काठमाडाैँ । धनी देशहरूकाे जलवायु सङ्कटसँग जुझ्ने उत्साह हराउँदै गएको भन्दै संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३०) का अध्यक्ष तथा ब्राजिलेली कूटनीतिज्ञ आन्द्रे कोरेया दो लगाेले चेतावनी दिएका छन् । ब्राजिलको बेलेममा सुरु भएको सम्मेलनमा उनले भने, “विकसित राष्ट्रहरूको जोश घट्दै गएको छ, तर विकासोन्मुख देशहरू अघि बढिरहेका छन्।” उनले चीनको उदाहरण दिँदै भने, “चीनले केवल आफ्नै लागि होइन, विश्वका लागि समाधान खोजिरहेको छ, र सौर्य ऊर्जाको मूल्य जीवाश्म इन्धनभन्दा सस्तो बनेको छ, जुन सकारात्मक संकेत हो।”
कोप–३० मा १ सय ९४ देशका मन्त्री र अधिकारीहरूको सहभागिता रहेको छ। सम्मेलनले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने, जीवाश्म इन्धनबाट निर्भरता घटाउने र प्रभावित मुलुकहरूलाई आर्थिक सहयोग सुनिश्चित गर्ने विषयमा केन्द्रित छ।
तर धनी राष्ट्रहरूले अघिल्ला वाचा पूरा नगरेको भन्दै आलोचना बढेको छ। सन् २००९ मा गरिब राष्ट्रहरूलाई हरेक वर्ष १०० अर्ब डलर सहयोग गर्ने वाचा अझै पूरा भएको छैन। यसैबीच, साना द्वीप राष्ट्रहरूको समूहले यदि तत्काल कदम चालिएन भने १.५ डिग्रीको लक्ष्य गुम्ने चेतावनी दिएको छ ।
नवीनतम रिपोर्टअनुसार अमेरिका, अस्ट्रेलिया र कुवेतजस्ता देशमा मीथेन उत्सर्जन २०२० को स्तरभन्दा ८.५ प्रतिशतले बढेको छ। लगाेले भने, “हामीले अब बाेली मात्र होइन, व्यवहारमा देखाउनुपर्छ। जलवायु संकट गम्भीर छ, तर अवसर अझै बाँकी छ।”














