विराटनगरमा भेटियो ‘स्पिटिङ कोब्रा’ : कति खतरा छ यो सर्प ?

विराटनगरमा भेटियो ‘स्पिटिङ कोब्रा’ : कति खतरा छ यो सर्प ?
२०८२ जेष्ठ १४, बुधबार (५ महिना अघि)

विराटनगर ।  विराटनगरमा परैबाट विष फाल्ने दक्षिण एसियाली क्षेत्रमा पाइने ‘नाजा कौथिया’ प्रजातिको विषालु सर्प ‘स्पिटिङ कोब्रा’ फेला परेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ मा अवस्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त कोब्रा फेला परेको हो ।  

यसलाई नियन्त्रणमा लिई उद्धार गरेर मंगलबार अपराह्न जिल्ला वन कार्यालय मोरङ कार्यालय पठाइएको छ । वन कार्यालय ल्याएर सुरक्षित राख्ने क्रममा सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको बताइएको छ ।

विराटनगर महानगरपालिकाका उद्धारकर्ता घिमिरे हाल कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षको स्वास्थ्य निगरानीमा रहेका छन् ।

चिकित्सकका अनुसार यो सर्पको विष अनुहार तथा आँखामा परे गम्भीर असर गर्नसक्छ ।  विराटनगरका अन्य स्थापनमा पनि यस्ता सर्प फेला परे खबर गर्न महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचित गरेको छ ।

कति खतरा छ यो सर्प ?

स्पिटिङ कोब्राको विष अत्यन्तै शक्तिशाली हुन्छ। यसको विषले स्नायुतन्त्रमा आक्रमण गर्छ भने विष आँखामा परेमा अस्थायी वा स्थायी अन्धोपन समेत हुन सक्छ। यो सर्प २ देखि ३ मिटर टाढासम्म पनि शत्रुलाई लक्ष्य गरी विषको फोहोरा हान्न सक्छ।

विशेषज्ञहरूका अनुसार, यदि कसैले यस्तो सर्प देखेमा कुनैपनि हालतमा त्यसलाई छुनु हुँदैन। तुरुन्तै वन्यजन्तु संरक्षण विभाग वा सर्प उद्धार टोलीलाई खबर गर्नु आवश्यक छ।

कहाँ–कहाँ पाइन्छ ?

स्पिटिङ कोब्रा भारतको पूर्वी क्षेत्र, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्ड, लाओस, भियतनाम तथा दक्षिणी चीनका केही भाग र नेपालमा दुर्लभ रुपमा पाइन्छ।

यो सर्प जंगल, कृषि क्षेत्र, खोला किनार तथा बस्ती नजिकका ठाउँहरूमा समेत देखिन्छ। विशेषगरी पानी स्रोत नजिक र मुसा तथा भ्यागुता पाइने ठाउँहरू यसको आहार स्थल हुन् ।

सावधानी जरुरी

सर्पविद्‌हरूको सुझाव अनुसार यस्ता विषालु सर्प देखेमा मानिसहरूले सजगता अपनाउनु पर्ने हुन्छ। विष आँखा वा छालामा परेको खण्डमा तुरुन्तै सफा पानीले धुने र स्वास्थ्य संस्थामा जानु अत्यावश्यक हुन्छ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस