अध्ययन रिपोर्ट : वन क्षेत्र जलवायु संकट कै कारण डढेलोको जोखिममा

नेपालमा डढेलोको सिजन सुरु भइसकेको छ, तर अझै भयावह भने आउन बाँकी
२ चैत २०८१ (२ महिना अघि)

नेपालका जंगलहरु जलवायु परिवर्तनका कारण बढ्दो वन डढेलोको गम्भिर जोखिममा रहेको इन्फर्मेशन जियोग्राफ्री जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार यदि डढेलो जोखिम नियन्त्रण गरिएन भने १७ करोड टन माटो कार्बन र ३२ करोड ५० लाख टन काठ कार्बन गरी करिब ५० करोड टन कार्बन वातावरणमा उत्सर्जन हुने सक्ने देखिएको हो । यसले जलवायु संकटलाई थप गम्भीर बनाउने पनि अध्ययनको चेतावनी छ ।

अध्ययन अनुसार नेपालका लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश उच्च वन डढेलोको जोखिममा छन् । नेपालका २० मध्ये ६ संरक्षित क्षेत्रहरुले चरम जोखिमको सामना गरिरहेका छन् । यसका कारण दुर्लभ वन्यजन्तु पनि जोखिममा रहेको र काठमाडौँ लगायतका प्रमुख सहरहरुको वायु गुणस्तर झन् बिग्रन सक्ने पनि अध्ययनको निष्कर्ष छ ।

नेपालमा वन डढेलोको सुरुवात भैसकेको छ । हालैको तथ्यांक अनुसार यस वर्ष ५३ जिल्लाका ४ सय ३६ स्थानमा वन डढेलो लागेको छ । यसको खतरा अप्रिल तथा मे महिनामा अझ उच्च स्तरमा पुग्न सक्छ ।  

                                    (वन डढेलोको जोखिमका क्षेत्र)

 

राेकथामका रणनीति

अध्ययनमा संलग्न विज्ञहरुले तत्काल वन डढेलो रोकथाम रणनीति अपनाउन आग्रह गरेका छन् । सामुदायिक गस्ती समूहहरू, एआई-आधारित प्रारम्भिक चेतावनी प्रणालीहरू र अन्तरदेशीय सहकार्य (दक्षिण एसियाली जलवायु साझेदारीहरूको उपयोग) का मध्यममार्फत वन डढेलो रोकथाम रणनीति अपनाउन सकिन्छ ।

नेदरल्यान्ड्सको ग्रोनिङ्गन विश्वविद्यालयका डा. प्रजल प्रधानले दिगो समाधानहरूको आवश्यकता औंल्याउँदै भने, "यो केवल डढेलो रोक्ने विषय मात्र होइन। नेपालले जलवायु नीति तथा जैव विविधता संरक्षण पहलहरूलाई दिगो विकाससँग जोडेर डिजाइन गर्नुपर्छ । उदाहरणका लागि, दिगो वन व्यवस्थापन अपनाएर काठ तथा गैरकाष्ठजन्य वन उत्पादनहरूको उचित संकलन गर्न सकेमा वन डढेलोको जोखिम कम गर्न सकिन्छ र नेपालको वनलाई भविष्यका लागि सुरक्षित राख्न सकिन्छ।"

स्टोरीसाइकलका निर्देशक पशुपति नाथ कोईरालाले भने "वन डढेलोहरू प्रायः एक्लिएका वन क्षेत्रहरू र मुख्य सडकहरू आसपास धेरै घना रुपमा लाग्ने गर्छन्। धेरैजसो डढेलो संरक्षित क्षेत्रहरूमा प्रभावकारी तथा अप्रभावकारी व्यवस्थापनका कारण हुने गरेका छन्। यी डढेलोहरूले जैविक विविधतालाई मात्र नभई नेपालको कार्बन व्यापारका लाभहरूलाई कमजोर पार्दै २०४५ सम्म नेट-जीरो कार्बन देश बन्ने लक्ष्यलाई समेत खतरामा पार्नेछन्।"

यस अनुसन्धानमा एरिजोना स्टेट युनिभर्सिटी, ज्याक्सन स्टेट युनिभर्सिटी, ग्रोनिङ्गन विश्वविद्यालय र काठमाडौं फरेस्ट्री कलेजका अनुसन्धानकर्ताहरू संलग्न थिए । अध्ययनले नासा पृथ्वी अवलोकनहरू र मेसिन लर्निङ प्रविधि प्रयोग गरी विगत दुई दशकको अवधिमा नेपालमा डढेलोको जोखिमको नक्सांकन गरेको छ। यस अध्यन नेपालमा वन डढेलो, कार्बन भण्डारण र जैविक विविधताको अन्तरसम्बन्ध सम्बन्धी पहिलो राष्ट्रिय स्तरको अध्ययन हो।

नेपालका लागि किन महत्त्वपूर्ण?

वन डढेलोको मौसम सुरु भइसकेको छ।  अप्रिल र मे महिनामा वन डढेलो उच्चतम स्तरमा पुग्नेछ। डढेलोबाट उत्पन्न प्रदूषणले अस्पतालहरूमा श्वासप्रश्वास समस्याका बिरामीहरूको चाप बढाउन सक्छ। पर्यटन क्षेत्र जोखिममा रहेका संरक्षित क्षेत्रहरूमा निर्भर छ, जसका कारण अर्थतन्त्रमा समेत धक्का पुग्न सक्दछ  । यसका कारण जडीबुटी, औषधीय वनस्पति र आदिवासी समुदायहरूको जीविका संकटमा पर्न सक्छ।

जलवायु संकट कै कारण नेपालको वन डढेलोको जोखिममा रहेको र वन डढेलोको कै कारण थप जलवायु चुनौती खडा हुन सक्ने अध्ययनको निष्कर्ष रहेको छ।

 

पूरा अनुसन्धानपत्र:

Nepal's carbon stock and biodiversity are under threat from climate exacerbated forest fires - ScienceDirect

अन्तिम अध्यावधिक: २ चैत २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस