पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयप्रति अन्य राष्ट्रको यस्तो प्रतिक्रिया

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयप्रति अन्य राष्ट्रको यस्तो प्रतिक्रिया
२०८१ माघ ११, शुक्रबार (१० महिना अघि)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट बाहिरिने निर्णय गरेपछि अन्य राष्ट्रका नेता, वरिष्ठ मन्त्रीहरू र जलवायु कूटनीतिका जिम्मेवार व्यक्तित्वहरूले एकपछि अर्को प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।

पेरिस सम्झौताले आह्वान गरेअनुसार तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्न सकिने सम्भावनालाई अमेरिकी राष्ट्रपति ट्रम्पको कदमले धक्का दिएको छ ।तापक्रमलाई लक्षित वर्ष वा दशकहरूमा नापिने भएका कारण कार्बन उत्सर्जनलाई अबको समयमा कडा रूपमा कटौती गर्दा पनि सन्तुलनमा राख्न सकिने विज्ञहरूकाे भनाइ छ ।

विश्वकाे कुल हिस्सा मध्ये १४% कार्बन उत्सर्जन गर्ने अमेरिका पेरिस सम्झौताबाट बाहिरिएकाे मात्र छैन, राष्ट्रपति ट्रम्पद्वारा जीवाश्म इन्धनको प्रयोग कम गर्न लागू गरिएका धेरै प्रयास र प्रोत्साहनहरू खारेज भएका छन् । उनले ठूला तेल उद्योगलाई निरन्तर समर्थन गर्दै पेट्रोलियम पदार्थ उत्खनन् गर्ने आफ्नो उद्देश्य प्रष्ट ब्यक्त गरेका छन् । याे निर्णयसँगै सन् २०३० सम्ममा पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालको कार्बन उत्सर्जन ५० देखि ५२ प्रतिशत घटाउने निर्णयमा प्रत्यक्ष असर परेको छ ।

इनर्जी ट्रान्जिसन्स कमिसन थिंक ट्याङ्कका अध्यक्ष एडायर टर्नरका अनुसार ट्रम्पको कार्यहरूले विश्वको तापक्रममा करिब ३ डिग्री सेल्सियस थप हुन सक्छ र अन्य देशहरूलाई पनि कार्बन कटौती गर्ने सम्झौताबाट अलग्गिने माैका मिल्न सक्छ । ट्रम्पले आफ्नो अघिल्लो राष्ट्रपतिकालमा पनि सम्झौताबाट बाहिरिने प्रक्रिया सुरु गरेका थिए, यद्यपि यस कदम उनको कार्यकालको अन्त्यमा मात्र आएको थियो । त्यसअघि, जर्ज डब्ल्यू बुसको राष्ट्रपतिकालमा पनि अन्तर्राष्ट्रिय जलवायु कार्यान्वयन सम्झौताहरू वर्षौंसम्म रोकिएका थिए ।

२०१५ को पेरिस सम्झौतालाई अस्वीकार गर्ने लिबिया, इरान र यमन जस्ता थोरै राष्ट्रहरूमा अब अमेरिका पनि सामेल भएको छ । त्यसैले, जलवायु कोषमा १०.६ अर्ब डलर (४०% हिस्सा) सहयोग गर्दै आएको अमेरिकाको कदमप्रति विश्वले कसरी प्रतिक्रिया दिएको छ र यसले विश्वव्यापी जलवायु कूटनीतिलाई कस्ताे अर्थ दिन्छ भन्ने धेरैको चासोको विषय बनेको छ ।  

युरोपेली संघ

युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लेयनले स्विजरल्याण्डको दावोसमा आयोजित विश्व आर्थिक मञ्चमा दिएको अभिव्यक्तिमा पेरिस सम्झौता सम्पूर्ण मानव जगतको लागि सबैभन्दा ठूलो आशा रहेको बताइन् । युरोप आफ्नो बाटोमा अडिग रहने तथा प्रकृतिको संरक्षण गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न चाहने सबै राष्ट्रहरूसँग सहकार्य गर्ने पनि उनको प्रतिवद्धता रहेको छ ।

युरोपेली संघका जलवायु आयुक्त वोप्के होएक्स्ट्राले सामाजिक सञ्जालमा ट्रम्पको निर्णयलाई वास्तवमै दुर्भाग्यपूर्ण रहेको बताएका छन् । ट्रम्पको प्रतिकृयाले दिएको झट्काको बाबजुद जलवायु परिवर्तनको गम्भीर समस्या विरुद्ध लड्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । पेरिस सम्झौता बलियो आधार भएको र यो सम्झौता कायम रहने पनि उनको भनाइ छ ।

