काठमाडौँ । जलवायु परिवर्तन नियन्त्रणका प्रयास तीव्र भइरहेको बेला, संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन (कोप) का वेबसाइटहरू स्वयं नै उल्लेखनीय कार्बन उत्सर्जनको स्रोत बनेको नयाँ अध्ययनले देखाएको छ। पीलस क्लाइमेटमा प्रकाशित नयाँ अनुसन्धानले सन् १९९५ को कोप–१ देखि २०२५ को कोप–३० सम्मका आयोजक देशका वेबसाइटहरूको विश्लेषण गर्दै, ३० वर्षमा ती वेबसाइटहरुको डिजिटल कार्बन फुटप्रिन्ट अत्यन्तै बढेको निष्कर्ष निकालेको हो ।
अध्ययनका अनुसार इन्टरनेटले हाल विश्वव्यापी हरितगृह ग्यासको झण्डै १.५ देखि ३.२ प्रतिशत भाग ओगटेको छ । तर वातावरण संरक्षणका सबैभन्दा ठूलो वैश्विक सम्मेलन कोपका वेबसाइटहरूकै वातावरणीय प्रभावबारे यसअघिसम्म पर्याप्त ध्यान नदिएको शोधकर्ताहरूको भनाइ छ।
वेबसाइटको पृष्ठ आकार र उत्सर्जन ३० हजार प्रतिशतले बढ्यो
अध्ययनले देखाएको सबैभन्दा चाखलाग्दो तथ्य भनेको सन् १९९७ को कोप–३ को तुलनामा पछिल्ला वर्षहरूमा पृष्ठका आकारहरू अत्यन्तै भारी हुनु हो । सुरुका वर्षहरूमा एक पृष्ठ हेर्दा औसत ०.०१६६ ग्राम कार्बन उत्सर्जन हुने अनुमान गरिएको थियो भने, २०१९ को कोप–२५ मा यो औसत २.४१९ ग्राममा पुगेको छ । केही पृष्ठमा २९ हजार प्रतिशतसम्म उत्सर्जन वृद्धि देखिएको थियो ।
विशेष रूपमा गृहपृष्ठको उत्सर्जन झन् चकित पार्ने खालको छ । सन् १९९७ मा योजना भएको कोप–३ को वेबसाइटको गृहपृष्ठ हेर्दा करिब ०.१४ किलोग्राम कार्बन उत्पन्न हुने अनुमान गरिएको थियो भने, कोप–२९ (२०२४) मा यो ११६.८५ किलोग्राम पुगेको अनुसन्धानले देखाएको छ । यो मात्रा पाँचदेखि दश वटा परिपक्व रुखले एक वर्षमा सोस्ने कार्बन बराबर हो ।
शोधकर्ताहरूका अनुसार पछिल्ला वेबसाइटहरूमा उच्च–गुणस्तरका तस्वीर, भिडियो, जटिल स्क्रिप्ट, एम्बेडेड सामग्री र तेस्रो पक्षका प्लेटफर्मको प्रयोग अत्यन्तै बढेको छ, जसले पृष्ठ भार बढी बनाएको हो । २०१२ पछि बनेका धेरै वेबसाइटका पृष्ठहरूमा ५०–७० प्रतिशतसम्म तस्बिर र २०–५० प्रतिशतसम्म स्क्रिप्ट मात्रै रहेको पाइयो ।
नीति अभाव र विश्वासनीयताको जोखिम
अध्ययनले एउटा महत्वपूर्ण कमजोरी पनि औंल्याएको छ । कोप आयोजना गर्ने देशले पालना गर्नुपर्ने पुस्तिका तथा सम्झौतामा वेबसाइटलाई कसरी वातावरणमैत्री बनाउने भन्ने स्पष्ट दिशानिर्देश छैन । यस कारण प्रत्येक आयोजक राष्ट्रले मनलाग्दी रूपमा वेबसाइट बनाउँदा यसको उत्सर्जन नियंत्रणमा कुनै ध्यान नदिने अवस्था देखिएको छ ।
कोप–२८ (दुबई) को वेबसाइटले “लो-कार्बन मोड” भन्ने विशेषता राखे पनि त्यसले वास्तविक रूपमा उत्सर्जन घटाउन नसकेको र “एफ” ग्रेड पाएको उदाहरण अनुसन्धानले पेश गरेको छ । जुन सम्मेलनले विश्वलाई उत्सर्जन घटाउन नेतृत्व दिनुपर्ने हो, त्यसैको डिजिटल संरचनाले वातावरणमा अनावश्यक भार सिर्जना गर्नु प्रतिष्ठाका दृष्टिले पनि चुनौतीपूर्ण रहेको शोधकर्ताहरू भन्छन् ।
शोधकर्ताहरूले आगामी कोपका वेबसाइटहरूलाई वातावरणमैत्री बनाउन व्यावहारिक सुझाव पनि दिएका छन् ।
वेबसाइटको अधिकतम भार तोक्ने, उच्च–रिजोल्युसनका तस्विर तथा अनावश्यक स्क्रिप्ट घटाउने, वेबसाइटलाई नवीकरणीय ऊर्जाबाट सञ्चालित सर्भरमा होस्ट गर्ने, छोटो र सीधा नेभिगेसन बनाउने, र वेबसाइटको तल्लो भागमा कार्बन उत्सर्जन तथा अपनाइएका उपायबारे जानकारी राख्ने प्रमुख व्यावहारिक सुझाव हुन्।
उनहरूले हालै सार्वजनिक गरिएका वेव मार्गचित्र तथा अन्य वेव मापदण्ड पालना गर्न पनि सुझाव दिएका छन्। शोधकर्ताहरूका अनुसार डिजिटल संरचना आफैं जलवायु लक्ष्यविरुद्ध नजाओस् भन्ने चाहना भए वेबसाइट डिजाइनमै सुधार अनिवार्य छ। अध्ययनले जलवायु संकटसँग जुध्ने क्रममा डिजिटल क्षेत्र स्वयंलाई पनि हरित बनाउनुपर्छ भन्ने कडा संकेत दिएको छ।











