काठमाडौँ । नेपालको तराई क्षेत्र हाल डढेलो जोखिमको नयाँ केन्द्र बन्दै गएको छ । विशेषगरी तराईका साल र मिश्रित वनस्पतिका वनहरू वर्षेनी बढ्दो मानवीय हस्तक्षेप, सुख्खा मौसम र तापक्रम वृद्धिको कारण डढेलोको उच्च जोखिममा परेका छन् ।
ज्ञानेन्द्र कार्की, रिपु कुँवर, सुशिल खड्का र शालु अधिकारीले हालै प्रकाशित गरेको एक अनुसन्धानका अनुसार, रौतहट र बारामा हरेक वर्ष दर्जनौँ डढेलो हुने गरेका छन् । जसको संख्या पछिल्ला दशकमा दोब्बरभन्दा बढी पुगेको छ ।
मानवीय गतिविधि नै प्रमुख कारण
२०१२ देखि २०१५ बीचमा मात्र रौतहटमा ८८ र बारामा १ सय १८ वटा डढेलोको घटना रेकर्डमा रहेका छन् । तीमध्ये करिब ६० प्रतिशत डढेलो खेतमा बाँकी रहेका कृषी अवशेष जलाउने, वनमा खर वा सुकेका पात बाल्ने, धार्मिक तथा सांस्कृतिक कर्मका क्रममा आगो प्रयोग गर्ने जस्ता मानवीय गतिविधिहरूकै कारण डढेलोका घटना हुने गरेको पाइएको छ । अनुसन्धानकर्ताका अनुसार डढेलो केवल प्राकृतिक घटना नभइ अब मानवीय व्यवहार र जलवायु असन्तुलनको संयुक्त परिणाम बनेको छ ।
तराईका बस्ती नजिकैका वन, विशेषगरी चुरे–शिवालिक फेदीका क्षेत्रहरूमा रहेका सालका जंगलहरू प्रायः हरेक वर्ष जलाईन्छन् । वन उपभोक्ता समुहका सदस्यहरूले घाँस र दाउरा सजिलोसँग पाउनका लागि जानाजान वनमा आगो लगाउने गरेको भेटिएको छ ।
तापक्रम र सुख्खा मौसमले बढायो जोखिम
अध्ययनले गत दुई दशकमा (२०००–२०२०) बीचमा नेपालको कुल डढेलोका घटनामध्ये करिब २५ प्रतिशत घटना मधेश प्रदेशमै भएको उल्लेख गरेको छ । सन् २००९ र २०१६ मा डढेलोका घटनाहरू चरम बिन्दुमा पुगेका थिए, जसका कारण ती वर्षहरू सबैभन्दा सुख्खा र तातो वर्ष बन्न पुगे ।
२०२३ पनि पछिल्लो दशकको सबैभन्दा तातो वर्ष बन्न पुगेको छ । जसको कारण वनमा रहेको सुख्खा पात र झार–बुट्ययनमा आगो लागि डढेलोको रुप लिन सक्ने अवस्थाको सृजना भएको छ । रौतहट र बाराका करिब ४० प्रतिशत क्षेत्र उच्च जोखिममा पर्ने गरेको पाइएको छ । जसमा रतनपुर (बारा) र चन्द्रनिगाहपुर (रौतहट) सबैभन्दा संवेदनशील रहेको अध्ययनले देखाएको छ ।
चुरे फेदका सालका वन सबैभन्दा बढी जोखिममा
रतनपुर र चन्द्रनिगाहपुर दुबै क्षेत्रमा सालका वनहरू, सुख्खा वनस्पतिका मिश्रित वन र मिचाहा प्रजातिका झारहरू डढेलोको प्रमुख कारक बनेका छन् । यी क्षेत्रमा रहेका जमिन, वनमार्ग र बस्ती नजिकका भागहरू बढी प्रभावित छन् ।
अध्ययनका अनुसार, बस्तीबाट ५ सय मिटरभित्रका वन क्षेत्रमा डढेलोको सम्भावना सबैभन्दा बढी हुन्छ । सडक नजिकका क्षेत्रमा पनि आगलागीको जोखिम उच्च छ । सवारी साधन, धूम्रपानका अवशेष वा यात्रुहरूका असावधानीका कारण पनि डढेलो फैलिने गरेको छ ।
स्वास्थ्य र जैविक विविधतामा गम्भीर असर
डढेलोले केवल वन नष्ट गर्छ भन्ने होइन, यसले मानिस र पशुचौपाया दुवैको स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेको छ । गर्भवती महिलामा श्वास फेर्न गाह्रो हुने, धुवाँका कारण श्वासप्रश्वास समस्या बढ्ने, तथा स्थानीय जलस्रोतका मुहान सुक्ने जस्ता समस्या पनि अध्ययनमा उल्लेख गरिएको छ ।
डढेलोले माटोको उर्वरता घटाउँछ, वनस्पतिको पुनः उत्पादन रोक्छ, र बाह्य मिचाह वनस्पति फैलिन सहयोग पु¥याउँछ । साल वनभित्र रहेका बाँसका झाडी, सिसौ–खयरका बोटहरू पनि डढेलोबाट क्षतिग्रस्त भएका छन् ।
स्थानीय पहल र सीमित सरकारी तयारी
अध्ययनले केही सकारात्मक प्रयासहरू पनि औंल्याएको छ । रौतहटमा १ सय २७ किलोमिटर र बारामा २२ किलोमिटर लामो ‘फायर–लाइन’ निर्माण गरिएको छ । कतिपय वन उपभोक्ता समूहहरूले पत्कर र सुकेका हाँगाविगा सङ्कलन गरी जैविक मल बनाउने अभ्यास थालेका छन्, जसले आगोको जोखिम घटाउनेसँगै आम्दानीको अवसर पनि दिएको छ ।
तर, सरकारी तहको तयारी भने अझै अपर्याप्त छ । डिभिजन वन कार्यालयहरूमा आवश्यक उपकरण, तालिम, र जनशक्ति अभाव छन् । सन् २०१० मा बनेको ‘वन डढेलो व्यवस्थापन रणनीति’ अहिलेको जलवायु सन्दर्भमा अप्रासंगिक भएको निष्कर्ष अनुसन्धानले निकालेको छ ।
अबको बाटो
अनुसन्धानकर्ताहरूले समुदायलाई केन्द्रमा राख्दै सहभागी वन व्यवस्थापन, आगलागी नियन्त्रणमा आर्थिक प्रोत्साहन, र अग्नी–संवेदनशील र प्रतिरोधी वनस्पति पहिचान गर्ने नीति ल्याउन सुझाएका छन् ।
‘स्थानीय समुदायको सहभागिता बिना वन–डढेलो नियन्त्रण असम्भव छ । सरकार र समुदायबीच तालमेल, सचेतना र प्राविधिक क्षमताको सुदृढीकरण नै दीर्घकालीन समाधान हो’, अध्ययनको निष्कर्षमा उल्लेख छ । तराईका वनहरू जलवायु परिवर्तन र मानवीय लापरबाहीको दोहोरो मारमा परेका छन् । तापक्रम बढ्दै गइरहेको र सुख्खा मौसम लम्बिँदै गइरहेको अवस्थामा यदि स्थानीय समुदायलाई केन्द्रमा राखेर तत्काल कदम नचाल्ने हो भने तराईका वनहरू केवल स्मृतिमा सीमित हुने खतरा बढ्दै गएको अध्ययनले चेतावनीसमेत दिएको छ ।











