भारतको धरालीमा बाढीको त्रास : एकै झप्कामा गाउँ बगायो, दर्जनौं बेपत्ता

भारतको धरालीमा बाढीको त्रास : एकै झप्कामा गाउँ बगायो, दर्जनौं बेपत्ता
२०८२ श्रावण २०, मंगलबार (३ महिना अघि)

काठमाडौँ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लाको दुर्गम क्षेत्र धरालीमा मंगलबार दिउँसो अचानक आएको भीषण बाढीले जनजीवन त्रस्त बनेको छ। विपत्तिमा परेर करिब ५० जना सर्वसाधारण र १० जना सैनिक बेपत्ता भएका छन् भने चार जनाको ज्यान गएको पुष्टि गरिएको छ।

भारतीय सेनाको क्याम्पबाट करिब चार किलोमिटरको दुरीमा पर्ने धराली गाउँ एकाएक बाढीको चपेटामा परेको हो ।

उद्धारमा खटिएका सुरक्षाकर्मीहरूका अनुसार, बाढी आउँदा धराली क्षेत्रमा स्थानीय बासिन्दा र पर्यटक गरी करिब दुई सय मानिस उपस्थित थिए। बाढीले बजार क्षेत्र र घरहरु तहसनहस बनाएको छ।

स्थानीय स्रोतका अनुसार, धरालीको अधिकांश घरहरू, व्यवसायिक संरचना र सडकहरूमा ठूलो क्षति पुगेको छ। बाढीको प्रभाव यति भयावह थियो कि यसले भारतीय सेनाको क्याम्प र हर्षिलस्थित नदी किनारमा निर्माण गरिएको हेलिप्याड समेत क्षतिग्रस्त बनाएको छ।

अहिले बेपत्ता नागरिक र सैनिकहरूको खोजी तथा उद्धार कार्य जारी छ। गहिरो दुःख र त्रासदीको बीच, राहत तथा उद्दारको लागि स्थानीय प्रशासन, सेना र आपतकालीन टोलीहरू खटिएका छन्।

उत्तराखण्डको पहाडी भूगोलमा यस्ता प्राकृतिक विपत्तिहरू समय–समयमा देखिँदै आएका छन्, तर यो बाढीले स्थानीय समुदायलाई निकै ठूलो आघात पुर्याएको छ।

लगातारको हाँडीघोप्टे पानीले पर्वतको माथिल्लो भागमा भएको बरफको ढिस्को खसेको कारण बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।  

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस