलीमा इलाका प्रहरी कार्यालय चन्द्रपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सव–डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वन उपभोक्ता समूहका प्रतिनिधिहरू सहभागी थिए ।
संयुक्त टोलीले वनको जग्गामा बनाइएका काँचो टाँटी र बाँसका टहराहरू पूर्ण रूपमा ध्वस्त पारेको छ । वन कार्यालयका अनुसार, अतिक्रमणकारीहरूले केही संरचनामा बसोबास समेत सुरु गरिसकेका थिए भने केही ठाउँमा जग्गा ओगट्ने उद्देश्यले मात्र संरचना बनाइएको थियो ।
बेल्डी क्षेत्र वन अतिक्रमणको दृष्टिकोणले निकै संवेदनशील मानिन्छ। यसअघि पनि पटक–पटक सो क्षेत्रमा वनको जग्गा मिचेर घरहरू बनाउने प्रयास हुँदै आएका छन् । कतिपय पुराना संरचनाहरूमा मानिसहरू बसोबास गरिरहेकाले वन व्यवस्थापनमा थप चुनौती थपिएको कर्मचारीहरू बताउँछन् ।
वन संरक्षण तथा अवैध अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन अधिकृतहरूले निर्वाचनको समयमा मात्र नभई जुनसुकै बेला पनि वनको जग्गा कब्जा गर्ने प्रयास भएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।
प्रशासनले वन क्षेत्र सार्वजनिक सम्पत्ति भएको र यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै कसैको बहकाउमा लागेर वा राजनीतिक आडमा वनको जमिन अतिक्रमण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अवैध रूपमा वन क्षेत्रमा घर टहरा बनाएको पाइएमा कुनै पनि बेला डोजर चल्न सक्ने र संलग्न व्यक्तिलाई वन ऐन बमोजिम कारबाही गरिने वन कार्यालयले स्पष्ट पारेको छ ।
यहाको चन्द्रपुरका गैडाटार, जुडिबेला, बागमती, पौराई र गुजरा, बृन्दावन नगरपालिकाका विभिन्न क्षेत्रमा अतिक्रमण बढ्दो छ । पछिल्ला केही वर्ष देखि करिब ३ सय ४२ हेक्टर वन नयाँ अतिक्रमणको चपेटामा परेको छ । जिल्लामा कुल २९ हजार ४ सय ३६.३३० हेक्टर राष्ट्रिय वन क्षेत्र छ ।
