बेलायत

बेलायतका ऊर्जा, सुरक्षा र नेट जीरो सचिव एड मिलिब्यान्डले मंगलबार ‘हाउस अफ लर्डस्’ काे एक समितिलाई ट्रम्पसँग साझा आधार खोज्ने प्रयास गर्ने र जलवायु संकटलाई सम्बोधन गर्नु अझै पनि अमेरिकाको राष्ट्रिय स्वार्थमा पर्नु पर्ने बताए । बेलायत पेरिस सम्झौताकाे बलियो समर्थक भएको पनि उनको भनाइ छ ।

क्यानडा

क्यानडाका वातावरण तथा जलवायु परिवर्तनमन्त्री स्टेभन गिलबोल्टले अमेरिकी राष्ट्रपतिले पेरिस सम्झौताबाट बाहिरिन लिएको निर्णय निन्दनीय भएको बताएका छन् । दुर्भाग्यवश यो पहिलो पटक नभएको पनि उनले बताए । पेरिस सम्झौता एउटा देशभन्दा ठूलो भएको भन्दै १ सय ४ देशहरूको संयुक्त प्रयास भएको पनि स्मरण गराए । अमेरिकाको अनुपस्थितिमा पनि अन्य राष्ट्रहरुले जलवायु परिवर्तनविरुद्धको लडाइँ जारी राख्ने उनको भनाइ छ । अमेरिकाको संघीय सरकारले जलवायु परिवर्तनसँग लड्न चासो नराखे पनि अन्य अमेरिकी राज्य र निजी क्षेत्रबाट धेरै समर्थन देखिरहेको बताए । क्यालिफोर्निया आफ्नो इतिहासकै सबैभन्दा खराब आगलागीबाट गुज्रिरहेको अवस्थामा राष्ट्रपतिको यस कदम विडम्बनापूर्ण रहेको उनको भनाइ छ ।

अफ्रिकी वार्ताकारहरूको समूह

जलवायु परिवर्तन समूहले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको कदम तापक्रम वृद्धिलाई नियन्त्रण गर्न र जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू रोक्नका लागि गरिएको विश्वव्यापी प्रयासहरूमा प्रत्यक्ष खतरा भएको बताए । विशेष गरी विश्वका सबैभन्दा जोखिममा रहेका देशहरूका लागि यस कदम अझ बढि खतरा भएको उनीहरुको ठहर छ । विश्वका ठूला कार्बन उत्सर्जकमध्ये एक अमेरिका जलवायु परिवर्तन विरुद्धका कार्यमा नेतृत्व गर्ने ऐतिहासिक जिम्मेवारी बोकेको राष्ट्र भएको बताउँदै अमेरिकाले लामो संघर्षबाट प्राप्त प्रगतिलाई कमजोर बनाएको पनि समूहको ठहर छ । अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई जाेखिमयुक्त सन्देश पठाएको पनि विज्ञप्ति उल्लेख गरिको छ ।

कम विकसित देशहरूको समूहका अध्यक्ष इभान्स न्जेवा

मालावीका इभान्स न्जेवाले सामाजिक सञ्जाल एक्समा पेरिस सम्झौताबाट बाहिरिने अमेरिकी कदमप्रति गहिरो खेद व्यक्त गरेका छन् । यस कदमले कार्बन उत्सर्जन घटाउने क्षेत्रमा कठिन रुपमा हासिल भएका सफलता उल्ट्याउने जोखिम पैदा गरेको र जोखिमपूर्ण देशहरूलाई अझ ठूलो खतरा पुर्याउने ठहर गरेका छन् । पेरिस सम्झौता एक महत्त्वपूर्ण जलवायु सम्झौता भएको भन्दै यस सम्झौतालाई हाम्रो ग्रह र भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्ने पनि उनको धारणा छ ।

चीन

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले एक पत्रकार सम्मेलनमा जलवायु परिवर्तन सम्पूर्ण मानवजातिले सामना गरिरहेको साझा चुनौती रहेको बताए । कुनै पनि देश यसबाट अछुतो रहन नसक्ने बताउँदै यो समस्यालाई एक्लै समाधान गर्न नसकिने जिकिर गरे । सबै पक्षसँग सहकार्य गरी जलवायु परिवर्तनका चुनौतीहरूलाई चीनले सक्रिय रूपमा सम्बोधन गर्ने पनि उनको भनाइ छ ।

 

सन्दर्भ सामाग्री : द गार्जियन

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस