कोप-३० मा वैश्विक दवाब: ८० भन्दा बढी देश ‘जीवाश्म इन्धन फेजआउट’ रोडम्यापका पक्षमा

कोप-३० मा वैश्विक दवाब: ८० भन्दा बढी देश ‘जीवाश्म इन्धन फेजआउट’ रोडम्यापका पक्षमा
२०८२ मंसिर ३, बुधबार (२ दिन अघि)

काठमाडौँ । कोप – ३० जलवायु सम्मेलनमा सहभागी ८० भन्दा बढी देशले जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा अन्त्य गर्ने स्पष्ट र कार्यान्वयनयोग्य रोडम्याप बनाउन संयुक्त आह्वान गरेका छन् । ब्राजिलको बेलेममा चलिरहेको सम्मेलनमा अफ्रिका, एशिया, लाटिन अमेरिका, प्यासिफिक तथा यूरोपका प्रतिनिधिहरूले कोइला, तेल र ग्याँसको खपत न्यून गर्न थप योजना आवश्यक रहेको बताए । अति इन्धन निर्भर राष्ट्रको अनिच्छा हुँदाहुँदै पनि व्यापक समर्थन प्राप्त भएको यस मागलाई सम्मेलनको एक महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

मार्सल टापुकी जलवायु दूत टीना स्टेगेले सबै राष्ट्रहरूलाई जीवाश्म इन्धन अन्त्य गर्ने रोडम्यापको विचारलाई समर्थन गर्न र यसमा सहकार्य गर्न अपिल गरिन् । ग्रीनपीस इन्टरनेसनलका उप–कार्यक्रम निर्देशक जस्पर इन्भेन्टोरले पनि यसलाई कोप ३० को निर्णायक क्षण बन्न सक्ने टिप्पणी गर्दै, अब सम्मेलनले स्पष्ट दिशानिर्देश बनाउनु जरुरी रहेको बताए ।

गत कप २८ मा राष्ट्रहरूले जीवाश्म इन्धन ‘ट्रान्जिसन’ गर्ने सहमति जनाए पनि त्यसको कार्यान्वयनमा खासै प्रगति नभएको भन्दै आलोचना हुँदै आएको छ । यही सन्दर्भमा, बेलायतका ऊर्जा सचिव एड मिलिब्याण्डले उत्तरदेखि दक्षिणसम्म, धनीदेखि गरिब राष्ट्रसम्म सबैले एउटै आवाज उठाइरहेको टिप्पणी गर्दै यो मुद्दाले अब विश्वव्यापी सहमति बनाएको उल्लेख गरे। बेलायती जलवायु दूत राचेल कित्लेले पनि कोप २८ का प्रतिवद्धतालाई कार्यान्वयन गर्न रोडम्याप अत्यावश्यक भएको बताइन् ।

ब्राजिलको अध्यक्षतामा जारी सम्मेलनका लागि तयार गरिएको प्रारम्भिक मसौदा पाठमा रोडम्याप समावेश भए पनि धेरै देशले यसलाई कमजोर र अपर्याप्त भन्दै सुधारको माग गरेका छन् । प्यासिफिक द्वीप राष्ट्र वानुअतुका जलवायु मन्त्री राल्फ रेगेनभानूले शब्दमा मात्र सीमित नभई मापनयोग्य लक्ष्यसहितको ठोस योजना आवश्यक रहेको टिप्पणी गरे । उनका अनुसार, जलवायु संकट सबैभन्दा धेरै झेलिरहेका देशहरूका लागि यसपटकको निर्णय निर्णायक बन्न सक्छ ।

समर्थक राष्ट्रहरूले प्रस्ताव गरेको रोडम्याप कुनै एकरूप नीति होइन, बरु प्रत्येक देशको आर्थिक अवस्था, ऊर्जा संरचना र क्षमताअनुसार लचिलो र न्यायपूर्ण संक्रमण सुनिश्चित गर्ने मार्गदर्शनका रूपमा बुझिनुपर्छ भन्नेमा जोड दिएका छन् । यद्यपि, साउदी अरेबियासहितका केही प्रमुख तेल उत्पादक देशहरूले प्रस्तावप्रति असहजता व्यक्त गरिरहेका छन्, जसले वार्तालाई चुनौतीपूर्ण बनाउन सक्छ ।

ब्राजिलले विभिन्न राष्ट्रबाट आएका सुझावलाई समेटेर मसौदा पाठलाई अझ मजबुत बनाउने अपेक्षा राखिएको छ । सम्मेलनको अन्त्यमा जीवाश्म इन्धन अन्त्य गर्ने अन्तर्राष्ट्रिय सहमति कत्तिको स्पष्ट र कडा बन्छ भन्ने कुराले कोप ३० को ऐतिहासिक महत्त्व निर्धारण गर्ने छ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस