बेलेम (ब्राजिल) । ब्राजिलको उत्तरपूर्वी सहर बेलेममा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप ३०) को स्थल बाहिर मंगलबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार स्थानीय समूहका सदस्यहरू र वातावरणीय कार्यकर्ताहरूको समूहले “हाम्रो जंगल बिक्रीका लागि होइन” र “जलवायु न्याय अहिले” भन्ने नारासहित सम्मेलन स्थलको मुख्य प्रवेशद्वारतर्फ जुलुस अघि बढाएका थिए । केही प्रदर्शनकारीहरूले पर्खाल नाघ्ने प्रयास गरेपछि सुरक्षाकर्मीहरूले तिनलाई रोक्न बल प्रयोग गरेका थिए ।
सो क्रममा दुबै पक्षबीच धक्कामुक्की र चर्काचर्की भएको बताइन्छ । घटनामा कम्तीमा दुई सुरक्षा गार्ड सामान्य घाइते भएका र केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ब्राजिल सरकारले सम्मेलन स्थलमा सुरक्षाको उच्च सतर्कता अपनाएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले भने “शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई सम्मान गरिँदै वार्ताको वातावरण बिग्रन नदिन सुरक्षाकर्मीले संयम अपनाइरहेका छन्” ।
यो वर्षको कोप ३० सम्मेलनमा जलवायु न्याय, उष्णकटिबन्धीय वनको संरक्षण र हरित अर्थतन्त्रतर्फको संक्रमण मुख्य विषय बनेका छन् । अमेजन वर्षावनको ठूलो हिस्सा समेटेको ब्राजिलले यस सम्मेलनलाई स्वदेशी समुदाय र स्थानीय जनताको आवाजलाई विश्वसामु ल्याउने अवसरका रूपमा लिएको बताएको छ ।
तर, प्रदर्शनकारीहरूले भने सम्मेलनमा ठूला उद्योग र दातृ मुलुकहरूको प्रभाव बढ्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूको भनाइमा “जलवायु समाधानमा सबैभन्दा बढी असर पर्ने समुदायको आवाज अझै पनि सुनिँदैन ।”














