वैज्ञानिकको चेतावनी : विश्व अझै विनाशकारी २.६ डिग्री तापमान वृद्धिको दिशामा

वैज्ञानिकको चेतावनी : विश्व अझै विनाशकारी २.६ डिग्री तापमान वृद्धिको दिशामा
२०८२ कार्तिक २७, बिहिबार (१ हप्ता अघि)

काठमाडौँ। विश्व तापक्रम वृद्धिलाई नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पर्याप्त नहुँदा पृथ्वी अझै पनि औद्योगिक युगभन्दा २.६ डिग्री सेल्सियस बढी तात्ने बाटोमा रहेको एक नयाँ अध्ययनले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय वैज्ञानिक सञ्जालले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार फोसल इन्धनको प्रयोग घट्नुको सट्टा अझै बढिरहेको छ । यस वर्ष मात्रै विश्वव्यापी कार्बन उत्सर्जन झण्डै एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

यद्यपि नवीकरणीय ऊर्जाको प्रयोग तीव्र गतिमा बढ्दैछ, त्यसको प्रभाव उत्सर्जन घटाउन पर्याप्त देखिएको छैन । रिपोर्टका अनुसार अहिलेको प्रवृत्तिले निरन्तरता पाए विश्वले पेरिस सम्झौताअनुसार तोकिएको १.५ डिग्री सेल्सियसको सीमाभन्दा धेरै माथि तापमान वृद्धि भोग्नुपर्नेछ । यस्तो तापक्रम वृद्धिले पृथ्वीका जलवायु सन्तुलनका संवेदनशील बिन्दुहरू पार गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । यसले अटलान्टिक महासागरको प्रवाह प्रणाली विफल, धुर्वीय हिमनदीहरू पग्लँदै समुद्र सतह तीव्र गतिमा बढ्न र अमेजन वर्षावन सवाना क्षेत्रमा रूपान्तरण हुन सक्छ ।

विश्वव्यापी तापक्रम वृद्धि अहिले करिब १.३ डिग्री सेल्सियस पुगेको छ, जसले असामान्य बाढी, डढेलो, खडेरी, गर्मीका लहर र आँधी हावाहुरी जस्ता चरम मौसमी घटनाहरू बढाइरहेको छ । नेपालमा पनि यसको असर स्पष्ट देखिँदैछ । हिमनदीहरू तीव्र गतिमा पग्लिँदैछन्, जसले हिमताल फुट्ने जोखिम बढाएको छ ।  असामान्य वर्षा र लामो खडेरीले कृषि उत्पादनमा असर पारिरहेको छ । जलवायु विज्ञहरूको भनाइमा, विश्व तापक्रम २ डिग्रीभन्दा माथि पुगेमा हिमालयको स्थायित्व गम्भीर संकटमा पर्न सक्छ, जसले दक्षिण एसियाली जलचक्र, सिंचाइ, र जलविद्युत् परियोजनाहरूमा ठूलो चुनौती ल्याउनेछ ।

अधिकांश देशहरूले पेरिस सम्झौताअनुसार तोकिएको राष्ट्रिय स्तरको जलवायु प्रतिज्ञा अद्यावधिक गर्न ढिलाइ गरिरहेका रिपोर्टले जनाएको छ । करिब १ सय देशले मात्रै नयाँ लक्ष्य पेश गरेका छन्, ती पनि आवश्यक स्तरमा प्रभावकारी छैनन् । वैज्ञानिकहरूको भनाइमा अब ढिलाइ गर्ने समय सकिएको छ । विश्वले यदि तत्काल फोसल इन्धन घटाएर स्वच्छ ऊर्जातर्फ रुपान्तरण भएन भने यसै शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान विनाशकारी रूपमा बढ्ने र मानव सभ्यताका आधारहरू नै हल्चल हुने चेतावनी दिइएको छ ।

 

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस