काठमाडौँ। विश्व तापक्रम वृद्धिलाई नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पर्याप्त नहुँदा पृथ्वी अझै पनि औद्योगिक युगभन्दा २.६ डिग्री सेल्सियस बढी तात्ने बाटोमा रहेको एक नयाँ अध्ययनले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय वैज्ञानिक सञ्जालले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार फोसल इन्धनको प्रयोग घट्नुको सट्टा अझै बढिरहेको छ । यस वर्ष मात्रै विश्वव्यापी कार्बन उत्सर्जन झण्डै एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
यद्यपि नवीकरणीय ऊर्जाको प्रयोग तीव्र गतिमा बढ्दैछ, त्यसको प्रभाव उत्सर्जन घटाउन पर्याप्त देखिएको छैन । रिपोर्टका अनुसार अहिलेको प्रवृत्तिले निरन्तरता पाए विश्वले पेरिस सम्झौताअनुसार तोकिएको १.५ डिग्री सेल्सियसको सीमाभन्दा धेरै माथि तापमान वृद्धि भोग्नुपर्नेछ । यस्तो तापक्रम वृद्धिले पृथ्वीका जलवायु सन्तुलनका संवेदनशील बिन्दुहरू पार गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । यसले अटलान्टिक महासागरको प्रवाह प्रणाली विफल, धुर्वीय हिमनदीहरू पग्लँदै समुद्र सतह तीव्र गतिमा बढ्न र अमेजन वर्षावन सवाना क्षेत्रमा रूपान्तरण हुन सक्छ ।
विश्वव्यापी तापक्रम वृद्धि अहिले करिब १.३ डिग्री सेल्सियस पुगेको छ, जसले असामान्य बाढी, डढेलो, खडेरी, गर्मीका लहर र आँधी हावाहुरी जस्ता चरम मौसमी घटनाहरू बढाइरहेको छ । नेपालमा पनि यसको असर स्पष्ट देखिँदैछ । हिमनदीहरू तीव्र गतिमा पग्लिँदैछन्, जसले हिमताल फुट्ने जोखिम बढाएको छ । असामान्य वर्षा र लामो खडेरीले कृषि उत्पादनमा असर पारिरहेको छ । जलवायु विज्ञहरूको भनाइमा, विश्व तापक्रम २ डिग्रीभन्दा माथि पुगेमा हिमालयको स्थायित्व गम्भीर संकटमा पर्न सक्छ, जसले दक्षिण एसियाली जलचक्र, सिंचाइ, र जलविद्युत् परियोजनाहरूमा ठूलो चुनौती ल्याउनेछ ।
अधिकांश देशहरूले पेरिस सम्झौताअनुसार तोकिएको राष्ट्रिय स्तरको जलवायु प्रतिज्ञा अद्यावधिक गर्न ढिलाइ गरिरहेका रिपोर्टले जनाएको छ । करिब १ सय देशले मात्रै नयाँ लक्ष्य पेश गरेका छन्, ती पनि आवश्यक स्तरमा प्रभावकारी छैनन् । वैज्ञानिकहरूको भनाइमा अब ढिलाइ गर्ने समय सकिएको छ । विश्वले यदि तत्काल फोसल इन्धन घटाएर स्वच्छ ऊर्जातर्फ रुपान्तरण भएन भने यसै शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान विनाशकारी रूपमा बढ्ने र मानव सभ्यताका आधारहरू नै हल्चल हुने चेतावनी दिइएको छ ।











